बालबालिकालाई रुघाखोकी लाग्दा र ज्वरो आउँदा अभिभावकले आत्तिएर अस्पताल लैजाने गरेका छन् । सामान्य रुघा वा ज्वरो आउँदैमा अस्पताल दौडनुपर्छ भन्ने छैन । घरमै बच्चाको नाक सफा गर्ने, पारासिटामोल दिन सकिन्छ । तुलसीको पानी बनाएर खुवाउने, झोलिलो कुरा प्रशस्त खुवाउने, न्यानोमा राख्नेलगायत घरेलु विधि अवलम्बन गर्नुपर्छ । यसरी उपचार गर्दा ठीक नभए वा अवस्था थप जटिल बन्दै गए अस्पताल लैजानुपर्छ ।
बच्चाको नाक बन्द भएर दूध खान नसक्ने, घाँटी घ्यारघ्यार हुने, सास फेर्न समस्या हुने, सास छिटोछिटो फेर्ने भयो भने अस्पताल लैजानुपर्छ । किनकि, रुघाखोकीका वेला बच्चालाई दम बढ्छ । केही बच्चामा ज्वरो आएको वेला बेहोस हुने र काम्ने समस्यासमेत देखिन्छ । यस्तो वेला तुरुन्तै अस्पताल लैजानुपर्छ ।
एन्टिबायोटिक र कफ सिरप नदिने
कतिपय अभिभावकले बच्चालाई जथाभावी एन्टिबायोटिक र कफ सिरप खुवाउने गरेका छन् । सकेसम्म बच्चामा खोकीको औषधि र अन्य एन्टिबायोटिक औषधि प्रयोग नगर्नु नै राम्रो हुन्छ । यदि औषधि दिनैपरे चिकित्सकको सल्लाहअनुसार दिनुपर्छ । शरीरलाई केही ब्याक्टेरिया आवश्यक पनि पर्छ । अत्यधिक एन्टिबायोटिक सेवनले शरीरलाई चाहिने ब्याक्टेरिया पनि मर्न सक्छ । त्यसले गर्दा बच्चा बारम्बार बिरामी हुने अवस्था हुन्छ ।
परिवारमा कोही बरामी छन् भने साना बच्चा र बुढाबुढीसँग उनीहरूलाई घुलमिल हुन दिनुहुँदैन । त्यस्तै, बिरामी अवस्थामा बच्चालाई स्कुल पठाउनुहुँदैन । उसले अन्यलाई संक्रमण सार्न सक्ने भएकाले निको नभएसम्म घरमै आराम गराउनुपर्छ ।