मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक १६ मंगलबार o९:१६:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सबैलाई तत्काल कोभिड– १९ को खोप पुर्‍याऊ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार o९:१६:oo

विश्वले महामारीबाट पार पाउने हो भने न्यूनतम ७० प्रतिशत जनसंख्यालाई खोप लगाउनुपर्नेछ


हालसम्म विश्वभर कोभिड–१९ विरुद्धको ६ अर्ब डोज खोप लगाइसकिएको छ । तर, तीमध्ये ७० प्रतिशत डोज केही धनी देशमा मात्र वितरण भएको छ । न्यून आय भएका मुलुकका जम्मा २ प्रतिशत जनताले मात्र कोभिड–१९ विरुद्धको खोप पाएका छन् । महामारी अन्त्य गराउन खोपको महत्‍वपूर्ण भूमिका हुन्छ, तर त्यसका लागि खोप सबैको पहुँचमा पुग्नुपर्छ । विश्व यदि कोभिड–१९ को जोखिमबाट मुक्त हुने हो भने सबै देशले एकअर्कासँग समन्वय गर्नुपर्छ । अन्यथा, विश्वको कुनै भागमा भाइरसले बितण्डा मच्चाइरहँदा अन्यत्रका कोही पनि सुरक्षित हुनेछैनन् । 

यथार्थ के हो भने खोपमा कायम असमानता अन्त्य गर्न सकिन्छ । यसमा जी–२० का सम्पन्न अर्थतन्त्रले उठाउने उच्चस्तरीय कदमले महत्‍वपूर्ण भूमिका खेल्छ । आजकै दिनमा धनी मुलुकमा प्रयोग नभई थुप्रो लागेको कोभिड–१९ विरुद्धको खोपको परिणाम उल्लेख्य छ । आगामी दिनमा यो थुप्रोको आकार बढि नै रहनेछ । तिनले हिजो चाहिनेभन्दा बढी डोज माग गरेकाले यो अवस्था आएको हो । तर, उता यही समयमा अफ्रिका महादेशको ५ प्रतिशत जनसंख्याले मात्र खोप पाएका छन् । एसिया र ल्याटिन अमेरिकाका केही देशको खोप दर पनि लगभग अफ्रिकासँग मिल्दोजुल्दो छ । 

महामारीबाट पार पाउनका लागि न्यूनतम विश्वको ७० प्रतिशत जनसंख्यालाई खोप लगाउनुपर्ने भनिएको छ । केही सम्पन्न मुलुकमा यो स्तर हासिल भइसकेको छ, तर बाँकी विश्वलाई त्यो स्तरमा पुग्न अझै पाँच अर्ब डोज आवश्यक छ । विश्वले त्यो लक्ष्य हासिल गर्न सक्छ, तर त्यसका लागि उच्च आययुक्त मुलुकले आफूसँग रहेका अतिरिक्त डोजलाई बाँड्न तयार हुनुपर्छ । यसबाहेक तल उल्लेख भएका केही योजनालाई अगाडि बढाएमा विपन्न मुलुकमा तत्काल राहत हुने थियो । 

पहिले त अध्ययनका अनुसार अमेरिका, युरोपेली संघ, बेलायत र क्यानडामा मात्रै यो महिनाको अन्त्यसम्म २४ करोड प्रयोगहीन खोप थुप्रिनेछ । जी–७ मुलुकले सहमति जनाएको र जी–२० का सदस्य मुलुकले समर्थन गरेको ठोस योजनाअनुसार ती मुलुकका सेनाले यी डोज खोपलाई हवाईमार्गबाट तत्कालै सबैभन्दा खाँचो परेको मुलुकमा पु¥याउन सक्छन् । पुनः जोड दिऊँ कि यहाँ प्रयोग नभएका डोजको कुरा हुँदै छ । यसलाई विगतमा सम्पन्न मुलुकले अनुदानमा दिने भनेर सहमति गरेको डोजबाट अलग रूपमा हेर्नुपर्छ । दोस्रो, नोभेम्बर महिनाको अन्त्यसम्मा अर्को २१.२ करोड खोप पुनः धनी मुलुकबाट विपन्न मुलुकमा स्थानान्तरण गर्न सकिन्छ । 

तेस्रो, डिसेम्बरमा थप १५ करोड डोज, त्यसपछि जनवरीमा अर्को २८ करोड खोप र फेब्रुअरीमा २४.५ करोड खोप हवाईमार्गबाट दिन सकिन्छ । यसो गर्न सकियो भने आगामी चार महिनाको समयमा कुल १.१ अर्ब खोपको डोज वितरण सम्भव हुनेछ । यी डोजले अफ्रिका र अन्य भेगका अति न्यून आय भएका देशलाई ठूलो राहत पुग्नेछ । साथै, तिनले सन् २०२१ को अन्त्यसम्म जनसंख्याको ४० प्रतिशत खोप लगाउने लक्ष्य भेट्न सक्छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको यो लक्ष्य अहिलेको अवस्थामा हासिल हुन सम्भव देखिँदैन ।

चौथो, विश्व बैंकले उससँग उपलब्ध अतिरिक्त वित्तलाई तत्काल न्यून आययुक्त मुलुकको खोप वितरण क्षमता वृद्धि गर्न प्रयोग गर्नुपर्छ । क्षमता अभिवृद्धि कार्ययोजना ती मुलुकको सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण भेगमा पनि सञ्चालन गर्नुपर्छ । यी सम्पूर्ण बुँदामा सहमति भयो भने विश्वले डब्लुएचओले तोकेको लक्ष्यअनुरूप नै सन् २०२२ को वसन्तसम्म विश्वभरका ७० प्रतिशत वयस्क जनसंख्यालाई खोप लगाउन सम्भव हुन्छ । 

 विश्वका सबैभन्दा धनी देशमा कोरोनाविरुद्धको करोडौँ डोज खोप प्रयोग नभई थुप्रेर बसेको छ भने अफ्रिकाका ५ प्रतिशत जनसंख्याले मात्र पूर्ण रूपमा खोप लगाएका छन् । यो असमानता नहटाउने हो भने विश्वको कुनै भाग पनि कोरोनाबाट पूर्ण सुरक्षित हुनेछैन ।

यहाँ सुझाइए झैँ तत्कालै खोपको पुनर्वितरण गरिएन भने यो वर्षको अन्त्यसम्म १० करोड खोपको मिति गुज्रिनेछ । तत्कालै कदम चालिएन भने सन् २०२२ को जनवरीको अन्त्यसम्ममा त्यो संख्या २० करोड पुग्नेछ । मिति सकिएका खोपका डोजहरू फोहोरमा फालिन्छन् । प्रतिदिन १० हजार मानिस कोभिड–१९ का कारण मरिरहेको वेलामा खोपलाई प्रयोग नगरी फोहोरको डंगुरमा फाल्नु चरम अनैतिक काम हुनेछ । खोप दिइएको अवस्थामा उल्लेख्य संख्यामा मृत्यु घटाउन सकिने कुरामा हामीले ध्यान दिनुपर्छ । बेलायतमा सम्पन्न एक सर्वेक्षणबाट उपलब्ध सूचनाअनुसार १० करोडभन्दा कम खोप वितरण गर्दा एक लाख २० हजार जीवन बच्छ । 

विश्वका केही भूभागमा कोभिड–१९ को नयाँ लहर चलिरहेको सन्दर्भमा ठूलो संख्यामा मानिसहरू मृत्युको जोखिममा छन् । त्यहाँ तीव्र खोप अभियान सञ्चालन गर्ने हो भने यो जोखिमलाई उल्लेख्य कम गर्न सकिन्छ । अफ्रिका भर्खरै लामो र कठोर तेस्रो लहरबाट तंग्रिरहेको छ । अगस्टबाट सुरु भएको यस लहरमा झन्डै ८० हजार मानिसको ज्यान गयो । दुर्भाग्यवश ! ज्यान जाने दर घट्नुको सट्टा बढिरहेको छ । हरेक नयाँ लहर विगतको भन्दा प्राणघातक देखिन्छ । 

धेरै विज्ञहरू चाँडै खोप नदिने हो भने अफ्रिकामा आउने चौथो लहर थप प्राणघातक हुनेमा चिन्तित छन् । खोप असमानता हामी सबैका लागि चुनौती हो । आगो आधा मात्रै निभ्दैन । विश्वको सबै देश महामारीबाट सुरक्षित नभएसम्म पश्चिम पनि सुरक्षित हुनेछैन । तीव्र गतिमा खोप वितरण गरिएन भने चाँडै फैलिने भाइरसको भेरियन्टले पहिले त खोप नलगाएको क्षेत्रलाई प्रभावित बनाउनेछ । त्यसपछि यसले पूर्ण खोप लगाएका क्षेत्रलाई पनि अछुतो छाड्नेछैन, जसले हालसम्मको खोपमा भएको प्रगतिमै असर पर्नेछ । 

तथ्यांकअनुसार मृत्युको सम्भावना गरिबी बढेसँगै बढ्छ । न्यून आययुक्त मुलुकमा खोप वितरण असफल भएमा विश्वलाई ५३ खर्ब डलरको क्षति हुने प्रक्षेपण छ । यसको ठूलो हिस्सा तिनै न्यून आययुक्त मुलुकले नै व्यहोर्नुपर्नेछ । खोपमाथिको सहज पहुँच नहुँदा तिनको अर्थतन्त्र सुचारु हुन सक्दैन । यो कुरामा विश्वले, त्यसमा पनि विशेषतः सम्पन्न मुलुकका सरकारले ध्यान दिनुपर्छ । (बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले जी–२० सम्मेलनअघि सम्मेलनको आयोजक मुलुक इटालीका प्रधानमन्त्री मारियो ड्रागीलाई सम्बोधन गरेर लेखेका यो आलेखलाई दर्जनौँ प्रतिष्ठित संघसंस्थालगायत व्यक्तित्वले हस्ताक्षर गरेर समर्थन गरेका छन्)