१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५७:oo

दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्दो छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांकअनुसार जिल्लामा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ छ। 

यसमा एक सय  ७४ पुरुष र ५४ महिला छन्। डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन्। तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१,  तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ।

यसैगरी बबईका नौ, दंगीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बंगलाचुलीका तीन तथा  जिल्लाबाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ।

जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव ०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ।

आव ०७८/७९ मा ६३ जना, आव ०७७/७८ मा ५५, आव ०७६/७७ मा ३७ र आव ०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्यांक छ। डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना छन्।

प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका व्यक्ति रहेको जानकारी दिए। घोराही– ९ की १३ महिनाकी शिशुको ०७८ फागुन २२ गते घरअगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बंगलाचुली गाउँपालिका– ७ का ८० वर्षीय दयाराम बुढामगरको ०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये अधिकांश लापरबाहीका कारण भएको जनाएको छ। पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन्, तर अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरबाहीका कारण भएको देखिएको छ,’ उनले भने, ‘पानी र आगोसँग कहिले खेलवाड गर्नुहुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए। 

साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन् । उनले भने, ‘डुबेर अकालमा ज्यान गुमाउने युवाको संख्या जिल्लामा धेरै छ। युवा जोस देखाउँदै लापरबाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन्।’  खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ।

ad
ad