मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
आइतबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय यू–१६ फुटबल छनोट प्रतियोगितामा सहभागी खेलाडी ।
२०८० श्रावण ८ सोमबार ०७:०६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कास्कीले गर्‍यो यू–१६ फुटबल छनोट बहिष्कार

गण्डकी प्रदेश महासचिव विनोद गुरुङ र कास्की अध्यक्ष उज्जल रञ्जितबीचको व्यक्तिगत ‘इगो’का कारण खेलाडी समस्यामा

Read Time : > 2 मिनेट
२०८० श्रावण ८ सोमबार ०७:०६:००

पोखरामा गण्डकी प्रदेशस्तरीय यू–१६ फुटबल छनोट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यक्रमअनुसार १५ देखि २५ भदौसम्म भुटानमा आयोजना हुने साफ यू–१६ प्रतियोगितामा सहभागी हुन नेपाली टोली चयनका लागि प्रदेशस्तरमा छनोट खेल आयोजना भएको हो । तनहुँ, लमजुङ, स्याङ्जा, गोर्खा, मनाङ, बागलुङ, नवलपुर र पर्वतका दुई सय खेलाडी सोमबारसम्म चल्ने छनोट प्रतियोगितामा सहभागी भएका छन् । तर, घरेलु जिल्ला एन्फा कास्कीले छनोट प्रतियोगिता बहिष्कार गरेको छ । 

पदाधिकारीबीचको आपसी ‘इगो’का कारण कास्कीका खेलाडीले छनोट प्रतियोगितामा सहभागी हुन नपाएको स्रोतले नयाँ पत्रिकालाई बताएको छ । एन्फा गण्डकीका महासचिवमा विनोद गुरुङ र कास्की अध्यक्षमा उज्जल रञ्जित छन् । प्रदेशअघि भएको कास्कीको निर्वाचनमा गुरुङ रञ्जितसँग अध्यक्षमा पराजित भएका थिए । त्यसपछि गुरुङले प्रदेश निर्वाचनमा महासचिव पदमा बाजी मार्न सफल भए । गत वैशाखमा भएको जिल्ला निर्वाचनमा रञ्जितले गुरुङलाई १४–७ मतान्तरले हराएका थिए । दुईवटा निर्वाचनमा देखिएको सरगर्मीको असर यू–१६ छनोट प्रतियोगितामा देखिएको स्रोतले बतायो । 

चुनावीसँगै अन्य इगोका कारण कास्कीले छनोटमा खेलाडीलाई नपठाएको बुझिएको छ । दुई व्यक्तिको आपसी लडाइँले खेलाडी छनोट खेलमै सहभागी हुन पाएनन् । छनोट कार्यक्रम संयोजकसमेत रहेका गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले कास्की जिल्लाले खेल बहिष्कार गरेपछि उनीहरूका १०–१२ खेलाडीले प्रदेशमा सम्पर्क गरेको बताए । ‘जिल्लाले खेल बहिष्कार गरेपछि आफ्नै तरिकाले कास्कीका १०–१२ जना खेलाडी प्रदेशको सम्पर्कमा गएका छन्,’ गुरुङले भने, ‘सोमबारसमेत अन्य खेलाडी आफ्नै तरिकाले सहभागी हुने गरी सम्पर्कमा आएका छन् ।’ 

प्रदेशले सम्पर्क नगरेको आरोप
छनोट प्रतियोगिताअघि प्रदेशले आफूहरूसँग सम्पर्क नगरेको आरोप अध्यक्ष रञ्जितले लगाएका छन् । ‘छनोट खेल सञ्चालन गर्दा प्रदेशले हामीसँग समन्वय गरेन, यसै कारण कास्कीले सहभागिता नजनाएको हो,’ उनले भने, ‘जुन जिल्लामा आएर प्रदेशले खेल सञ्चालन गर्छ, कमसेकम त्यो जिल्लासँग समन्वय गर्नुपर्छ ।’ प्रतियोगिताका संयोजक गुरुङले २ साउनमा पत्रमार्फत कास्कीलाई जानकारी गराएको बताए । ‘हामीले २ साउनमै उहाँहरूलाई जानकारी गराएका थियौँ, के–कति कारणले सहभागी भएनन्, यसबारेमा केही जानकारी छैन ।’ 

अध्यक्ष रञ्जितले पोखरामा चलिरहेको छनोटमा सहभागी नभए पनि २२ जना कास्कीका खेलाडी सीधै माथि गएर छनोट खेलमा सहभागी गराउने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग कुरा गरेको जनाए । ‘पछि सीधै छनोटमा सहभागी हुने गरी नै केन्द्रसँग कुराकानी भएको छ, सोहीअनुसार सहभागी नभएका हौँ,’ उनले भने । 

कारबाहीको माग
प्रदेशलाई अवज्ञा गर्ने जिल्लाका खेलाडी सीधै केन्द्रमा सहभागी हुन नपाउने प्रावधान रहेको एन्फा गण्डकीका एक पदाधिकारीले बताए । ‘प्रदेशलाई नटेरी सीधै केन्द्रको धाक लगाउनेलाई के आधारमा केन्द्रले सहभागी गराउँछ ?’ ती पदाधिकारीले प्रश्न गरे, ‘केन्द्रले कास्कीलाई अनुशासनको कारबाही गर्नुपर्ने माग राख्छौँ ।’ कास्कीले गरेको बहिष्कारलाई प्रदेश खेलकुद परिषद्ले छानबिन गर्ने सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए ।

‘कास्कीले जे गर्‍यो, त्यो अनुशासन र प्रक्रियाविरुद्ध रहेकाले यसको छानबिन हुनेछ,’ उनले भने, ‘कसैको व्यक्तिगत इगोका कारण त्यसको असर खेलाडीलाई पर्नुहुँदैन ।’ व्यक्तिगत इगोका कारण खेलाडीको भविष्यमाथि नै खेलबाड गर्नु आफूलाई स्वीकार्य नभएको शर्माले बताए । ‘सकेसम्म राम्रो गर्ने हो, बिगार्ने अधिकार कसैलाई छैन र कसैले बिगार्न खोज्छ भने त्यो स्वीकार्य छैन,’ उनले भने, ‘यदि कसैले बिगार्न खोजे त्यसका विरुद्ध प्रदेश कडा रूपमा प्रस्तुत हुनेछ ।’ 

 पाँच खेलको बन्द प्रशिक्षण पोखरामा 
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुने नेपाली महिला ह्यान्डबल खेलाडी बन्द प्रशिक्षणका लागि पोखरा आएका छन् । पोखरामा १६ खेलाडी र दुई प्रशिक्षक आएका हुन् । हाङझावमा ६ देखि २१ असोजसम्म एसियाड हुँदै छ ।

बन्दना राईको कप्तानीमा रहेको टोलीमा उमा राई, आइतल्हामु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली र रमिला बस्नेत छन् । यसैगरी, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगीता चौधरी, विमला भुजेल, सञ्जु राई, रामकुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना रहेका छन् । खेलाडीलाई बिन्दा थापा र दीपक सिंह बोहराले प्रशिक्षण दिने नेपाल ह्यान्डबल संघका सचिव केशव पाठकले क्लोज क्याम्प दुई महिनासम्म चल्ने बताए । 

एसियाडको तयारीका लागि आर्चरी, बक्सिङ र रग्बी खेलका खेलाडीले पोखरामा प्रशिक्षण सुरु गरिसकेका छन् । आर्चरीका चार, बक्सिङका १३ र रग्बीका १६ जना खेलाडीले नियमित प्रशिक्षण गरिरहेका छन् । 

कुस्तीको प्रशिक्षण भारतमा 
एसियाडको तयारीमा जुटेका कुस्तीका खेलाडीले वैदेशिक प्रशिक्षण अवसर पाएका छन् । एसियाडको तयारीका लागि कुस्ती खेलाडी भारतको उत्तरप्रदेश जानेछन् । चार खेलाडीसहित पाँच सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव १९औँ एसियाडका लागि कुस्ती खेलमा छनोट भएका चारै खेलाडी १३औँ दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । 

पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिलामा शिवांगी दुवे (५७ केजी) र सुशीला चन्द (६२ केजी) रहेका छन् । १३औँ सागमा सुरेश र राजले कांस्य हात पारेका थिए । नेपालगन्जमा खेलाडीले एक साताको प्रशिक्षणपछि टोली उत्तरप्रदेश जानेछ । उत्तरप्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म खेलाडी प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए । खेलाडी सुरेशले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउँदा सबै खेलाडी उत्साहित भएको प्रतिक्रिया दिए ।