मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
कमल खत्री म्याग्दी
२०८० असार ३० शनिबार १४:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले विद्युतगृह बगाउँदा चार सय घर अन्धकारमा

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०८० असार ३० शनिबार १४:१४:००

बाढीले लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएपछि म्याग्दीको दुर्गम बस्ती लुलाङ अन्धकार बनेको छ। 

जिल्लाको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले क्षति भएपछि गाउँका करिब चार सय घरधुरी अन्धकार बनेका हुन्।
 
बिहीबार बिहान करिब १० बजे मरेनीस्थित विद्युतगृहदेखि माथिको भिरबाट खसेको पहिरोले विद्युतगृहमा पूर्ण रुपमा क्षति भएको वडा अध्यक्ष अकप्रसाद विकले जानकारी दिए। उनका अनुसार, विद्युतगृहको महत्वपूर्ण उपकरणहरु पहिरोले पुरिएर क्षति भएको छ। 

विद्युत आपूर्ति बन्द भएपछि सिंगा वडा नम्बर २ विद्युत सुविधाबाट बञ्चित भएका छन्। विद्युत नहुँदा गाउँमा रातमा बत्ति बाल्नको साथै मोबाइल चार्ज गर्न र घरेलु उद्योग सञ्चालन गर्न समेत पूर्ण रुपमा बन्द भएको स्थानीय युवा भक्त सिंकिजा पुनले बताए।

दुईवर्ष अघि बाढीले परियोजनाको नहर, बाँध र विद्युतगृह बगाएपछि गत वर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युतगृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याईएको थियो।

लाखौँ खर्च गरेर मर्मत गरि सञ्चालनमा ल्याएको परियोजनाको विद्युतगृह नै एक बर्षमा नै पुनः पहिरोले क्षति पुर्याएपछि स्थानीयबासीले परियोजनाको मर्मत सुधारसँगै केन्द्रिय विद्युतिकरणको पहुँच विस्तारमा ध्यान दिन माग गरेका छन्। 

परियोजना पुननिर्मााण गर्न दुई वर्षअघि गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख गरी कुल रु २२ लाख लगानीमा परियोजना पुननिर्माण गरिएको थियो। 

२०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको रु ८५ लाख ९७ हजार,जनश्रमदान रु ३३ लाख, गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त रु ५ लाख ३ हजार गरी एक करोड ७४ लाख लागतमा परियोजना निर्माण गरिएको थियो।

यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरेर पुननिर्माण गरिएको थियो।