१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० श्रावण १६ मंगलबार १३:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा १५ प्रतिशत बालबालिकामा सिकलसेल र थालसेमिया फेला

Read Time : > 1 मिनेट
२०८० श्रावण १६ मंगलबार १३:३८:००

बर्दियामा थारू समुदायका १५.३३ प्रतिशत बालबालिकामा सिकलसेल र थालसेमिया रोग फेला परेको छ। स्वास्थ्य कार्यालय बर्दियाले आठ विद्यालयका तीन हजार एक सय ६ विद्यार्थीमा गरेको स्क्रिनिङ जाँचमा १०.८२ प्रतिशतमा सिकलसेल एनिमिया र ४.५१ प्रतिशतमा थालसेमिया फेला परेको हो।

स्वास्थ्य कार्यालयले सातवटा नगरपालिकाका आठ विद्यालयमा कक्षा ६ देखि १० सम्मका बालबालिकाको रक्तपरीक्षण गरेको थियो। थारू समुदायको जनस्वास्थ्य समस्याको रूपमा रहेको वंशाणुगत रोग सिकलसेल र थालसेमियाको अवस्थाबारे पत्ता लगाउन कार्यालयले जाँच गरेकाे हो।

ती विद्यालयका तीन हजार एक सय ६ थारू समुदायका बालबालिकामा गरिएको परीक्षणमा तीन सय १२ जना बालबालिकामा सिकलसेल फेला परेको हो। जसमध्ये ११ जना रोगी र तीन सय एकजना बाहक रहेका छन्। त्यसैगरी एक सय ४० बालबालिकामा थालसेमिया फेला परेको छ। जसमध्ये एक सय ३९ जना बाहक र एकजना रोगी रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयले गरेको स्क्रिनिङमा गेरुवा गाउँपालिकामा सबैभन्दा बढी १७.३१ प्रतिशतमा सिकलसेल र थालसेमिया रोग फेला परेको छ। जसमध्ये ११.६४ प्रतिशतमा सिकलसेल फेला परेको छ। त्यसैगरी, ठाकुरबाबा नगरपालिकामा १६.१४ प्रतिशत बालबालिकामा सिकलसेल र थालसेमिया फेला परेको छ। जसमध्ये ९.०५ प्रतिशतमा सिकलसेल फेला परेको छ।

बर्दियामा आठवटा पालिकामध्ये मधुवन नगरपालिकामा सबैभन्दा कम १४.५० प्रतिशतमा सिकलसेल र थालसेमिया रोग फेला परेको छ। जसमध्ये १०.०३ प्रतिशतमा सिकलसेल फेला परेको हो। बारबर्दिया नगरपालिकामा थारू समुदायका एकदेखि २९ वर्ष उमेर समूहका २० हजार थारू युवा तथा बालबालिकालाई जाँच गर्दा ११.३ प्रतिशतमा सिकलसेल फेला परेको थियो।

जाँचको क्रममा फेला परेका ११ जना सिकलसेल रोगीले नियमित औषधि खानुपर्ने हुन्छ। स्वास्थ्य जटिल हुँदै गएमा रगतसमेत चढाउनुपर्ने हुन्छ भने तीन सय एकजना सिकलसेल बाहकले बाहकसँग नै विवाह गरेमा उनीहरूबाट जन्मने सन्तान सिकलसेल रोगी भएर जन्मन्छन्। थालसेमियाका रोगीहरूलाई पनि नियमित रगत चढाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए।

गत वर्ष बर्दियामा स्वास्थ्य कार्यालयले एक हजार नाै सय ९२ जनामा गरेको स्क्रिनिङ जाँचमा ११ प्रतिशतमा  सिकलसेल र थालसेमिया चार प्रतिशतमा फेला परेको थियो।

बर्दियामा आर्थिक वर्ष ०७८/७९ देखि सिकलसेल र थालसेमियाको जाँच गरिँदै आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले बताए। सिकलसेल र थालसेमिया वंशानुगत रूपमा सर्ने रोग भएकाले विवाह गर्नुअगाडि सिकलसेल र थालसेमियाको जाँच गरेर विवाह कुण्डली मिलान गरेर विवाह गर्नुपर्ने उनले बताए।