१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगानी विस्तार गर्न कानुनी आधार खोज्दै एचआइडिसिएल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:५२:oo

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लगानी क्षमता वृद्धि तथा विस्तारलाई कानुनी आधार खोजेको छ । कानुनी अड्चनका कारण क्षमताअनुसार स्रोत जुटाउन र लगानी गर्न नसकेको भन्दै एचआइडिसिएलले उक्त समस्या समाधानका लागि पहलसमेत थालेको हो । 

मन्त्रालयमा आयोजित छलफलमा ऋण लगानी गर्न पाउने व्यवस्था भए पनि स्रोत उठाउन कानुनी प्रबन्ध हुन नसक्दा कम्पनीले समस्या भोग्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले बताए । उनले लगानीका स्रोतहरूको विविधीकरण, विस्तार तथा नयाँ आयाम विस्तारका लागि पनि कम्पनीको सुधार आवश्यक रहेको बताए । 

कुल २५ अर्ब ५० करोड पुँजी भएको कम्पनीले एक खर्बबराबरको स्रोत परिचालन गर्न सक्ने भए पनि कानुनी आधार कमजोर भएकाले त्यसमा सुधार गर्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था ऐनअन्तर्गत रहने गरी कम्पनीको संरचनामा सुधार गर्न यसअघि नै कम्पनीलाई आग्रह गरिसकेको छ । गौतमले यथास्थितिमा कम्पनी अगाडि बढ्न नसक्ने भएकाले सरकारको नीति तथा कार्यक्रममा समावेश भएको व्यवस्थाअनुसार अगाडि बढ्ने वातावरण मिलाइदिन आग्रह गरे । 

जलविद्युत्मा एचआइडिसिएलको लगानी सवा २७ अर्ब पुगेको छ । ऊर्जा क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यका साथ स्थापित संस्थाले कुल २७ अर्ब ३९ करोड रुपैयाँबराबरको लगानी गरिसकेको छ । कम्पनीले १२ वटा परियोजनामा मात्रै स्वपुँजीका रूपमा ६ अर्ब १२ करोडबराबर लगानी गरेको छ । ती आयोजनाको कुल क्षमता नौ सय दुई मेगावाट छ । 

यस्तै, १९ वटा परियोजनामा २१ अर्ब २१ करोड रुपैयाँबराबर लगानी गरेको छ । ती आयोजनाको क्षमता एक हजार चार सय ६७ मेगावाटबराबर छ । सो कम्पनीले केही दिनअघि मात्रै विभिन्न चारवटा आयोजनामा  १३ अर्ब रुपैयाँबराबरको ऋण लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 

कम्पनीले सरकारको प्राथमिकतामा रहेको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा आन्तरिकतर्फको लगानी जुटाउने जिम्मेवारी पाएको छ । यस्तै, दुई सय १० मेगावाट क्षमताको चैतनपुर सेतीमा पनि लगानी गर्दै छ । यस्तै, ६ सय १० मेगावाट क्षमताको दूधकोसीमा पनि लगानीको तयारी गरेको छ । यस्तै, चार सय केभी क्षमताको शीतलपार्टी हाइटार प्रसारणलाइन निर्माणमा पनि लगानीको तयारी गरेको छ । सो परियोजना राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्दै छ । 

उक्त अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले थप सबल संस्थाका रूपमा अगाडि बढाई मुलुकको ऊर्जा क्षेत्रको विकासमा परिचालन गरिने बताए । सरकारले एचआइडिसिएललाई पुनर्संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालू आवको बजेटमा समेत प्रबन्ध गरेको सन्दर्भमा मन्त्रालयमा आयोजित उक्त छलफलमा मन्त्री बस्नेतले सबल आर्थिक संस्थाका रूपमा यस कम्पनीलाई अगाडि बढाउने र थप लगानी विस्तार गरिने बताए । 

ad
ad