१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढीको पहिलो प्राथमिकतामा कृषि र पर्यटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१८:oo

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि रु. ९८ करोड ६ लाख ५७ हजारबराबरको नीति, कार्यक्रम तथा बजेट पेस गरेको छ।

‘नगर हाम्रो प्राण, नगरमै छ जिन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गरिएको नीति, कार्यक्रम तथा बजेट शनिबार पेस गरिएको हो। 

‘उत्पादनमा कृषकको हात, कोही पनि नबसौँ खाली हात’ भन्ने नाराका साथ नगर प्रमुख तीर्थराज भट्टराईले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। ‘मेरो नगर, म आफैँ बनाउँछु’ नारा दिइएको नीति तथा कार्यक्रममा स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर गाउँ निर्माण गर्ने लक्ष्य राखिएको छ। 

नगरवासीको आर्थिक तथा सामाजिक विकास प्रवर्द्धनका लागि ‘नगर प्रमुखसँग नागरिक कार्यक्रम’ ल्याइने जनाइएको छ। रैथाने बाली प्रवर्द्धन, उन्नत खाद्यान्न बालीको बिउमा उपयोगमा अनुदान, कृत्रिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, दूधमा आत्मनिर्भर हुन गाईभैँसी प्रवर्द्धनलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको छ।

‘सुशासनयुक्त र भ्रष्टाचारमुक्त’ नगर बनाउने योजनासहित निर्माण गरिएको नगरपालिकाको आन्तरिक आय रु. एक करोड ८० लाख रहने अनुमान गरिएको नगर उपप्रमुख विशन राईले पेस गरेको बजेटमा उल्लेख छ। 

स्थानीय गौरवका आयोजनालाई निरन्तरता दिँदै नगरभित्र निर्माण गरिएका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने गरी बजेटको व्यवस्था गरिएको उपप्रमुख राईले बताए।  

संघीय सरकारबाट रु. १३ करोड २४ लाख २९ हजार र प्रदेश सरकारबाट रु. एक करोड ९५ लाख ७८ हजार राजस्व प्राप्त हुने अनुमान गरिएको छ। कृषि तथा पशुपालनतर्फ फलफूल प्रशोधन केन्द्र निर्माणका लागि रु. एक करोड र कृषि बजार निर्माणका लागि रु. ५० लाख बजेट विनियोजन गरिएको छ। 

किराँत ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’को रूपमा विकास गर्नसमेत बजेट व्यवस्था गरिएको नगर उपप्रमुख राईले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ। वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिका लागि पुनः एकीकरण परियोजनाका लागि रु. ४८ लाख बजेट विनियोजन गरिएको जनाइएको छ। 

पर्यटन पूर्वाधारमा कालिका भगवती भन्दिर तथा मझुवागढीको सौन्दर्यकरणका लागि रु. एक करोड ५३ लाख ८४, बुइपामा निर्माणाधीन विश्वकै अग्लो यलम्बरको मूर्ति निर्माणलाई निरन्तरताका लागि रु. दुई करोड १० लाख बजेट विनियोजन भएको छ। 

नेर्पामा निर्माणाधीन साकेला भिलेजपार्क (गाउँले उद्यान) निर्माणका लागि रु. ४६ लाख १६ हजार, नुनथलाको खाम्लामा निर्माणाधीन हँतोलुङ सांस्कृतिक पार्क निर्माणका लागि रु. ८० लाख बजेट विनियोजन भएको छ। 

दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानलाई ‘दिक्तेल रंगशाला’को रूपमा विकास गर्न रु. एक करोड ४९ लाखलगायतका अन्य योजनामा बजेट विनियोजन भएको छ। नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु. सात कराेड बजेट विनियोजन गरिएको जनाइएको छ। 

चालू आर्थिक वर्षमा नगर प्रहरी भर्नाका लागिसमेत बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा जनाइएको छ। आर्थिक वर्ष ०७९/८० मा खर्च नभई बचत हुने अल्या रकम रु. सात करोड १५ लाख ३८ हजार हुने अनुमान छ। 


 

ad
ad