१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २० बिहीबार १५:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मेलम्ची खानेपानी आयोजनालाई भवितव्य बजेट छुट्याउँछु : प्रधानमन्त्री प्रचण्ड

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५३:oo

स्थलमार्ग हुँदै हेलम्बु पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाका लागि भवितव्य बजेट छुट्याउने बताएका छन्।

मुहानस्थल अम्बाथाङ पुगेर आयोजनाको क्षतिग्रस्त इन्टेक निरीक्षणपछि प्रचण्डले राजधानीवासीको खानेपानीको समस्या समाधान गर्ने स्रोत व्यवस्थापन सरकारको प्रमुख दायित्व भएको प्रस्ट्याए। १ असार ०७८ मा हेलम्बुको शिर भेमाथाङबाट पहिरोसहित आएको बाढीले मुहानस्थलमा सम्पन्न हुने क्रममा रहेको हेडबक्समा पूर्ण रूपमा क्षति पुगेको थियो। प्रचण्डले आयोजनास्थल पुग्ने सडकका लागि बजेट छुट्याउने वचन दिए। 

त्यसैगरी, आयोजनाको दोस्रो फेज याङ्री लार्केको काम तत्काल सुरु गर्ने सरकारको तयारी रहेको बताए। आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले प्रचण्डलाई बाढीले क्षतिग्रस्त हेडबक्सस्थल, इन्टेक, सुरुङ गेटको अवस्था जानकारी गराए। मुहानस्थल अम्बाथाङवरपर र भेमाथाङसम्म ठूल्ठूला १५ पहिरो रहेकाले जतिबेला पनि सुरुङको गेट बन्द गर्नुपर्ने हुन सक्ने प्रधानमन्त्रीलाई ब्रिफिङ गरे।

इन्जिनियर र प्राविधिकको कुरा सुनेपछि प्रधानमन्त्रीले राजधानी पानी पठाइरहन गर्नुपर्ने सबै विधि पूरा गर्न र बर्खायाममा विपद् व्यवस्थापनको तयारी गर्न निर्देशन दिए। मुहान क्षेत्र अम्बाथाङ भौगोलिक रुपमा उच्च जोखिममा छ। चारैतिरबाट पहिरोले घेरेको र भेमाथाङमा थुप्रिएको ढुंगा, माटो र बालुवा वर्षात्मा जतिबेला पनि बग्न सक्ने अवस्था छ।

हिउँद वर्खा निरन्तर पानी पठाउन एडिबीका प्राविधिक टोलीले निरन्तर काम गरिरहेको छ। हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं पुग्छ।

स्थानीयद्वारा  २५ प्रतिशत लेबी माग
प्रधानमन्त्री दाहाललाई हेलम्बु गाउँपालिकाले विभिन्न १९ बुँदे  माग राखेर ज्ञापनपत्र बुझाएको छ। राजनीतिक दलका नेता, जनप्रतिनिधि र हेलम्बुवासी ग्याल्थुमको चनौटेमा जम्मा भएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र स्थानीय राजनीतिक दलका नेताले मेलम्ची खानेपानी आयोजनाले २५ प्रतिशत लेबी दिनुपर्ने माग राखेका छन्। यसका अलवा बाढीपीडितलाई राहत, सडक, हेलम्बु ग्रेट ट्रेल, खानेपानी प्रभावित स्थानीयको मागसम्बन्धी बुँदा ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले स्थानीय जनताको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

ad
ad