मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Friday, 14 August, 2026
२o८o श्रावण २६ शुक्रबार १o:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आँखा पाक्ने समस्या बढ्दै गएपछि बागलुङका विद्यालय तीन दिन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार १o:o४:oo

पछिल्लो समयमा बालबालिकादेखि अभिभावकसम्म आँखा पाक्ने रोगको समस्या बढ्दै गएपछि बागलुङका विद्यालय तीन दिन बन्द गरिएकाे छ । बागलुङ नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठको अध्यक्षतमा संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकसहितको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

बालबालिकामा दिनप्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार शुक्रबारदेखि आइतबारसम्म विद्यालय बन्द हुनेछन् । 

नगरपालिकाले बिदाको अवधिमा पनि बालबालिकालाई आँखाको समस्या हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाल नेत्रज्योति संघ धौलागिरि आँखा अस्पतालका अनुसार बागलुङमा दैनिक ६० देखि ७० जना आँखा पाक्ने समस्याका बिरामी आउने गरेका छन् । 

यो भाइरस एकबाट अर्कोमा सहजै सर्ने भएको हुँदा सजक रहनुपर्ने बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।  प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको उनको भनाइ छ । 

यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोईकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानजस्ता सामान अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखानजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर मात्र औषधिको प्रयोग गर्ने खनालले बताए ।