१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिरहरु : इन्द्रबहादुर थापा/नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

कोभिडले व्यापारमा पूर्णबिराम लागेपछि गाउँ फर्केर तरकारी खेती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:३१:oo

काठमाडौंको ठमेलमा भेटिने काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ८ का बसन्त थापा अहिले खेतबारीमा भेटिन्छन् । ठमेलमा पर्यटकलाई हस्तकला बेच्दै गरेको अवस्थामा भेटिने थापा अहिले टनेलमा गोलभेँडा सुमसुम्याउँदै गरेको भेटिन्छन् । कोभिड–१९ ले व्यापार चकनाचुर बनाएपछि तरकारी खेतीमा लागेका उनी अहिले आफ्नै गाउँमा तरकारी खेतीमा रमाइरहेका छन् ।

१६ वर्षसम्म गरेको हस्तकला व्यापारबाट राम्रै आम्दानी गरिरहेका थापा कोभिड–१९ ले व्यापार रोकेपछि के गर्ने भनेर दोधारमा थिए। कोभिडले व्यापारमा पूर्णबिराम लगाएपछि परिवार धान्न पनि मुस्किल थियो । ‘ठमेलमा हस्तकलाको व्यापार गरिरहेका थियौँ । आम्दानी राम्रै थियो । तर, कोरोनाले व्यापार चौपट बनाइदियो,’ उनले भने, ‘एकपटक त विदेश नै जाऊँ कि भन्ने लागेको थियो । तर, देशमै केही गरौँ भन्ने हिसाबले तरकारी खेतीमा लागेँ।’ त्यही क्रममा मध्यमार्ग कृषि सहकारी संस्थाबाट कृषि सामग्री पाएपछि तरकारी खेतीमा लागेको थापाले बताए। तरकारी खेतीको लागि टनेल प्लास्टिक, हाते  ट्रयाक्टर, बिषादी स्प्रे र तरकारी बिउबिजन पाएपछि होलसेल व्यापार गर्दै आएका शालिकराम बन्जरासँग मिलेर तरकारी खेती गरेको थापाले बताए । शालिकराम उनका मामा हुन् ।

‘कोरोनाले व्यापार रोकेपछि के गर्ने, के नगर्ने भन्ने दोधारमा थिएँ । त्यही क्रममा सहकारीले ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिएपछि मजस्तै अलमलमा परेका मामासँग मिलेर तरकारी खेती गरे,’ थापाले भने, ‘अहिले सन्तुष्ट नै छौँ।’ उनीहरू मामा भान्जा मिलेर पनौती–८ निसिला फाँटमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् । करिब १५ लाख लगानी गरी तरकारी खेती गरेको शालिकरामले बताए । वार्षिक प्रतिरोपनी १५ हजारका दरले लिएको १० रोपनी जग्गामा ७० वटा टनेल हाली टमाटर खेती गरेको उनले सुनाए।

उनीहरूले अर्गानिक तरकारी खेतीलाई प्राथमिकता दिएका छन्। ‘हामीले अर्गानिक खेतीमा जोड दिएका छौँ,’ बञ्जराले भने, ‘पैसा तिरेर विषादीजन्य तरकारी बेच्न छोड्नुपर्छ । त्यसकारण हामीले अर्गानिक तरकारी उत्पादनमा जोड दिएका छौँ।’ थोरै मात्रामा रासायनिक मल र विषादी प्रयोग गरेर तरकारी उत्पादन गर्दै आएको उनको भनाइ छ। जीविकोपार्जनका लागि विदेश नभई नेपालमै केही गरौँ भनेर लागेको बञ्जराले बताए।

पनौती–८ कै सरस्वती बञ्जराले पनि तरकारी खेती गर्दै आएकी छिन्। कोरोनापछि सबैले तरकारी खेती गर्न थालेपछि आफूले पनि तरकारी खेती गरेको उनले बताइन्। ४ वर्षदेखि साढे दुई रोपनी जग्गामा गोलभेँडा, काँक्रो र सिमी खेती गरेको उनले बताइन्। धान खेतीबाट वार्षिक ४० हजार आम्दानी हुने जग्गामा तरकारी खेतीबाट करिब ४ लाख फाइदा हुने गरेको छ।

‘तरकारी खेतीमा आम्दानी राम्रो छ । कहिले काहीँ भाउ नपाएर घाटा भए पनि लगातार खेती गर्दा फाइदा हुन्छ । सँधैभरि भाउ नआउने भन्ने हुँदैन,’ उनले भनिन्। उनीहरूले जस्तै बालकृष्ण श्रेष्ठ, पदमप्रसाद आचार्य, रामशरण थापालगायत १६० भन्दा बढी किसानले तरकारी खेती गर्दै आएका छन् ।

छैन बजारीकरणको समस्या
पनौती– ८ का किसानहरू तरकारीको बजारीकरणको समस्या नभएको बताउँछन्। यहाँ उत्पादन भएको तरकारी काठमाडौंको कालिमाटी, हेटौँडा, झापालगायतका स्थानमा निर्यात हुने बालकृष्ण श्रेष्ठले बताए ।

‘तरकारीको भाउ तलमाथि त हुने नै भैहाल्यो, तर बिक्री नहुने समस्या चाहिँ अहिलेसम्म आएको छैन,’ सेनाको जागिर छोडेर तरकारी खेतीमा लागेका श्रेष्ठले भने, ‘तरकारी लिन कालिमाटी, झापा, हेटौँडा आदिबाट लिन आउँछन्।’

अहिले गोलभेँडाको भाउ राम्रै भएको भुवनेश्वरी तरकारी संकलन केन्द्रका प्रोपाइटर रामेश्वर बञ्जराले बताए। केही समय अगाडि गोलभेँडा एक सयको ५ किलो दिनुपर्ने अवस्था रहेको भए पनि अहिले प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको बञ्जराको भनाइ छ । उनले ७/८ जनालाई रोजगारी दिएर करिब ४ सय क्रेट जति गोलभेडा बिक्री गर्दै आएका छन्।

पनौती नगरपालिका वडा नं. ४ र ८ का किसानलाई मध्यमार्ग कृषि सहकारी संस्थाले सहजीकरण गर्दै आएको छ । सिजनअनुसार अनुदानमा बिउबिजन वितरण गर्ने, ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिने गरेको उक्त सहकारी संस्थाका अध्यक्ष प्रदीप केसीले जानकारी दिए।

आर्थिक वर्ष २०७९-०८० मा ७० लाखबराबरको कृषि सामग्री वितरण गरेको केसीले बताए । त्यसमा ३५ लाख कृषि ज्ञान केन्द्र र बागमती प्रदेश सरकारको कृषि मन्त्रालय र ३५ लाख किसानले व्यहोरेका हुन्।

‘सरकारले तरकारीको न्यूनतम मूल्य तोक्नुपर्छ’
सरकारले तरकारीको न्यूनतम मूल्य निर्धारण गरिदिनुपर्ने किसानहरूको माग छ। मूल्य नतोकिँदा तरकारीको मूल्य संकलकले आफ्नो हिसाबमा तोक्दै आएका किसान रामशरण थापाले बताए।

‘सरकारले तरकारीको मूल्य निर्धारण गरिदिए हुन्थ्यो,’ थापाले भने, ‘तरकारी पठाएको ३ दिनपछि मात्र हामीले मूल्य थाहा पाउँछौँ । यदि सरकारले यो सिजनमा यो–यो तरकारीको मूल्य यति हो भन्ने भयो भने हामीलाई पनि सजिलो हुने थियो ।’
 

ad
ad