१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
गणेश लम्साल विराटनगर
२०८० श्रावण २८ आइतबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरका मजदुरहरूद्वारा निःशुल्क शववाहन र एम्बुलेन्स सेवा प्रदान

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०८० श्रावण २८ आइतबार १३:०६:००

विराटनगरका यातायात मजदुरहरूले विपन्न वर्गलाई लक्षित गरेर पछिल्लो सात महिनादेखि निःशुल्क एम्बुलेन्स र शववाहन सेवा सञ्चालन गरिरहेका छन्।

विराटनगर महानगरसहित आसपासमा पर्ने मोरङको बुढीगंगा, कटहरी, जहदा र ग्रामथान तथा सुनसरीको बर्जु गाउँपालिकाका विपन्न नागरिकका लागि यातायात मजदुरले निःशुल्क यी सेवा सञ्चालन गरेका हुन्। हाल मजदुरहरूले एउटा बस र एउटा जिपलाई शववाहनका रूपमा प्रयोग गरिरहेका छन् भने एउटा एम्बुलेन्स जिप सञ्चालनमा छ।

एम्बुलेन्सले शव बोक्न नहुने, भाडाका गाडीहरूले शव बोक्न नमान्ने र मानिहाले दोब्बर भाडा लिने, पालिका र परोपकारी संस्थाहरूले पनि शववाहन सञ्चालन नगरेको अवस्थामा विपन्न वर्गलाई शववाहन र एम्बुलेन्स सेवा खर्चिलो भइरहेको थियो। त्यसैलाई मध्यनजर गरेर आफूहरूले शवलाई घाटसम्म लैजान शववाहन र बिरामीलाई अस्पताल लैजान सहज होस् भनेर एम्बुलेन्स सेवा सञ्चालन गरेको अखिल नेपाल यातायात मजदुर संघ मोरङका अध्यक्ष रविन ठकुरीले बताए।

हाल शववाहनका लागि एउटा बस समाजसेवी करिम अन्सारी र एउटा पिकअप जिप संघका मोरङ अध्यक्ष रविन ठकुरी आफैँले निःशुल्क प्रदान गरेका छन्। एउटा एम्बुलेन्स संघले आफ्नै कोषबाट खरिद गरेको हो।

अध्यक्ष ठकुरीका अनुसार मजदुरहरूले सात महिनामा ९८ वटा शव निःशुल्क रूपमा बोकेर घाटसम्म पुर्‍याइसकेका छन्। यसैगरी दुई दर्जनभन्दा बढी बिरामीलाई निःशुल्क एम्बुलेन्समार्फत अस्पताल ल्याउने र अस्पतालबाट घरसम्म लगेर सेवा प्रदान गरिसकिएको छ।

अति विपन्न भएमा शवलाई घाटसम्म लगिदिने मात्र नभएर दाहसंस्कार र किरिया खर्चसमेत सहयोग गर्ने गरेको अखिल नेपाल यातायात मजदुर संघ मोरङका इन्चार्ज गोपाल लिम्बूले बताए। लिम्बूका अनुसार निःशुल्क शववाहन र एम्बुलेन्स सेवाका लागि ९७०२२९२३१८, ९८११०३६४९६, ९८५३७९०८० र ९८१९३३१६८८ नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन्।

मजदुरहरूले सञ्चालन गरेको शववाहन र एम्बुलेसन्स सेवा उनीहरूले तिर्ने मासिक लेबीबाट सञ्चालन हुँदै आएको छ।