Skip This
प्रदीप गिरिको अस्तुमा राजनीति, परिवारले जनायाे आपत्ति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Saturday, 27 July, 2024
प्रदीप गिरि पावन स्मृति आयोजक समिति– २०८० को नाममा बिहीबार राजधानी काठमाडौंमा गरिएकाे पत्रकार सम्मेलन ।
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३२ बिहीबार २o:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदीप गिरिको अस्तुमा राजनीति, परिवारले जनायाे आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार २o:३४:oo

समाजवादी चिन्तक, विचारक कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको परिवारले उनको नाममा गर्न लागिएको लोक एवं लोकतन्त्र सेतु गाथा, काठमाडौंदेखि काशीसम्म यात्रा’ कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

कार्यक्रमका आयोजकले गिरिको पहिलो वार्षिकीमा २ देखि ५ भदौसम्म सो कार्यक्रम आयोजना गर्न लागिएको सार्वजनिक गरेको थियो। लगत्तै परिवारको तर्फबाट प्रेस विज्ञप्तिमार्फत कार्यक्रमप्रति आपत्ति जनाइएको हो। 

कार्यक्रमको क्रममा परिवारको स्वीकृति र अनुमतिबेगर अस्तु विसर्जन गर्ने क्रियाकलाप समाहित गरिएकोमा स्तब्ध भएको परिवारजनले जनाएका छन्। 

‘यस्तो कार्यक्रम आयोजना हुन लागेकोमा हामी एकदम कृतज्ञ छौँ। तर, हामी परिवारजन जीवित हुँदाहुँदै हामीलाई एक वचन सरसल्लाह नगरी र अनुमति नलिई सो कार्यक्रममा अस्तु विसर्जन गर्ने क्रियाकलाप समाहित गरेकोमा हामी स्तब्ध भएका छौँ,’ पत्नी भारती सिलवाल गिरि, छोरा सन्तोष र बुहारी उष्माको तर्फबाट बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सामान्यतयाः मृत व्यक्तिको सम्बन्धित परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै पनि अमूक व्यक्ति वा संघ–संस्थाद्वारा विनास्वीकृति गर्न पाउने हिन्दू परम्परा र कानुनतः कुनै पनि रूपमा ग्राह्य छैन। यस्तो अशोभनीय क्रियाकलापले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ।’ 

परिवारले त्यस्तो कार्यक्रम नगर्न पटक-पटक मौखिक र लिखित आग्रह गर्दा पनि अटेर गरिएको स्पष्ट पार्दै कार्यक्रमको बहानामा चन्दा उठाउने कार्य भइरहेकोसमेत विज्ञप्तिमा उल्लेख गरेको छ।

‘हामीले कैयौँपटक मौखिक आग्रह र लिखित रूपमा अस्तु विसर्जन नगर्न अनुरोध गर्दागर्दै पनि सो समितिका नायक कञ्चन झा, रामपल्टन शाह र त्यस समितिसँग संलग्न व्यक्तिहरूले हाम्रो आग्रहलाई लतारेर अस्तुको राजनीति गरिरहेका छन्। सो बहानामा चन्दा उठाउने कार्य पनि निजहरूले गरिरहेका छन्, जुन हाम्रो लागि एकदमै लज्जास्पद विषय भएको छ। जसमा हाम्रो कुनै संलग्नता र सहमति नभएको सर्वसाधारणलाई जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ। 

आयोजक समितिले विसर्जन गर्ने भन्दै प्रचार गरेको अस्तुमाथिसमेत परिवारले प्रश्न उठाएको छ। ‘त्यो अस्तु उनीहरूले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? र, वास्तवमा त्यो अस्तु नै स्व. प्रदीप गिरिको हो कि होइन भन्नेमा नै ठूलो प्रश्नचिह्न उठेको छ। किनभने, उहाँको अस्तु हामीसँग नै सुरक्षित छ,’ परिवारले आग्रह गर्दै भनेको छ, ‘हामीलाई यस किसिमको प्रेस विज्ञप्ति दिन पटक्कै मन नहुँदा नहुँदै पनि हामीलाई बाध्य बनाइएको यसमा हामी अत्यन्तै दुःखी छौँ। त्यसैले, स्व. प्रदीप गिरिको आत्माको चिरशान्तिको लागि सो अस्तु–विसर्जन कार्यक्रम नगरिदिन हुन फेरि पनि समितिलाई विनम्र अनुरोध गर्दछौँ।’

प्रदीप गिरि पावन स्मृति आयोजक समिति– २०८० को नामबाट राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको थियो।