१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० श्रावण १ सोमबार ११:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा अस्पतालमा दुईवटा डायलाइसिस मेसिन थप

Read Time : < 1 मिनेट
२०८० श्रावण १ सोमबार ११:५५:००

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा सोमबारबाट दुईवटा डायलाइसिस मेसिन थप गरिएको छ।

मिर्गौलाका बिरामीलाई दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि हेटौँडा अस्पतालमा दुईवटा मेसिन थप गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए।

आरोग्य फाउन्डेसनले हेटौँडा ११ मा रहेको चुरेहिल अस्पतालमा सञ्चालन गरेको डायलाइसिस सेवा बन्द भएपछि हेटौँडा उपमहानगरपालिकाको पहलमा ती मेसिन हेटौँडा अस्पतालमा ल्याइएको  मेयर मीना लामाले जानकारी दिइन्।

‘चुरेहिल अस्पतालमा डायलाइसिस सेवा बन्द भएपछि उपमहानगरको पहलमा मेसिनलाई हेटौँडा अस्पतालमा ल्याइएको हो। फाउन्डेसनसँग कै सहकार्यमा सोमबारबाट हेटौँडा अस्पतालमा थप दुईवटा मेसिनबाट सेवा दिन सुरुवात गरेका छौँ,’ उनले भनिन्।

मेसिन बन्द रहँदा चुरेहिलमा उपचार लिँदै आएका बिरामी सेवाबाट वञ्चित हुनुपर्ने र सेवा लिनका लागि बाहिरी जिल्ला जानुपर्ने भएपछि ती मेसिनलाई हेटौँडा अस्पतालमा ल्याइएको मेयर लामाले बताइन्।

‘हेटौँडा अस्पतालमा दुईवटा मेसिन थप गर्दा यहाँको सेवा पनि विस्तार हुने र सेवाग्राहीले बाहिरी जिल्ला जानपर्ने बाध्यता हट्ने भएकाले हामीले फाउन्डेसनका पदाधिकारीहरूसँग छलफल गरेर मेसिन हेटौँडा अस्पतालमा ल्याएका हौँ,’ उनले भनिन्।

उपमहानगरको पहलपछि मिर्गौलाका बिरामीले उपचार सेवा हेटौँडामै पाउने अवस्था बनेको हेटौँडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले बताए। 

दुईवटा डायलाइसिस मेसिन थपिएसँगै अब हेटौँडा अस्पतालमा मेसिनको संख्या १४ पुगेको छ। तर, एउटा मेसिन बिग्रिएर ममर्तको काम भइरहेकाले अहिललेलाई १३ वटा मेसिनबाट मात्रै सेवा दिन सकिने डा. सापकोटाले जानकारी दिए। 

उनले हेटौँडा अस्पतालमा सञ्चालित डायलाइसिसबाट हप्तामा एक सय १० जना सेवाग्राहीलाई उपचार सेवा दिँदै आएको बताए। यस्तै, हेटौँडामा डायलाइसिस सेवा लिनका लागि थप ४५ जना बिरामी पर्खाइमा रहेको पनि डा. सापकोटाले जानकारी दिए।