१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गगन अयडी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

छाउगोठ कागजमा मुक्त, व्यवहारमा कायमै : डरैडरमा दिनरात कटाउँछिन् २० वर्षीया सुत्केरी

Read Time : > 1 मिनेट
गगन अयडी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o८:oo

२१ जेठमा घरमै सुत्केरी भएकी बाजुराको बुढीनन्दा नगरपालिका– ४ भवना गाउँकी २० वर्षीया सरिता रोकायालाई घरबाट पाँच मिनेट टाढा रहेको छाउगोठमा राखिएको छ । छाउगोठवरिपरि झाडी र जंगल छ । डरैडरमा उनले रातदिन कटाउनुपरेको छ । 

सुत्केरी हुँदा घरभित्र बसे देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण उनलाई घरबाहिर छाउगोठमा राखिएको हो । त्यति मात्र होइन, पहिलोपटक सुत्केरी भएकी उनलाई स्वास्थ्य संस्थामा सुत्केरी गराई घर ल्याउँदा बाटो छोइने र देउता रिसाउने अन्धविश्वासले सुत्केरीसमेत घरमै गराइएको थियो ।

सरिता प्रतिनिधि पात्र मात्र हुन् । छाउगोठमुक्त घोषणा गरिएको बाजुराको बुढीनन्दा नगरपालिकामा महिलाहरू महिनावारी र सुत्केरी हुँदा अझै पनि छाउगोठमा बस्छन् । देउता रिसाउने अन्धविश्वासका कारण वडा नम्बर ४ का महिलालाई महिनावारी र सुत्केरी भएको समयमा गोठमा राख्ने चलन कायमै छ ।

‘कुरु गाउँको भवना गाउँमा सुत्केरी र महिनावारी भएको महिलाले भूमि छुँदा देउता रिसाउने विश्वास कायम छ । त्यसैले स्वास्थ्य संस्था जाने चाहना हुँदाहुँदै घरमै बच्चा जन्माएँ,’ उनले गुनासो गरिन्, ‘राति बाघ, भालु वा कोही अरू मान्छे नै पो आउँछ  कि भन्ने डर लागिरहन्छ ।’

भवना गाउँका महिला महिनावारी र सुत्केरी भएको अवस्थामा यही घरमा बस्ने गरेका छन् । ‘सुत्केरी हुँदा देउता रिसाउँछन् भन्ने डरले २० दिनसम्म दही, दूध खान पनि पाइँदैन,’ उनले भनिन् । सरिताकी जेठानी शर्मिला रोकायालाई पनि दुई महिनाअघि सुत्केरी हुँदा यसै छाउगोठमा राखिएको थियो । एकातिर देउता रिसाउने डर र अर्कोतिर समाजले मानिआएको पुरानो संस्कार जोगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

स्वास्थ्य केन्द्र जाँदैनन् महिला
कुरु गाउँको भवना टोलबाट ३० मिनेटको पैदल दूरीमा आधारभूत स्वास्थ्य केन्द्र छ । तैपनि महिलाहरू सुत्केरी गराउन आउने नगरेका आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टर इन्चार्ज धर्मा चदाराले बताइन् । स्वास्थ्य केन्द्रमा कार्यरत रहेको नौ महिनासम्म भवना गाउँका कुनै महिला सुत्केरी गराउन आएका छैनन् । स्वास्थ्य केन्द्रमा नियमित गर्भ चेकजाँच गराए पनि सुत्केरी हुन आउँदैनन् । चदराका अनुसार सुत्केरी हुनुअघिसम्म सरिता गर्भवती जाँच गराउन आउने गरेकी थिइन् । ‘बच्चा पाउने समय बितेपछि किन आइनन् भनेर सोध्दै घर पुगेकी थिएँ,’ चदराले सुनाइन्, ‘घरमै बच्चा जन्माएर छाउगोठको छाप्रोमा बसिरहेको पाएँ ।’ 

छाउगोठ राखेको थाहा छैन : नगर उपप्रमुख 
बुढीनन्दा नगरपालिकालाई चार वर्षअघि नै छाउगोठमुक्त घोषणा गरिएको हो । निकै तामझामसहित छाउगोठमुक्त घोषणा कार्यक्रम गरिएको थियो । तर, भवना गाउँका महिला महिनावारी हुँदा वा सुत्केरी हुँदा अझै छाउगोठमा बस्नुपर्ने बाध्यता छ । जनप्रतिनिधि भने यसबारे अनभिज्ञ रहेको बताउँछन् । नगर उपप्रमुख रामबहादुर बोहराले सरितालाई छोउगोठमा राखिएको विषयमा अनभिज्ञता प्रकट गरे । उनले भने, ‘सुत्केरी महिलालाई घरबाहिर राखेको कुरा जानकारी भएन । त्यसो हो भने यो राम्रो कुरा भएन ।’

ad
ad