मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २५ बिहीबार १५:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २५ बिहीबार १५:३६:००

संस्थाको नाममा रहेको जग्गा गैरकानुनी तरिकाले व्यक्तिलाई बेचेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्षसहित नौजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

साझा भण्डार सहकारी संस्था लिमिटेड, भोटाहिटी, काठमाडौंको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ८ को दुई आना जग्गा र बाँकेको साबिक कोहलपुर गाविस– ३ (क) को दुई आना १७ पैसा जग्गा जग्गा गैरकानुनी बिक्री गरेको अभियोग अख्तियारको छ।

विनाआधार र कारण हचुवाका भरमा अन्यन्त कम मूल्यमा व्यक्तिविशेषलाई बिक्री गर्ने निर्णय गरी चार करोड चार लाख २४ हजार एक सय ८१ रुपैयाँ नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

लिमिटेडको नाममा रहेको सुर्खेतको सुर्खेत उपत्यका नगर विकास समितिको गुरुयोजनाको प्लानिङ व्यावसायिक क्षेत्र भनी तोकिएको वीरेन्द्रनगर नगरपालिका– ८ र साबिक कोहलपुर गाविस– ३ (क) को दुई आना जग्गा अत्यन्त कम मूल्यमा बिक्री गरेर भ्रष्टाचार गरेका हुन्।

भ्रष्टाचारमा संलग्न साझा सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्का तथा सञ्चालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध नोक्सानी भएकै बराबरको रकमलाई बिगो कायम गरेर मुद्दा दर्ता भएको छ।

सहकारीका नाममा बाँकेको जग्गा बिक्री गर्ने निर्णय गरेको आरोपमा सञ्चालक समितिका तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्यलाई पनि चार लाख २४ हजार १८१ रुपैयाँको एकल बिगो कायम गरी प्रतिवादी बनाइएको छ।

सहकारीको नाममा रहेको बाँकेको जग्गा सरोकार नभएका व्यक्तिसमेतको नागरिकताको प्रतिलिपि लिई उनीहरूको मञ्जुरीविना बोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतोमा न्यून मूल्यमा खरिद गरेर आफन्तको नाममा राखेको आरोपमा दैलेखको नारायण नगरपालिका– १ स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा नगरपालिका– ३ बाँसबारीकी गीताकुमारी शाहीविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ।

उनलाई तीन लाख ३० हजार बिगो निर्धारण गरिएको छ। त्यही जग्गा र उस्तै आरोपमा अख्तियारले कोहलपुर नगरपालिका– ११ का सुरोज गिरीविरुद्ध पनि मुद्दा दायर गरेको छ। उनीविरुद्ध चार करोड चार लाख २४ हजार एक सय ८१ रुपैयाँ बिगो दाबी छ।