१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १८ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १८ सोमबार १o:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डरको भाव नियन्त्रण गर्ने उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १८ सोमबार १o:३९:oo

डर स्वाभाविक हो । तर, निरन्तर डराइरहँदा जीवन प्रभावित हुन्छ । हामी जन्मँदै डरको प्रक्रिया सुरु हुन्छ । कुनै खतरा देखेपछि डरको भाव उत्पन्न हुनु स्वाभाविक हो । सबैमा डर, पीर, शंका, दुःख, सुख, करुणामयी भाव हुनुपर्छ । तर, डर नियन्त्रणबाहिर गएर एन्जाइटी वा मानसिक समस्यामा परिणत भयो भने हाम्रो जीवन बिग्रन थाल्छ । अत्यधिक डरले निद्रा लाग्दैन, निरन्तरको अनिद्राले डर बढाउने काम गर्छ । 
लक्षण 
जब डर, दिग्दारीपन वा आफ्ना भावना नियन्त्रणमा रहँदैनन्, तब अनावश्यक वा स–साना कुरामा पनि डर लाग्न थाल्छ । एन्जाइटी अथवा अन्य समस्या भइसकेपछि मनमा आएका भावना र संवेगहरू महसुस गर्ने पक्ष कन्ट्रोलमा हुँदैन । अत्यधिक चिन्ता, अत्यधिक रिसाउने, अत्यधिक डराउनेलगायत अनियन्त्रित भावना हाबी हुन्छ । 

डरका केही प्रकार 
जिएसडी : जर्नलाइज्ड एन्जाइटी डिसअर्डर (सामान्यीकृत दुष्चिन्ता विकार) भएकाहरू धेरै कुरामा डराउँछन् । छोराछोरीको कुरामा पनि डर, पसलको पनि पीर, आफ्नो पनि पीर, पीरैपीर हुन्छ । फोन उठाउँदा पनि पीर मान्छन् । उनीहरूको मनमा सधैँ डर मात्रै हुन्छ । 

पेनिक डिसअर्डर : यस समस्याबाट ग्रस्त भएका मानिसमा लगातार र अनपेक्षित रूपमा दुखाइ महसुस हुन्छ । ब्रेन ह्याम्ब्रेज हुन्छ, हृदयाघात हुन्छ, सास रोकिन्छ कि भनेर डराउँछन् । मरिन्छ कि भनेर चिन्ता गर्छन्, तर चिन्ताको कारण थाहा हुँदैन । 

पिटिएसडी : यो कुनै घटना, परिघटना वा दुर्घटनापछि लाग्ने डर हो । भूकम्प, कोभिड महामारी, आतंकवादी हमला, बलात्कारजन्य घटना वा कुनै चोटका कारण मानिसमा यस्तो डरको भावना पैदा भएको हुन सक्छ । 

सोसल एन्जाइटी डिसअर्डर :  यस्तो समस्या हुँदा सामाजिक गतिविधिमा रमाउन सकिन्न । अरूले आफूलाई नियालिरहेका छन् कि भन्ने डर लाग्छ । काम, स्कुल वा दैनिक गतिविधिलाई यसले असर गरिरहेको हुन्छ । यस्तो समस्याबाट ग्रस्त भएकाहरूलाई साथीभाइ बनाउन र जोगाउन गाह्रो हुन्छ । 

कुनै खतरा देखेपछि डरको भाव उत्पन्न हुनु स्वाभाविक हो । तर, डर नियन्त्रणबाहिर गएर एन्जाइटी वा मानसिक समस्यामा परिणत भयो भने हाम्रो जीवन बिग्रन थाल्छ ।

समाधान 
डर जन्मजात भावना हो । बिस्तारै घटना, परिघटना, दुर्घटनाअनुसार डरको विकास हुँदै जान्छ । मृत्यु, सम्बन्ध, षड्यन्त्रजस्ता जीवनमा आइपर्ने घटनाक्रमले डरको भावना पैदा हुन्छ । स्वस्थकर डरले केही समय र अस्वस्थकर डरले लामो समयसम्म सताउन सक्छ । डरको मात्रा, बारम्बारता र अवधि बढ्यो भने समस्या समाधानको उपाय खोज्नुपर्छ । 

पहिले आफूभित्र डर छ भन्ने स्विकार्नुपर्छ । के कुराले डराइरहेको छु भनेर पहिचान गर्नुपर्छ । डर स्वस्थकर छ कि अस्वस्थकर भनेर बुझ्नुपर्छ । स्वस्थ्यकर डर सबैमा हुन्छ र हुन जरुरी छ । अस्वस्थकर भए यसको ‘क्राइटेरिया’ पहिल्याउनुपर्र्छ । यसलाई म्यानेज गर्नका लागि सोच परिवर्तन गर्नुपर्छ । समस्या बढ्दै गएमा मनोविद् तथा मनोचिकित्सकसँग परामर्श लिई स्वास्थ्योपचार गराउनुपर्छ । 

पीडितले डर पहिल्याएर फेस गर्न सक्छु भन्ने भावना विकास गर्नुपर्छ । यसमा परिवार र साथीभाइको भूमिका महत्वपूर्ण हुन्छ । डरको भावना भएकाहरूलाई यो समस्या सामान्य हो भनेर बुझाउने प्रयास गर्नुपर्छ । डर सबैलाई हुन्छ । तिमीलाई विशेष प्रकारको भएको छ । त्यसलाई निस्तेज गर्न सफल हुन्छौ भनेर ढाडस दिनुपर्छ । पीडितले पनि मेरो परिवार सहयोगी छ, मलाई केही हुँदैन भनेर सोच्नुपर्छ । 

खानपानमा ख्याल गर्नुपर्छ । विशेषगरी, ग्यास्ट्रिक हुने खानेकुरा, फास्टफुड, जंकफुड खानुहुँदैन । स्वस्थ खानेकुरा मात्रै खानुपर्छ । व्यायाम र योगाले पनि डरलाई म्यानेज गर्न सहयोगी भूमिका खेल्छ । 

डरका कारण खेल खेल्ने, साथीभाइसँग घुम्न जाने, संगीत सुन्नेलगायत रमाइला गतिविधिमा रुचि नहुन पनि सक्छ । अहिले भएकाले यी काम गर्न सकेको छैन, डर हटेपछि सबै काम गर्न सक्छु भनेर आफैँलाई आशावादी राख्ने तथा ढाडस दिने गर्नुपर्छ । 

ad
ad
ad
ad