१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १ शुक्रबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o८o असार १ शुक्रबार o६:o४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोसीमा अल्पमतको सरकारले अध्यादेशमार्फत ल्यायो साढे ३६ अर्बको बजेट 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार o६:o४:oo

प्रत्यक्षलाई दुई र समानुपातिक सांसदलाई एक करोड छुट्याइयो, विपक्षी गठबन्धनको बहिष्कार 

अल्पमतमा परेको कोसी प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०८०/८१ का लागि अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको छ । एमाले–राप्रपा सहभागी सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको सभा हलमा ३६ अर्ब ३४ करोड २४ लाख १० हजारबराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । चालू आवभन्दा ९%ले घटाएर बजेट ल्याइएको छ ।

बजेट प्रस्तुत कार्यक्रममा सत्ताधारी दलका मन्त्री र सांसदहरू उपस्थित भए पनि विपक्षी गठबन्धन दलका सांसदहरू उपस्थित भएनन् । कुल विनियोजित बजेटमा चालू खर्च १४ अर्ब ६२ लाख ६६ हजार र पुँजीगत खर्च १८ अर्ब २३ लाख ५२ हजार छ । चालूतर्फ दुई अर्ब संघीय अनुदान छ ।  

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिक राजस्व चार अर्ब ६८ करोड ७५ लाख ५० हजार संकलन गर्ने अनुमान गरिएको छ । त्यस्तै, राजस्व बाँडफाँटतर्फ ११ अर्ब ६४ करोड ८१ लाख प्राप्त गर्ने उल्लेख छ । यसैगरी, संघबाट वित्तीय समानीकरण अनुदानमार्फत आठ अर्ब ७८ करोड ३८ लाख, ससर्त अनुदान पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदान ७३ करोड र विशेष अनुदान ७६ करोड प्राप्त गर्ने बताइएको छ । 

बजेटका मुख्य प्राथमिकता 
इ–हाजिरीका आधारमा कर्मचारीलाई दैनिक दुई सय भत्ता दिने, प्रत्यक्ष सांसदलाई दुई करोड र समानुपातिकलाई एक करोड कोसी प्रदेश पूर्वाधार विकास कोषमार्फत खर्च दिने बजेटमा उल्लेख छ । अल्पमतको सरकारले संसद्को अधिवेशन अन्त्य गराएर ल्याएको बजेटमा प्रदेशका ४२ स्कुलमा स्काउट कार्यक्रम गर्ने बताइएको छ ।

त्यस्तै, प्रदेशस्तरीय आवासीय विद्यालय बनाउने, चर्चित धार्मिक स्थलहरूको स्तरोन्नति गर्ने, दलित र अपांग विद्यार्थीलाई छात्रवृत्ति दिने, लागुऔषध नियन्त्रण गर्ने, प्रदेशस्तरीय चलचित्र महोत्सव आयोजना गर्ने र प्रदेशमा चलचित्र सद्भावना दूत नियुक्त गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।

यसैगरी सिमेन्ट उत्पादन निकासीमा कर छुट दिने, सुत्केरीलाई सकेसम्म निःशुल्क उपचार गराउनेदेखि धरानको बिपी शिक्षण अस्पतालमा विशेष स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा धरानको खानेपानीलाई सहज बनाउन चार करोड अनुदान दिने बजेटले घोषणा गरेको छ ।

यसबाहेक प्रदेशभरि ९० वटा झोलुंगेपुल बनाउने, लोकमार्ग निर्माणमा सहयोग गर्ने, जनता आवास कार्यक्रमलाई निरन्तरता दिने, कोसी खुवालुङ जलमार्ग स्तरोन्नति गर्नेलगायतका कार्यक्रम बजेटमा परेको छ ।

कोसी औद्योगिक करिडोर क्षेत्र विकास गर्ने, विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्ने वैदेशिक रोजगारीबाट फर्किएका महिला र युवाहरूलाई उद्यमशीलता प्रदान गर्नेलगायतका कार्यक्रमहरू पनि घोषणा गरिएका छन् ।

यसैगरी, कृषकलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिन, जुट र भटमास खेतीलाई प्रोत्साहन गर्ने, कृषि बजारलाई प्रवद्र्धन गर्ने, पहाडी क्षेत्रमा फलफूल खेतीलाई बढावा दिने र चिया उत्पादनलाई अनुदान दिने पनि बजेटमा उल्लेख गरिएको छ । 

अल्पमतमा परेको सरकारले ३१ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेर राति ११ बजे   प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेको थियो । बजेट अधिवेशन अन्त्य भएपछि बिहीबार मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका हुन् । कोसी प्रदेशमा हाल अल्पमतको सरकारमा एमाले र राप्रपा सहभागी छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा विपक्षमा छन् ।