Skip This
बेपत्ता धन गिरीले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण २५ बिहीबार १३:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेपत्ता धन गिरीले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १३:१o:oo

जुम्लाको चन्दननाथ नगरपालिका– ९ बयालकाटियाका बेपत्ता पारिएका ट्याक्टरचालक धन गिरीले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द गरिएको छ।

बेपत्ता चालक गिरीको लामो समयसम्म सास वा लाश केही नभेटिएको भन्दै उनका आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन्। कर्णाली राजमार्गको चन्दननाथ नगरपालिका– ९ उमगाड क्षेत्रमा उनीहरूले बन्द गरेका हुन्।

बिहीबार बिहानैदेखि कर्णाली राजमार्ग बन्द भएपछि जुम्लाबाट छुट्ने लामो तथा छोटो दूरीका यातायात प्रभावित भएका छन्। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बन्द गरिएको कर्णाली राजमार्ग खुलाउने प्रयास भइरहेको छ। उनका अनुसार अहिले आन्दोलनरत पक्षसँग वार्ता चलिरहेको छ।

यस्तो छ घटना
धन गिरी चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी रेणु शाहीको लु.३त ९६२२ नम्बरको ट्याक्टर चलाउँदै आएका थिए । १५ असोज ०७७ मा गिरीले सहचालकसहित भएर जुम्ला बजारबाट सिमेन्ट ल्याएर गुठीचौर गाउँपालिका– १ मणिसाँघुस्थित कर्ण बस्नेतको घरमा झारेका थिए।

धन गिरीका दाइ भैरे गिरीका अनुसार मणिसाँघुबाट फर्केर आउँदा गुठीचौर गाउँपालिका– ५ लामाकार भिरबाट उनलाई बेपत्ता पारिएको थियो। सोही वडाका विमल महतसहित चारजनाको समूह ट्याक्टर रोकेर ०७७ असोज १५ गते राति साढे ९ बजे चढेका उनले बताए। उनीहरूले चालकबाट ट्याक्टरको चाबी खोसेर ढुंगामुढा गरी बेपत्ता पारेका भैरे गिरीको भनाइ छ। हुन्। त्यहाँबाट भाग्न सफल सहचालक भने अहिले जीवितै अवस्थामा छन्। तर, चालक भने अहिलेसम्म बेपत्ता छन्।

घटनामा चारजनाविरुद्ध अपहरण गरी व्यक्ति बेपत्ता पारेको मुद्दामा जिल्ला अदालतले ०७८ चैत २१ र उच्च अदालत सुर्खेत जुम्ला इजलासले ०८० असार ३ गते सफाइ दिएको छ। धनका आफन्त तुलराज गिरीले भने, ‘हामीले अहिले न लाश भेट्टाएका छौँ, न सास ! दुई तहको अदालतबाट पनि न्याय पाएका छैनौँ।’ अदालतको फैसला त्रुटिपूर्ण रहेको उनको दाबी छ।

प्रतिवादीले नै अदालतको बकपत्रमा आफूहरूले ट्याक्टर रोकेर चालक र सहचालकमाथि हातपात गरेको स्वीकार गर्दा अदालतले सफाइ दिएको भन्दै तुलराजले असन्तुष्टि जनाए। यसले पीडित पक्षलाई अन्यायमा पारेर अदालतले नै पीडकलाई उन्मुक्ति दिएको उनको आरोप छ । 

ट्याक्टरमालिक प्रतिवादी रेणु शाहीले घटनास्थलमा रहेको ट्याक्टर प्रहरीको उपस्थितिविनै आफ्नो घरमा ल्याउनु शंकास्पद रहेको पीडित पक्षको भनाइ छ। शाहीले सहचालकलाई समेत सत्यतथ्य बोल्न नदिएको उनीहरूको आरोप छ। घटना घटेकाे सात महिनापछि तातोपानी गाउँपालिका– ५ श्रीनगरको चौरनजिकै तिला नदीमा मानव कंकाल भेटिएको थियो। उक्त कंकाल धन गिरीको भएको अनुमानमा पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। तर, परीक्षणका क्रममा डिएनए नमिलेको रिपोर्ट आयो। डिएनए नमिलेको भन्दै नौ महिनापछि जिल्ला अदालतले प्रतिवादीलाई  सफाइ दिएको हो।

जिल्ला अदालतको फैसलापछि पुनः उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गरिएको थियो। तुलराजले भने, ‘पुनः डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइए पनि प्रतिवेदन नआउँदै मुद्दा फैसला गरी प्रतिवादीलाई सफाइ दिइयो ।’

उच्च अदालत सुर्खेत जुम्ला इजलासका शाखा अधिकृत नवीन केसीका अनुसार जिल्लाको फैसला उच्चले सदर गरेको हो। उनले भने, ‘बादी पक्षले डिएनए परीक्षणको कुरा गरेको बुझिन्छ। तर, मुद्दाको मिसिल र सरकारी वकिलले डिएनए परीक्षणको कहीँ कतै वकालत गरेको पाइँदैन । बादी पक्षले देखाएको पत्र सरकारी वकिल र जिल्ला प्रहरी कार्यालयबीच मात्रै भएको देखिन्छ । तर, त्यो पत्र उच्च अदालतमा पुगेको देखिँदैन ।’