न भूकम्पले भत्काएका घरको भग्नावशेष हटाइयो, न सडक पुनर्निर्माण भयो
१२ वैशाख ०७२ को भूकम्पअघि कोदारी सडकले चीनसँगको अन्तर्राष्ट्रिय नाका तातोपानीको भार जेनतेन थेगेको थियो । त्यसयता जीर्ण बनेको सडक मर्मत नहुँदा यो मार्ग भएर नेपाल भित्रने कन्टेनर सास्ती खेपिरहेका छन् । यस मार्गमा गाडी गुडाउन जीवन हत्केलामा राख्नुपर्ने अवस्था रहेको चालकहरू बताउँछन् ।
चीनको न्यालम काउन्टीअन्तर्गत रहेको व्यापारिक बजार जाङ्मु (खासा)बाट दैनिक आउने कन्टेनर जब नेपाल प्रवेश गर्छन्, तब चालकले जीवन हत्केलामा राखेर साधन चलाउनुपर्छ । यो जोखिमपूर्ण अवस्थाबारे जानकार हुँदाहुँदै पनि सरकारी पक्षबाट सडक पुनर्निर्माणमा लगातार बेवास्ता भएको पीडितहरूको गुनासो छ ।
नेपाल–चीनबीच महिनामा दुईपटकसम्म सीमा सुरक्षासम्बन्धी बैठक हुन्छ । नाका खुलाउने भनेर वाणिज्य, अर्थ, गृहसँग सम्बन्धित प्रतिनिधि र विभिन्न राजनीतिक दलका नेता वेलावेला तातोपानी पुगिरहन्छन् । तर, बाढीपहिरोले खियाएको जीर्ण सडकमा रहेका दर्जनौँ अवरोध छिचोल्दै घन्टौँ लगाएर तातोपानी पुग्नुपर्ने विवशता अन्त्य भएको छैन ।
रमेश न्यौपाने, प्रजिअ, सिन्धुपाल्चोक
सडक र भौतिक पूर्वाधारको अवस्था अत्यन्तै कमजोर छ । जोखिमपूर्ण सडक तय गरेर सीमाक्षेत्र तातोपानी पुग्नुपर्छ । पुनर्निर्माणका लागि माथिल्लो निकायबाट पूर्वाधारको क्षेत्रमा बजेट छुट्याउनुपर्ने आवश्यकता छ ।
बाह्रबिसेबाट बिहानै हिँडेका स्थानीय २६ किलोमिटर सडकका लागि पाँच सय भाडा तिरेर बेलुका मात्र घर पुग्छन् । बाह्रबिसे बजारबाट तातोपानीतर्फ जाने सवारीसाधनले जोखिमपूर्ण सडकको यात्रा गर्नुपरेकाले बढी भाडा लिने गरेको स्थानीय बताउँछन् ।
सडक अवलोकन गर्न पुग्दा देखिन्छ– सडक डिभिजन कार्यालय चरिकोटले बाटो सफा गर्न एउटा लोडर र एउटा ट्रकलाई नियमित काममा खटाएको छ । सडकभरि पहिरो, जताततै बाढीको कटान र कतिपय ठाउँमा सडक भासिएकाले सुधार गरेर साध्य नै छैन । भूकम्प र बाढीले ढालेर बाँकी रहेका सडक किनारमा अवस्थित घरका भग्नावशेष हटाइएको छैन ।
अध्यागमन कार्यालय कोदारीमा कार्यरत कर्मचारी स्थानीय तिलक मगरले दिएको जानकारीअनुसार लिपिङमा २०, कोदारीमा १५, तातोपानीमा १०, लार्चादेखि बाह्रबिसेको जम्बुसम्म करिब ५० घरको भग्नावशेष भूकम्पदेखि हालसम्म जस्ताको तस्तै छ । कतिपय घरको ढल्न बाँकी आधा भाग कतिवेला लड्छ ठेगान छैन । नाका पुग्ने सवारी र यात्रु ढल्न बाँकी भग्नावशेष चियाउँदै सडक पार गर्छन् । नाकामा सरकारी कार्यालय अध्यागमन र क्वारेन्टिन, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सीमापार वाणिज्य संघ, नेपाल–चीन मितेरी व्यापार संघ र अरू विभिन्न व्यापारिक संघसंस्था पुनस्र्थापित हुन सकेका छैनन् । ‘तत्काल कुनै संघसंस्था पुनस्र्थापित हुने सम्भावना छैन,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले नयाँ पत्रिकासँग भने । नाकाबाट मानिस आवतजावत सुरु हुनासाथ भने कार्यालय स्थापित हुने उनले बताए ।
‘माथिल्लो निकायबाट पूर्वाधारको क्षेत्रमा बजेट छुट्याउनुपर्ने आवश्यकता छ,’ जोखिमपूर्ण सडक तय गरेर सीमाक्षेत्र तातोपानी पुगेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने, ‘सडक र भौतिक पूर्वाधारको अवस्था अत्यन्तै कमजोर छ ।’ गत महिना चीनको ल्हासा पुगेका न्यौपानेले त्यहाँस्थित महावाणिज्यदूत नवराज ढकालसँगै चिनियाँको विभिन्न फोरममा तातोपानी नाकाबारे यथार्थ चित्र प्रस्तुत गरेका थिए । ‘नाकाको अवस्था र भावी सम्भावनाबारे चिनियाँको साना–ठूला सबै फोरममा यी कुरा स्पष्ट राखेको छु । चिनियाँहरू तातोपानी नाका पूर्ववत् खुलाउन लागिरहेका छन् । यो नाका मित्रराष्ट्र चीनको प्राथमिकतामा छ,’ उनले प्रस्ट्याए ।
नेपालतर्पmको पूर्वाधारजस्तो भए पनि चिनियाँहरू खासा पुनर्निर्माणमा जुटिरहेका छन् । साउनदेखि खासा क्षेत्रको सम्पूर्ण पुनर्निर्माण सुरु भएको छ । आउँदो डिसेम्बरसम्म खासाका स्थानीयलाई पुनस्र्थापना गर्ने सरकारको लक्ष्य रहेको खासास्थिति चिनियाँ विदेश विभागले जनाएको छ ।
खासाली चिनियाँ अधिकारीले दिएको जानकारीअनुसार आउँदो सेप्टेम्बरबाट भोटेकोसीका स्थानीयलाई खासाभन्दा तल रमितेसम्म प्रवेश गर्न दिने योजना छ । चिनियाँ क्षेत्रको रमितेमा बनाइएको कस्टम यार्डमा केही दिनअघि नेपाली कन्टेनर प्रवेश गराएर परीक्षण गरिएको थियो । नाका नखुल्दा सीमाक्षेत्रका अधिकांश मानिस राजधानी र विदेश गइरहेको सूचना पाएपछि चीनले तातोपानीबाट आयात, निर्यात र सर्वसाधारणको आवतजावत सहज बनाउने तयारी गरेको हो ।