
भारतको अन्तरिक्ष एजेन्सीले चन्द्रमाका टाढाका तस्बिरहरू सार्वजनिक गरेको छ । तेस्रो चन्द्र मिसन दक्षिणी ध्रुवमा सुरक्षित अवतरण स्थान पत्ता लगाउने प्रयास गरिरहेका वेला एजेन्सीले तस्बिरहरू सार्वजनिक गरेको हो । आफ्नो मिसनको अन्तिम चरण सुरु गरेको चन्द्रयान–३ को ल्यान्डर विक्रमले तस्बिर खिचेको हो ।
पेटमा रोभर बोकेको विक्रम २३ अगस्टमा अवतरण गर्दै छ । रुसको लुना–२५ अन्तरिक्षयान नियन्त्रणबाहिर गएपछि चन्द्रमामा दुर्घटनाग्रस्त भएको एक दिनपछि तस्बिरहरू आएका हुन् । करिब ५० वर्षमा रुसको पहिलो चन्द्रमा मिसन दक्षिण ध्रुवमा अवतरण गर्ने यो यान पहिलोपटक हुने थियो, तर आफ्नो प्रि–ल्यान्डिङ अर्बिटमा सर्दा समस्या आएपछि असफल भयो ।
तेस्रो चन्द्र मिसन बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको जनाएको छ । भारतीय समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले आइतबार आधिकारिक रूपमा यसबारे घोषणा गरेको हो । मिसनलाई राज्यद्वारा सञ्चालित टिभी च्यानल दूरदर्शन, फेसबुक र युट्युबजस्ता विभिन्न सामाजिक मिडिया प्लाटफर्मबाहेक यसको वेबसाइटमा समेत प्रत्यक्ष प्रसारण गरिने इसरोले एक विज्ञप्तिमा जनाएको छ । भारतको चन्द्र मिसन–३ जुलाई १४ मा प्रक्षेपण गरिएको थियो र बिहीबार ल्यान्डर मोड्युल अन्तरिक्षयानबाट अलग भएको थियो ।
चन्द्रयान–३ को सफ्ट ल्यान्डिङको सक्रियताका साथ विद्यार्थीमाझ प्रचार–प्रसार गर्न र यसको लाइभ स्ट्रेस व्यवस्थित गर्न दक्षिण एसियाली देशका सबै विद्यालय र शैक्षिक संस्थालाई आमन्त्रित गरिएको छ ।