१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१६:oo

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । शुक्रबार काठमाडौंमा एक विशेष समारोह गर्दै दुवै कम्पनीले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । 

उनीहरूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले नयाँ बिमा पोलिसी ल्याएर बिमा कम्पनीहरू स्वच्छ प्रतिस्पर्धामा अघि बढ्नुपर्ने बताए । यस्तै, कम्पनीका सञ्चालक उमेशलाल श्रेष्ठले बिमा बजार झन् प्रतिस्पर्धी बन्दै गएको बताए । त्यो अवस्थामा मर्जरपश्चात् बनेको प्रभु महालक्ष्मी लाइफले प्रभावकारी व्यवसाय गर्न सक्ने उनको भनाइ छ । 

प्राधिकरणले बिमा कम्पनीहरूको चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि ३० असार ०७९ मा प्रभु लाइफ र महालक्ष्मी लाइफले मर्जर सम्झौता गरेका थिए । उनीहरूले गत ३ जेठमा मर्जरसम्बन्धी अन्तिम सम्झौता गरेका थिए । उक्त दुई कम्पनी १ः१ स्वाप रेसियोमा मर्ज भएका हुन् । 

यसअघि जीवन बिमा कम्पनी दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो । तर, चैत ०७८ मा नियामक निकाय प्राधिकरणले जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी बनाउने निर्णय गरेको थियो । त्यसका लागि पहिलोपटक चैत ०७९ र दोस्रोपटक यही असार मसान्तसम्मको म्याद दिइएको छ । सोहीअनुसार चुक्ता पुँजी बढाउन अधिकांश बिमा कम्पनी मर्ज भएका छन् । सोही क्रममा प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी पनि मर्ज भएका हुन् । यसअघि २० निर्जीवन र १९ जीवन बिमा कम्पनी सञ्चालनमा थिए । मर्जर लहरका कारण अहिले निर्जीवन र जीवन बिमा कम्पनीको संख्या १४–१४ वटा कायम भएको छ । 

मर्जरपछिको कम्पनीको चुक्ता पुँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ । यद्यपि, त्यो प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीको सीमाभन्दा ७० करोड ४० लाख रुपैयाँ कम हो । त्यो बाँकी पुँजी भने एफपिओ जारी गरेर पूरा गर्ने कम्पनीको योजना छ । 

साबिक प्रभु लाइफले सर्वसाधारणलाई सेयर जारी गरिसकेको थियो । तर, पाँच वर्षअघि मात्रै सञ्चालनमा आएको महालक्ष्मी लाइफले सर्वसाधारणलाई आइपिओ बिक्री गर्नै पाएको थिएन । सोही अवस्थामा महालक्ष्मी र प्रभु लाइफ मर्ज भएका थिए । आइपिओ जारी गरेको कम्पनी आइपिओ जारी गरिसकेको कम्पनीसँग मर्ज भएमा एफपिओ जारी गर्न पाउने व्यवस्था छ । सोहीअनुसार एफपिओ जारी गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । ९० लाख कित्ता आइपिओ जारी गर्ने तयारी रहेको उनको भनाइ छ । 

‘नेपाल धितोपत्र बोर्डको मापदण्डअनुसार कायम हुने उचित मूल्यमा कम्पनीको एफपिओ जारी हुनेछ, त्यसपछि हाम्रो चुक्ता पुँजी प्राधिकरणले तोकेको भन्दा पनि बढी हुनेछ,’ उनले बताए । एफपिओ जारी भएपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब १९ करोड ६० लाख रुपैयाँ पुग्नेछ । मर्जरपछि बनेको कम्पनीको शाखा संख्या भने एक सय १५ वटा पुगेको छ । कर्मचारीको संख्या भने चार सय ४२ रहेको छ । कम्पनीको अध्यक्ष भने टुंगो लागिसकेको छैन । अब बस्ने सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गर्नेछ ।

ad
ad