१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Saturday, 06 July, 2024
कमलराज भट्ट काठमाडाैं
२o८o असार २५ सोमबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सिंहदरबारमा भएको सहमति बानेश्वर पुग्दा भाँडियो

पाँच दिनदेखि संघीय संसद् अवरुद्ध हुँदा राष्ट्रिय सभामा बजेटमाथिको छलफल रोकियो, प्रतिनिधिसभामा विचाराधीन मिटरब्याजीसम्बन्धी विधेयक पनि अगाडि बढ्न सकेन

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २५ सोमबार o८:o९:oo

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गत बुधबारदेखि अवरुद्ध संसद् खुलाउने शीर्ष तहको प्रयास असफल भएको छ । पाँच दिनदेखि कायम गतिरोध हटाउन आइतबार बिहान शीर्ष नेताबीच भएको समझदारी केहीछिनमै भत्किएपछि दुवै सदन प्रभावित भए । 

छलफलमा प्रधानमन्त्रीले विवादित अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्ने र सदन सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेन । सहमति खोज्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । 

सिंहदरबारमा ‘प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने र सदनको कारबाही अगाडि बढाउने’ भएको सहमति एमालेको थप सर्तबाट भाँडिएको स्रोत बताउँछ । एमालेको अवरोधका कारण राष्ट्रिय सभा स्थगित भएकोमा सहमति भाँडिँदा आइतबार १ बजेबाट ३ बजेलाई सारिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सोमबार ३ बजेसम्मका लागि स्थगित गरिएको छ । 

सिंहदरबार वार्तामा अभिव्यक्ति सच्याउन प्रधानमन्त्रीलाई बोल्न दिने सहमति गरेर निस्केका विपक्षी दलका नेता ओलीले एमालेलाई आक्षेप लगाएर प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस नोट र गृहमन्त्री नारायणकाजी श्रेष्ठको ट्विट धारणाबारे पनि स्पष्ट पार्नुपर्ने अडान राखेपछि सहमति भाँडिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘शीर्ष तहमा सहमति गरेर विपक्षी दलको नेता पछि हट्नुभयो । २१ असारमा प्रधानमन्त्री कार्यालयबाट जारी भएको प्रेस नोट फिर्ता लिनुपर्छ भनेपछि कुरा मिलेन,’ उनले भने । 

सिंहदरबारबाट निस्किएर बानेश्वरतिर लाग्दा ओलीसँगै गाडीमा सवार एमाले सांसद सुनिता बरालका अनुसार विपक्षी दलका नेता ओलीले प्रेस नोटको विषयमा असन्तुष्टि जनाउँदै स्पष्ट पार्न आग्रह गरेका थिए । ओलीले फोन गरेर ‘तपाईंको कार्यालयबाट निकालिएको वक्तव्यमा भ्रष्टाचार निरूपणमा प्रतिपक्षीले अवरोध गर्‍यो, मिटरब्याजीको कानुन बनाउने वेलामा प्रतिपक्षीले भाँजो हाल्यो भन्ने आशयको जो विषय छ, कि त त्यो प्रमाणित गर्नुस्, जो दोषी छ कारबाही गर्नुस्, दोषीले कारबाही भोग्नुपर्छ भन्नेमा एमाले स्पष्ट छ । होइन भने तपाईंले त्यो कुरा सच्याउनुपर्‍यो’ भनेका थिए । 

जवाफमा प्रधानमन्त्रीले ‘मेरो टिमबाट वक्तव्य निकालिएको छैन’ भनेर अनभिज्ञता प्रकट गरेको र ओलीले मिति र हस्ताक्षर गर्ने व्यक्तिको नामसहित प्रेस नोटबारे उल्लेख गरेपछि प्रचण्डले ‘म हेर्छु के रहेछ’ भनेका थिए । ओलीले यो विषय पनि स्पष्ट नपारी अगाडि बढ्न नसकिने जवाफ दिएका थिए । आफ्नै सचिवालयको पत्रको विषयमा विपक्षीसँग असमझदारी भएपछि प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई जानकारी गराएका थिए । त्यसपछि सभामुख घिमिरेले सूचना टाँस गरेर सोमबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले स्पष्ट पारेपछि पनि सदन सञ्चालन नहुने भएपछि बैठक सारिएको बताए । ‘पहिला सहमति भयो । पछि विपक्षी दलका नेताले प्रधानमन्त्रीको प्रेस सल्लाहकारले दोष लगाएर विज्ञप्ति निकालेको र गृहमन्त्रीले मिटरब्याजमा दोष लगाएको भन्दै यसरी सहमति हुँदैन भन्नुभयो,’ लेखकले भने, ‘यस्तोमा उहाँहरूले प्रधानमन्त्रीले बोलिसकेपछि पनि हाउस अवरुद्ध गर्ने देखियो । पूर्ण सहमति नगरी हाउस चलाउने अवस्था रहेन । अब हाउस सुरु हुने पूर्ण सुनिश्चितताका साथ सहमति गरेर अगाडि बढ्छौँ ।’

एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार प्रधानमन्त्रीले आफूले बोलेको अभिव्यक्तिप्रति आत्मालोचना गरेर सच्याउने प्रतिबद्धता जनाएपछि सदन खोल्ने सहमति भएको थियो । तर, एमालेप्रति भ्रम सिर्जना गर्ने आफ्नो सचिवालयको वक्तव्यको विषयमा प्रधानमन्त्रीले स्पष्ट गर्न आनाकानी गरेपछि सहमति भत्किएको र प्रधानमन्त्रीले सदनको बैठक सारेको गिरीको दाबी छ ।  विपक्षी दलका नेता ओलीले पनि आफूहरूलाई लगाइएको गम्भीर आरोप कायम राखेर सहमति गर्न नसकिने बताए । संसद् भवनमा सञ्चारकर्मी भने, ‘उहाँले हामीमाथि गम्भीर आरोप लगाउनुभएको छ । त्यो फिर्ता लिनुभएको छैन । त्यो गम्भीर आरोप कायम राखेर हामीले सहमति गर्ने कुरा भएन ।’

ad
ad
ad
ad