१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २७ शनिबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २७ शनिबार o७:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मुठभेडतर्फ संसद् : दुवै सदनका बैठकमा सत्ता  र प्रमुख प्रतिपक्षको अवरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २७ शनिबार o७:oo:oo

करिब तीन सातायता प्रतिनिधिसभाको कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन । राष्ट्रिय सभाको अवस्था पनि उस्तै छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधले संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् । लामो समयदेखि अवरुद्ध संसद् खुलाउन प्रभावकारी पहल नभइरहेका वेला शुक्रबार अर्को चिन्ताजनक दृश्य थपिएको छ । बैठक अवरोध गर्ने प्रमुख प्रतिपक्षी दलको विरोधमा सत्तापक्ष पनि नाराबाजीमा उत्रिएपछि संसद् मुठभेडतर्फ जाने संकेत देखिएको छ । 

शुक्रबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक सुरु भएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलीय आधारमा सांसदहरूलाई समसामयिक विषयमा धारणा राख्न समय दिए । सबै दलका सांसदले त्यसमा भाग लिए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक कार्यसूचीमा अघि बढाउन लाग्दा प्रमुख प्रतिपक्षी दल एमाले अवरोध गर्‍यो । लगत्तै सत्तारूढ दलका सांसदहरूले पनि उठेर विरोध गरे । करिब १५ मिनेटसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदहरू उभिइरहेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा भएका सबै विषय हटाए र बैठक स्थगित गरे ।

दुई घन्टापछि बसेको प्रतिनिधिसभामा पनि त्यस्तै दृश्य दोहोरियो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल एमालेकी सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएपछि सत्तापक्षले होहल्ला गर्‍यो । आफूहरूले पनि बोल्न पाउनुपर्ने भन्दै उनीहरूले कहिले होहल्ला गरेर त कहिले ढ्यापढ्याप गरेर अवरोध गरिरहे । अवरोधका बीच सांसद साहले सुनकाण्डमा गृह र अर्थमन्त्रीमाथि प्रश्न उठाइरहेका कांग्रेस सांसद सुनील शर्मालाई म्याद सकिएको प्रमाणपत्रबारे अहिले बखेडा झिकेर समातिनु आपत्तिजनक भएको बताइन् । सुशासन र दिगो शान्तिको नाम दिएको सरकारले सदनलाई बन्धक बनाएर देशलाई ठूलो दुर्घटनामा लैजान लागेको उनले आरोप लगाइन् । उच्चस्तरीय समिति बनाएर गृह र अर्थमन्त्रीलाई छानबिनको दायरामा नल्याएसम्म सदन नचल्ने उनले जानकारी गराइन् । 

उनी बोलिरहेका वेला सभामुखले उनको आवाज नसुनिएको भन्दै बस्न आग्रह गरेलगत्तै एमाले सांसदहरू बेल घेर्न पुगे । कुर्सीमै बसिरहेका सत्तापक्षका सांसद पनि उभिए अवरोधमा लागे । करिब १५ मिनेटपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका सबै विषय हटाए र बैठक स्थगित गरे । यसरी संसद्का दुवै सदन लगातार अवरुद्ध भइरहेका छन् । शुक्रबारको घटनाले सदन मुठभेडतर्फ जाने संकेत गरेको छ । 

संसद्को गतिरोधबारे चासो राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरेका थिए । प्रधानमन्त्रीसँग बिहीबार अपराह्न छलफल गरेका राष्ट्रपतिले शुक्रबार बिहान सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग परामर्श गरेका थिए । तर, शुक्रबारै संसद्मा यस्तो दृश्य देखियो । 

सदन नचलेको दिन रास्वपाले सुविधा नलिने
सदनमा १० साउनयता निरन्तर अवरोध कायम रहँदा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सदन नचलेको दिनको सुविधा नलिने घोषणा गरेको छ । संसदीय दलका नेता रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई दलको तर्फबाट पत्र बुझाउँदै राजनीतिक द्वन्द्वका कारण अवरुद्ध बैठकको कुनै पनि सेवा–सुविधा नलिने जानकारी गराएका हुन् । उनले हालसम्ममा पाएको भए पनि त्यसको फिर्ताको उपयुक्त व्यवस्था गरिदिन पनि अनुरोध गरे । रास्वपाले संसद् अधिवेशन नियमित गर्न आवश्यक पहल लिन र सबै जिम्मेवार राजनीतिक पार्टीहरूलाई यसतर्फ सजग गराउन पनि सभामुख घिमिरेसँग अपिल गरेको छ । 

ad
ad
ad
ad