मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Wednesday, 15 January, 2025
अनिल यादव काठमाडौं
२o८o श्रावण २८ आइतबार o८:१२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पार्टीका जनप्रतिनिधिको मूल्यांकन गर्न जनमतले गरायो मतदान 

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार o८:१२:oo

‘राइट टु रिकल’को व्यवस्थाअनुसार आठ जिल्लाका २२ स्थानमा मतदान, नेपालको इतिहासमा पहिलोपटक भएको जनमतको दाबी

सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो दलबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको जनताको चाहनाअनुसार काम गरे–नगरेको मूल्यांकन गर्न मतदान गराएको छ । मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी तथा रुपन्देही, कपिलवस्तु र बर्दियाका २२ स्थानमा निर्वाचित भएका जनप्रतिधिको मूल्यांकन गर्न मतदान गराएको हो ।

नेपालको इतिहासमा पहिलोपटक यसरी निर्वाचित जनप्रतिनिधिको मूल्यांकन गर्न मतदान गराएको जनमतका केन्द्रीय सचिव बिपी साहले जानकारी दिए । ‘हाम्रो पार्टीमा राइट टु रिकलको व्यवस्था छ, जसले निर्वाचित भएर राम्रो काम गर्दैन, उसलाई फिर्ता बोलाएर अर्कोलाई पठाउने कुरा हुन्छ,’ उनले भने, ‘पहिलो चरणमा स्थानीय तहमा निर्वाचित वडाध्यक्ष, मेयर, उपमेयरलगायत जनप्रतिनिधिले एक वर्षमा कति काम गर्न सके, उनीहरूको कामबाट जनता सन्तुष्ट छन् कि छैनन् भन्नका लागि हामीले अनुमोदन मूल्यांकन गराएका हौँ । पहिलो चरणमा पहिलो वर्ष भएकाले आफ्नै पार्टीका नेता–कार्यकर्तालाई मतदाताका रूपमा सहभागी गराएका हौँ । मतदानमा दुइटा अप्सन राखिएको थियो– राम्रो गरिरहेको छ वा राम्रो छैन, सुधार्नुपर्छ । सोही अप्सनअन्तर्गत मतदान भयो ।’

साहका अनुसार मतदानको परिणाम आइतबार मात्रै सार्वजनिक हुनेछ । परिणामअनुसार जनप्रतिनिधिका विषयमा निर्णय हुने उनले बताए । ‘भोलि जसको राम्रो परिणाम आउँछ, उनीहरूको राम्रो हुने नै भयो,’ साहले भने, ‘जसको खराब रेटिङ आउँछ, कति प्रतिशतसम्म खराब छ, त्यसको मूल्यांकन गरेर पार्टीले थप निर्णय गर्छ । एकदमै झुर रेटिङ आयो भने कडा निर्णय हुन सक्छ, तर अलि ठिकै आएको छ भने पहिलोपटकलाई नसिहतसहित निर्देशन दिएर थप एक वर्ष सुधारको मौका दिइनेछ । अर्को वर्ष पनि सुधार हुन सकेन भने हामी फिर्ता बोलाउँछौँ र निर्वाचन आयोगले अर्को चुनाव गराउने हो ।’

जनमतले ‘एप्रुभल रेटिङ’को अभ्यासअन्तर्गत गरेको यो मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाट खटाइएका थिए । निर्वाचन कार्यतालिकाअनुसार मंगलबार मतदाता नामावली प्रकाशन गरिएको थियो । शनिबार मतदान गर्नुअघि निर्वाचित स्थानीय जनप्रतिनिधिलाई आफ्नो कुरा राख्ने र मतदाताको प्रश्न सुन्ने समय दिइएको थियो । गत वैशाखमा सम्पन्न निर्वाचनबाट जनमत पार्टीका एक सय पाँच जनप्रतिनिधि स्थानीय तहमा निर्वाचित भएका छन् ।

२ भदौमा प्रदेश सांसदको मतदान हुने
जनमत पार्टीले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिपछि अब प्रदेश सांसदको ‘एप्रुभल रेटिङ’ गर्दै छ । जनमतबाट निर्वाचित सबै प्रदेशका सांसदले आफ्नो क्षेत्रमा राम्रो काम गरे–नगरेको, जनतामाझ भिज्न सकेको–नसकेको त्यसको मूल्यांकन गर्न ‘एप्रुभल रेटिङ’ गर्न लागिएको हो । मतदानको मिति २ भदौलाई तोकिएको छ । यो पनि पार्टीको राइट टु रिकलको व्यवस्थाअनुसार नै हुन लागेको जनमतका सचिव बिपी साहले जानकारी दिए । जनमतका अहिले मधेस प्रदेशमा १३ र लुम्बिनी तीन गरेर जम्मा १६ प्रदेश सांसद छन् । 

जनमत पार्टीबाट दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख विजयी भएका छन् । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका प्रमुखमा वीरेन्द्र माझी र बलान विहुल गाउँपालिका अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका छन् । सिरहाका १७ मध्ये तीनवटा स्थानीय तहमा तीनजना वडाध्यक्षसहितको प्यानल निर्वाचित भएको छ । धनगढीमाई नगरपालिका–८ मा वडाध्यक्षमा रामभरोस महतो, कल्याणपुर नगरपालिका–९ मा वडाध्यक्षमा विनोद यादव र मिर्चैया नगरपालिका–४ वडा अध्यक्षमा दिलीपसिंह दनुवार निर्वाचित भएका छन् । तीनजनाको एक वर्षको कामको समीक्षा गर्न निर्वाचन सम्पन्न भएको जिल्ला इन्चार्ज विनोद यादवले बताए ।