Skip This
कोसीमा सत्ता संघर्ष : मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग गर्दै एमाले फेरि सर्वोच्चमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Saturday, 27 July, 2024
प्रदेश डिजिटल संस्करण

कोसीमा सत्ता संघर्ष : मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग गर्दै एमाले फेरि सर्वोच्चमा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १७:४७:oo

कोसी प्रदेश सभाको मुख्य विपक्षी दल एमालेले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा पुनः रट दर्ता गराएको छ। 

प्रदेश सरकारका मुख्यमन्त्री थापाले सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य इस्राइल मन्सुरीमार्फत मतदान गराएर विश्वासको मत लिने कार्य असंवैधानिक भएकाले खारेज हुनुपर्ने माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बुधबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

नेता कार्कीले १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ४ भदौमा गैरसंवैधानिक प्रक्रियाबाट विश्वासको मत लिएको भन्दै नेपालको संविधानको धारा १३३(२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै रिट दर्ता गराएका हुन्।

पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीको रिट निवेदनमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभा सञ्चालन गर्ने जेष्ठ सांसद कांग्रेसका इस्राइल मन्सुरी, अध्यक्षमण्डलकी सांसद गीता तिम्सिना र प्रदेश सभा सचिवालयलाई प्रतिवादी बनाइएको छ।

कार्कीले माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीसहितको गठबन्धनबाट पहिलोपटक २१ असारमा मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका उद्धव थापाविरुद्ध सर्वाेच्चमा रिट दर्ता गराएका थिए। सर्वाेच्चले सभामुखको हस्ताक्षर प्रयोग गरेर सरकार गठन कार्य गलत भएको भन्दै थापालाई पदमुक्त गरेको थियो। लगत्तै थापाले १६ भदौमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री नियुक्त भएका थिए।

कार्कीले वर्तमान मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा (३) उल्लंघन गरेको भन्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्नसमेत अदालतसमक्ष रिटमार्फत माग दाबी गरेका छन्। अदालतबाट फैसला नभएसम्म मुख्यमन्त्री थापाको सरकारको कामकाजमा रोक लगाउनसमेत रिटमा माग गरिएको छ।

यता, मुख्यमन्त्री थापाले गैरसंसदीय प्रक्रियाबाट विश्वासको मत लिएको भन्दै मुख्य विपक्षी दल एमाले र विपक्षी दल राप्रपाले बुधबार पनि कोसी प्रदेश सभामा नाराबाजी गर्दै अवरोध गरेका छन्। अवरोधले गर्दा कोसी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।