
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा पहिलो उपाधि जितेका छन् । गत सिजन म्यानचेस्टर युनाइटेड छाड्दै साउदी प्रो लिग क्लब अल नासेरसँग अनुबन्धित भएका रोनाल्डोले शनिबार राति अरब च्याम्पियन्स कपको ट्रफी हात पारेका हुन् । फाइनलमा उनले महत्वपूर्ण दुई गोल गरेपछि अल नासेरले अतिरिक्त समयमा अल हिलाललाई २–१ ले हराएको थियो ।
रोनाल्डोले पहिलोपटक जितेको प्रतियोगितामा अरबका शीर्ष क्लबहरूबीच प्रतिस्पर्धा हुने गर्छ । साउदी अरेबियासँगै कतार, संयुक्त अरब इमिरेट्स (युएई), इराक, मोरक्को, ट्युनिसिया र अल्जेरियाले प्रतिस्पर्धा गर्नेछन् । इंग्लिस क्लब युनाइटेडका प्रशिक्षक एरिक टेन हागसँग आन्तरिक द्वन्द्व बढेपछि उनी गत माघमा अल नासेरमा कीर्तिमानी मूल्यमा अनुबन्धित भएका थिए । साउदीमा पाइला राखेको वर्ष उनी उपाधिविहीन भए । ३८ वर्षीय रोनाल्डोसम्मिलित अल नासेर साउदी प्रो लिगमा उपविजेता हुँदा अल इत्तिहादले उपाधि जितेको थियो ।
किङ फहद रंगशालामा अल नासेर र अल हिलालबीच निर्धारित समयको खेल १–१ को बराबरी भएको थियो । फाइनलको अन्तिमतिर अल नासेर १० खेलाडीमा सीमित भयो । खेल अतिरिक्त ३० मिनेटसम्म धकेलिएको थियो । यसै अतिरिक्त समयमा रोनाल्डोले निर्णायक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरी भयो ।