१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १० आइतबार १३:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितानिवास प्रकरणमा प्रतिवादी बनेपछि दाङका सिडिओ जिम्मेवारीमुक्त 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १३:५९:oo

ललितानिवास जग्गा हिनामिनामा प्रतिवादी बनेपछि दाङमा सिडिओका रूपमा कार्यरत सहसचिव सुशील वैद्यलाई गृह मन्त्रालयले जिम्मेवारीमुक्त गरेको छ। उनलाई सिडिओबाट हटाइएको छ । मुद्दा दर्ताका जानकारी प्राप्त भएपछि उनलाई निलम्बन गरिने गृह मन्त्रालयले जनाएको छ। 

०६९/७० मा काठमाडौंको मालपोत कार्यालय, डिल्लीबजारमा भूमिसुधार अधिकारी हुँदा उनले पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआइबीको निष्कर्ष छ। 

बयान नलिई उनलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध समेत मुद्दा दायर गरेको छ। एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको थियो। 

सिआइबीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘निज सुशील वैद्यले सरकारी अभिलेखसँग बाझिने गरी तथा अभिलेखविपरीतका व्यहोरा उल्लेख गरी सरकारी स्वामित्वको जग्गा व्यक्तिलाई मोही कायम गरी गुठीको नाममा दर्ता गरी व्यक्तिलाई लाभ पुर्‍याउने तथा सरकारको हक मेटाई हानि पुर्‍याउने गलत नियतले किर्ते कार्यमा संलग्न रहेको, सार्वजनिक निकायका जिम्मेवार पदाधिकारी भएकाले सरकारी अभिलेखसँग भिडाई उक्त जग्गा सरकारी हो वा गुठीको जग्गा हो भन्ने अभिलेख यकिन गरी गरेर मिल्ने भए मात्र ऐन, नियम र विनियमका आधारमा रीतपूर्वक कार्य गर्नुपर्नेमा प्राप्त कागजातलाई मात्र आधार लिई, विश्वास गरी र अन्तिम तथ्य मानी सरकारी जग्गा व्यक्तिको नाममा लैजान आधारभूत प्रमाण (किर्ते प्रमाण) जुटाउने प्रपञ्च र योजनामा संलग्न भएको देखिएको, हुँदै नभएको टिकिन्छा गुठीको जग्गालाई गुठी कायम गराउने भनी मोही हक नामसारी निर्णयमा दस्तखत गरी नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको सरकारी जग्गालाई पशुपति टिकिन्छा गुठीको नाममा दर्ता कायम गर्न झुटा तथा बेरीतको टिप्पणी पेस गर्नेसमेतको भूमिकामा रही अर्काको हक जाने नोक्सान हुने, झुटा काम गरी आफैँलाई वा अरू कसैलाई फाइदा पुग्ने कार्य गरेको।’ 

वैद्यसमेत संगठित भई आपराधिक समूहको स्थापना गरी, आपराधिक समूहको सदस्य भई तहगत रूपमा जिम्मेवारी बाँडफाँट गरी नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा मोही कायम गरी प्रस्तुत कसुर अपराध गरेको देखिएको भन्दै सिआइबीले उनलाई प्रतिवादी बनाएको हो।