
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन्। सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्तिभन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पारे। उनले वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबीसमेत गरे। उनले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गरे।
उनले भने, ‘प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र मेरी आमाले दिएको जुन अर्ति हो, त्योभन्दा बाहिर जाँदिनँ। ३६ हजार एक सय प्रतिनिधिले काठमाडौं सफा गर्ने हो भने ३ घण्टामा सकिन्छ, गरेर देखाऊँ न। यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ। यो सरकार यसकारणले ढल्दैन कि ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन् संकटमा पर्छ। सहमतिअनुसार फुलफेजमा यो सरकार चल्छ। अहिले चौतर्फी संकट छ, संकटको सुधार पनि भइरहेको छ। समस्या र समाधान दुवै छ भन्ने सरकारलाई थाहा छ।’
मन्त्री किराँतीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढिरहेको बताए।