नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले कार्यकालको सय दिन पूरा गरेको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोह गर्दै महासंघले यो अवधि उपलब्धिमूलक भएको बताएको छ ।महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संकटग्रस्त अर्थतन्त्रलाई उकास्ने गरी काम गर्ने विषयमा महासंघ केन्द्रित भएको बताए । वर्तमान आर्थिक संकट समाधानका लागि पहल गर्ने, स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको सार्वजनिक–निजी साझेदारी सुदृढ गर्ने, व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान सुनिश्चित गर्ने गरी महासंघले काम गरेको उनको भनाइ थियो ।
तर, सरकारले निजी क्षेत्रलाइ निर्बाध रूपमा काम गर्न नदिएको उनको गुनासो थियो । यस्तै, निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा लैजाने प्रस्तावको पनि विरोध गरेको उनको भनाइ छ । ‘हामीले कार्यभार सम्हाल्नेबित्तिकै राष्ट्रिय सभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सशोधित विधेयक पारित गर्यो । जसमा निजी क्षेत्र पनि अख्तियारको दायरामा आउने विषय उल्लेख थियो । हामीले तत्काल यसको विरोध गर्याैँ,’ उनले भने, ‘यसबारे हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको ध्यानाकर्षण पनि गरायाैँ ।’
यस्तै, महासंघ र इन्टरनेसनल फाइनान्स कर्पाेरेसनले पहिलोपटक नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान विषयक एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको पनि उनले बताए । प्रतिवेदनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५ प्रतिशत देखाएको उनको भनाइ थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र साझेदार संस्था भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा भारतमा पहिलोपटक नेपाल–भारत बिजनेस समिटको आयोजना गर्न सफल भएको पनि उनले बताए । चालू आवको बजेट र मौद्रिक नीतिमा सुझाव दिने कार्यमा पनि महासंघ सक्रिय भएको उनले दाबी गरे । उनले भने, ‘मौद्रिक नीतिमा हाम्रो केही अपेक्षा थियो । तर, मौद्रिक नीतिले पनि यसलाई सम्बोधन गर्न सकेन । कुल गार्हस्थ्य उत्पादनको तुलनामा अत्यधिक कर्जा प्रवाह भएको र यसले आर्थिक वृद्धि नभएको विषयलाई उठाइयो । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा दुई दिनअघि अन्तर्राष्ट्रिय मुद्राकोषको मिसन महासंघमा आएको थियो । उनीहरूको पनि यही चासो थियो ।’
यो संकटमा निजी क्षेत्रलाई केही समय आफ्नो ऋणको व्यवस्थापन गर्न समय दिनुपर्ने उनले बताए । नयाँ उद्यमीलाई प्रोत्साहित गरेर वर्षाै लागेर सिर्जना भएको विकृतिलाई विवेकपूर्ण रूपमा समाधान गर्नुपर्ने उनले बताए । महासंघको विधान संशोधन प्रक्रियालाई पनि अगाडि बढाएका छौँ । यसअघि तयार भएको मस्यौदामा नै थप छलफल गरी अगाडि बढाउने उनको भनाइ छ ।