गर्मीमा मानिसहरू ज्यादा फेसनेबल रहन रुचाउँछन् । अझ विशेषगरी किशोरी÷युवतीहरूको रहनसहनमा त मौसमले झनै परिवर्तन ल्याइदिन्छ । सकेसम्म हलुका र ‘कुल’ ड्रेसअप गर्न आवश्यक हुन्छ । ‘फेसनेबल’ बन्ने नाममा शरीरलाई असर पर्ने खालका पहिरन लगाउनुहुँदैन ।
यस्तो रङ छनोट गर्ने
गर्मीमा धेरै पसिना आउने हुन्छ । त्यसैले पोलिस्टरको कपडा लगाउनुहुँदैन । यसो गर्दा पसिनाको दुष्प्रभावबाट केही हदसम्म बच्न सकिन्छ । बरु, सुतीको कपडा लगाए उत्तम हुन्छ । ‘स्टाइलिस’ देखिने नाममा टाइट कपडा लगाउनुहुँदैन । यतिवेला खुला पहिरन लगाउँदा सजिलो हुनुका साथै गर्मीबाट समेत बच्न सघाउ पुग्छ ।
गर्मी मौसममा रंगीन कपडा लगाउनुहुँदैन । एकदमै रातो र कालो रङको कपडाले झनै बढी गर्मी हुन्छ । सेतो, हलुका निलो, पिंक (हलुका रङको) कपडाले ‘कुल’ देखाउन मद्दत गर्छ ।
घाममा हिँड्दा छाला डढ्ने भएकाले लामो बाहुला भएका हलुका लुगा लगाउनु ठीक हुन्छ । यस्ता लुगाले ‘ट्रेन्डी’समेत देखिन्छ । महिलाले स्कुटर चलाउँदा फुल स्लिप कपडा लगाउनु राम्रो हुन्छ । गर्मी मौसममा पर्याप्त पानी पिउनुपर्छ, जसले छालामा पनि चमक ल्याउन सहयोग गर्छ ।
गर्मी मौसममा पहिरनसँगै हेयर स्टाइलले निकै महत्व राख्छ । यो मौसममा लामो कपाल पाल्दा झन्झटिलो हुन सक्छ । लामो समयसम्म बाँधेर हिँड्नुपर्ने भएकाले टुक्रिने डर हुन्छ । त्यसैले लामो कपाल हुनेले बाहिर हिँड्दा हलुकासँग बाँध्ने र घरमा रहँदा खुलै छाड्ने गर्दा राम्रो हुन्छ, जसले आकर्षक लुक्स पनि दिन्छ ।