१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Monday, 15 July, 2024
गोर्डन ब्राउन
२o८o असार ३१ आइतबार o८:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्पेनको चुनाव र नवफासीवादको चुनौती 

Read Time : > 2 मिनेट
गोर्डन ब्राउन
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार o८:४३:oo

दक्षिणपन्थी समूह संस्कृति युद्धमा लाग्नु नवउदारवादी विश्वव्यापीकरणको असफलता हो, जसले अहिलेको अप्रत्याशित संसारमा श्रमजीवीलाई सुरक्षाबाट वञ्चित गरेको छ

युरोपको भविष्य बुझ्न मन लागे २३ जुलाईमा हुने आमचुनावका सन्दर्भमा स्पेनमा भइरहेका हालैका केही घटनालाई अवलोकन गर्दा हुन्छ । उग्र–दक्षिणपन्थी भोक्स पार्टीले राजधानी म्याड्रिडको मुख्य सडकमा नारीवाद, आप्रवासन र लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायको दानवीकरण गर्ने उद्देश्यले बिलबोर्ड टाँगेको छ । उसले परम्परागत राष्ट्र राज्य रक्षाको आडमा संस्कृति युद्ध भड्काउने प्रयास गरिरहेको छ ।

एक भड्काउ टिभी चुनाव बहसका क्रममा भोक्सका नेता स्यान्टियागो एबास्कलले करिब ७० प्रतिशत सामूहिक बलात्कार आप्रवासीले गर्ने झुटो दाबी गरेका थिए । झुटो दाबी गर्ने यो रणनीति नयाँ होइन । २०१६ को ब्रेक्जिट जनमत संग्रहमा पनि यस्तै देखिएको थियो, जब निगेल फारेजले बेलायततर्फ आप्रवासीको ठूलो समूह विस्फोटक ढंगले आइरहेको देखाउने पोस्टर प्रयोग गरेका थिए । चाखलाग्दो के छ भने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ‘यिनलाई रोकौँ’ शीर्षकमा हंगेरीको चुनावमा फारेजकै पोस्टर प्रयोग गरेका थिए । स्मरण रहोस्, हंगेरीमा युरोपभरमै सबैभन्दा कम विदेशी मूलका नागरिक छन् । यही हंगेरीमा अस्तित्वहीन ‘अतिक्रमणकारी’ रोक्ने अभियानले ओर्बानलाई चुनावमा जितायो ।

भोक्सको राष्ट्रवाद आप्रवासनमा मात्रै सीमित छैन, यो राष्ट्रवादमा स्पष्ट रूपमा समलिंगी तथा नारीवादविरोधी आक्रमण पनि पर्छ । पार्टीले लैंगिक एवं यौनिक अल्पसंख्यक एवं नारीवादी आन्दोलनलाई राष्ट्रका लागि खतरा ठान्छ । स्थानीयस्तरमा गठबन्धन निर्माण गर्दा पार्टीले लैंगिक समानताको पहलकदमी भत्काइदिएको छ र यस्ता पहललाई ‘परिवार विभागमा’ सारिएको छ । बेलेरिक द्वीपमा पार्टीले लैंगिक एवं यौनिक अल्पसंख्यकलाई लिएर हुने सबै आन्दोलनको औपचारिक मान्यता मेटाउँदै छ । यसबाहेक पार्टीले क्याटालान र बास्क पृथकतावादी पार्टीमाथि प्रतिबन्ध लगाएर क्षेत्रीय स्वायत्तताको आन्दोलन दबाउने उग्र–राष्ट्रवादी एजेन्डा अघि सारेको छ । 

दक्षिणपन्थीले संस्कृति युद्धमा जोड दिनु नवउदारवादी आर्थिक नीतिबाट ध्यान हटाउने रणनीति हो । सार्वजनिक सेवाको निजीकरण गर्नु, निजी स्वास्थ्य सेवाको विस्तार गर्नु र उच्चदरको कर कटौती लागू गर्नुलगायत नीतिमा सन् २०२४ सम्ममा हालको सम्पत्ति कर हटाउने योजना पनि समावेश छ । 

भोक्सले पूर्ण बहुमतसाथ जित हासिल गर्न नसके पनि स्पेनको अब बन्ने सरकारमा महŒवपूर्ण प्रभाव पार्ने सम्भावना बढेको छ । पुरातनपन्थी पपुलर पार्टी (पिपी) जसले पहिल्यै भोक्ससँग क्षेत्रीय र स्थानीय सरकारको गठबन्धन बनाएको छ । सो पार्टीले सत्तामा बहुमत स्थापना गर्न समर्थन खोजिरहेको छ । केही साताअघि एक्स्ट्रेमाडुरामा पिपीका नेता मारिया गार्डियोलाले ‘उग्र–मर्दानगी हिंसालाई अस्वीकार गर्दै आप्रवासीको अमानवीकरण गर्ने र लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायलाई उपेक्षा गर्ने पार्टीसँग नजोडिने वाचा गरेकी थिइन् । यद्यपि उनले पछि आफ्नो अडान उल्ट्याइन् र सत्तामा पुग्न भोक्ससँग सम्झौता गर्नुको विकल्प नभएको बताइन् ।

यदि दक्षिणपन्थी पार्टीले सान्चेजको पार्टीलाई उछिन्छ भने करिब ५० वर्षदेखि नरुचाइएको नवफासीवादी पार्टीलाई वैधानिकता मिल्नेछ । भोक्स, जसलाई कुनैवेला किनाराकृत समूहका रूपमा हेरिएको त्यो स्पेनी क्याबिनेट पुग्दा त्यसले राजनीतिक भूकम्प निम्त्याउनेछ । जसका तरंग महाद्वीपमा पनि झल्किनेछ किनभने स्पेनले युरोपियन युनियनको अध्यक्षता गर्न गइरहेको छ ।

भोक्सको उदयले युरोपभर फैलिरहेका उग्र–दक्षिणपन्थी पार्टीलाई हौसला दिनेछ । जर्मनीको उग्र–दक्षिणपन्थी एएफडीले २० प्रतिशतभन्दा बढी राष्ट्रिय समर्थन प्राप्त गरेको छ र आफ्नो पहिलो स्थानीय चुनाव पनि सीधै जितेको छ । फिनल्यान्डमा उग्र–दक्षिणपन्थी फिन्स पार्टीले नवगठित दक्षिणपन्थी सरकारमा सात मन्त्रालय पाएको छ । अस्ट्रियाको उग्र–दक्षिणपन्थी फ्रिडम पार्टी आगामी चुनावपछि सत्तामा उक्लिन तम्तयार देखिन्छ । यता इटलीमा पहिले नै उग्र–दक्षिणपन्थी शक्ति फ्रेटेली डी’इटालिया सत्तामा छ । फ्रान्सेली सडकको हिंसा अन्त्य गर्न र न्याय–व्यवस्था कायम राख्ने वाचा गर्दै ‘पुनः नियन्त्रण गरौँ’को नारा उछालेकी मेरिन ले पेन सत्तामा पुग्न खोजिरहेकी छैनन् भनेर कसले भन्न सक्छ ? 

जुलाई २०२१ देखि युरोपका उग्र दक्षिणपन्थी पार्टीले एक असम्भव गठबन्धन बनाएका छन्, जसमध्ये १६ वटा दलले युरोपियन युनियनको विरोध गर्ने घोषणामा हस्ताक्षर गरेका छन् । अन्तर्राष्ट्रियताको विरोधी यो अनौठो अन्तर्राष्ट्रिय गठबन्धनले राष्ट्रका मूल निवासीलाई आप्रवासीको खतरा रहेको डरलाई बढावा दिँदै छन् । राष्ट्रवाद, परम्परा र आणविक शक्ति भनेको युरोपेली राष्ट्र र संस्कृतिलाई ध्वस्त पार्न खोज्ने विश्वव्यापी प्रभावविरुद्ध युरोपको रक्षा कवचका रूपमा काम गर्छ भनेर यो गठबन्धन सर्वसम्मतिले विश्वास गर्छ ।

यदि मध्यपन्थी र प्रगतिशील पार्टीले विश्वव्यापीकरणसँगको वर्तमान असन्तुष्टिलाई अस्थायी मुद्दाका रूपमा खारेज गरिरहने हो भने यी संस्कृति योद्धाले जनताको परिवर्तनको चाहनाको शोषण गर्नेछन् । यिनले मानव अधिकार र अन्तर्राष्ट्रिय सहयोगमा हालैका प्रगति उल्ट्याउने मात्र नभई युरोपेली हरित एजेन्डालाई पनि कमजोर बनाउनेछन् ।

वास्तवमा ओर्बानले स्विकारेझैँ दक्षिणपन्थी समूह संस्कृति युद्धमा लाग्नुको कारण नव–उदारवादी विश्वव्यापीकरणको असफलता हो, जसले अहिलेको अप्रत्यासित संसारमा श्रमजीवीलाई सुरक्षाबाट वञ्चित गरेको छ । घट्दो जीवनस्तर र बढ्दो प्रदूषणजस्ता विभिन्न संकटको उपस्थितिले असफल यथास्थिति फर्कनु व्यावहारिक देखिँदैन । जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्दै युरोपभरि सकारात्मक र प्रगतिशील सामाजिक एवं आर्थिक नीति एजेन्डा प्रवद्र्धन गर्नु महŒवपूर्ण छ । प्रधानमन्त्री सान्चेज यी एजेन्डाका बलिया पैरवीकर्ता हुन् र यसलाई अटल दृढतासाथ पछ्याउनुपर्छ । हामीले यसवेला जर्ज ओर्वेलका भनाइ पनि सम्झनुपर्छ । जहाँ उनले नैतिक प्रयासबाट मात्र हामी विभेदकारी राष्ट्रवादलाई जित्न सक्छौँ भनेका थिए । 

(बेलायतका पूर्वप्रधानमन्त्री रहेका ब्राउन हाल विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघका दूत हुन्) 
द गार्डियनबाट

ad
ad
ad
ad