१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर
रमेश सुवेदी काठमाडाैं
२०८० जेठ २९ सोमबार ०७:३०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिग खेलमा मिलेमतो

ए डिभिजन लिग ०७९–८० को एक सय ८२ खेल सम्पन्न भएसँगै रेलिगेसनमा परेको एपिएफ फुटबल क्लबले दुई खेलमा म्याच फिक्सिङ भएको आरोप लगाएको छ

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० जेठ २९ सोमबार ०७:३०:००

रोमाञ्चकता, नाटकीय, विवाद र प्रतिस्पर्धात्मक रूपमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता समाप्त भइसकेको छ । दशरथ रंगशाला, च्यासल र सातदोबाटोको एन्फा कम्प्लेक्सका मैदानमा गत १९ फागुनदेखि लिग चलेको थियो ।पहिलोपटकको सहभागितामा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बन्यो । चर्च ब्वाइजसँगै माथिल्लो डिभिजन खेलेको खुमलटार युथ क्लब पहिलो सहभागितामै रेलिगेसनमा पर्‍यो । ०६३ पछि विभागीय टोली नेपाल एपिएफ पनि पहिलोपटक ‘बी’ डिभिजनमा घटुवा भयो । 

लिगको चार दिनमा १४ खेल हुँदा आठ खेल दशरथ रंगशालामा नै भए । बाँकी खेल च्यासल र एन्फा कम्प्लेक्समा भए । लिग च्याम्पियन टोली र बी डिभिजनमा घटुवाको छिनोफानो एन्फा कम्प्लेक्सबाट भयो । तीन मैदानमा तीन महिनाभन्दा बढी चलेको लिगमा रोचक र अस्वाभाविक दृश्य देखिए । 

केही आशंका र कार्य नियतवश देखिन्थ्यो । यो नेपाली फुटबलका लागि राम्रो थिएन । डबल लिगको अन्तिम चरण निकै विवादास्पद बन्न पुग्यो । विवादास्पद निर्णयका कारण रेफ्रीले खेलाडी र पदाधिकारीबाटै कुटाइ खाए । यसपटक पनि म्याच फिक्सिङ (खेल मिलेमतो) को गम्भीर आरोप लागेको छ । रेलिगेसन क्षेत्रबाट जोगिन क्लबहरूबीच म्याच फिक्सिङ भएको चर्चा छ । सहभागी क्लबले अर्काे क्लबविरुद्ध नै म्याच फिक्सिङ भएको आरोप लगाएका हुन् । लिगको अन्तिम खेलमा जावलाखेल र तीनपटकको च्याम्पियन थ्री स्टारले दशरथ रंगशालामा प्रतिस्पर्धा गरेका थिए । जावलाखेलले थ्री स्टारविरुद्ध आफ्नो स्वाभाविक खेल खेल्न सकेन । 

एन्फा भन्छ– पत्र हेरेर प्रक्रियामा जान्छौँ 
एन्फा महासचिव किरण राईले एपिएफको पत्र हेरेर प्रक्रिया अघि बढाउने बताएका छन् । एपिएफको उजुरीपछि राईले नयाँ पत्रिकालाई भने, ‘आइतबार एपिएफले उजुरी गरेको छ । हामी पत्र हेरेर प्रक्रिया अगाडि बढाउँछौँ, अहिले नै यही हुन्छ भन्न सकिँदैन ।’

१३औँ चरणसम्म अप्रत्याशित प्रदर्शन गरेको जावलाखेलले उपाधि दाबेदारी दिई नै रहेको थियो । उत्कृष्ट प्रदर्शन गरिरहेको जावलाखेलले थ्री स्टारविरुद्ध शनिबार त्यस्तो खेल देखाएन । खेल सकिन सात मिनेटअघि थ्री स्टारले पेनाल्टी पायो । आफैँलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै कप्तान विक्रम लामाले थ्री स्टारको जित मात्रै निकालेनन्, थ्री स्टार बल्लतल्ल रेलिगेसनबाट उम्कियो । थ्री स्टारको जितले विभागीय टोली एपिएफ फुटबल क्लब रेलिगेसनमा पर्‍यो । अहिले सामाजिक सञ्जालमा यो खेल म्याच फिक्सिङ भएको भन्दै निकै आलोचना भएको छ । 

 एपिएफको आरोप ‘फिक्सिङ भयो’
०६२ बाट सीधै ए डिभिजन लिग खेलेको एपिएफ पहिलोपटक बी डिभिजन लिगमा घटुवा हुँदा पदाधिकारीहरू निराश छन् । ए डिभिजनको हैसियत गुमाएको भोलिपल्ट (आइतबार) नै एपिएफले म्याच फिक्सिङ भएको आरोपसहित अखिल नेपाल फुटबल संघ (एन्फा)मा उजुरी गरेको छ । एपिएफले लिगको एक सय ८२ खेल सम्पन्न हुँदा च्याम्पियन चर्च ब्वाइज र थ्री स्टार तथा संकटाविरुद्ध फ्रेन्ड्स क्लबबीच मिलेमतो भएको उजुरी हालेको छ । २३ जेठमा चर्च ब्वाइज र थ्री स्टारले गोलरहित बराबरी खेलेका थिए । 

२४ जेठमा संकटा र फ्रेन्सडले १–१ गोलको बराबरी खेलेका हुन् । ‘प्रतियोगिताको खेल प्राकृतिक नभई मिलेमतो भएको देखिएको हुँदा सो नियमविपरीत भएका खेलहरूको निष्पक्ष छानबिन गरी फिफा, एएफसीको कोड अफ कन्डक्ट तथा इन्टिग्रिटीको नियमानुसार आवश्यक कारबाही होस्,’ एपिएफले उजुरी गरेको पत्रमा भनिएको छ । एपिएफले एएफसीको इन्टिग्रिटी डिपार्टमेन्टमा छानबिनको निमित्त निवेदन गर्ने बताएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेल भावनाविपरीत कार्य भइरहेको संकेत गरेका छन् । ‘दुवै पक्षको नियत एकै पोस्टमा गोल छिराउने भयो, खेलमा अनुशासन हटेको देखियो, मर्यादा हटेको थियो, असभ्यता भित्र पसेको भन्ने बुझ्नुपर्छ,’ अर्यालले सार्वजनिक कार्यक्रममा भनेका थिए । 

 सोसल मिडियामा आलोचना
अहिले सामाजिक सञ्जाल, एन्फा परिसर, खेलमैदान र खेलाडीबीच नै म्याच फिक्सिङ भएको चर्चा चलिरहेको छ । यद्यपि, एपिएफबाहेक अन्य क्लबले आफ्नो भनाइ सार्वजनिक गरेका छैनन् । फुटबल समर्थक मनोज बुर्लाकोटीले फेसबुकमा लेखेका छन्, ‘हिजो थ्री स्टार र जावलाखेलबीचको खेलमा आशंका मात्र हैन, पर्याप्त फिक्सिङको आधार थियो ।

जावलाखेलका विदेशी खेलाडीले प्रस्ट रूपमा खेलेको खेलले धेरै कुरा बोल्छ,’ उनले लेखेका छन्, ‘यहाँ केही खेलाडी मात्र हैन, पूरै टिम नै मिलेको देखियो ।’ यसअघि म्याच फिक्सिङ हुने भन्दै खुमलटारले रेलिगेसन क्षेत्रमा रहेका चारै क्लबको एकैपटक खेल राख्न अनुरोध गरे पनि एन्फाले आफ्नो निर्धारित समयमै खेल राखेको थियो । खुमलटार र चर्च ब्वाइज तथा फ्रेन्ड्स र एपिएफको खेल शुक्रबार एकैपटक हुँदा रेलिगेसन क्षेत्रमै रहेको थ्री स्टारको खेल अन्तिम दिन राखिएको थियो । खुमलटारले खेल नखेल्ने धम्की दिए पनि एन्फाले १५ लाख जरिवाना र सी डिभिजनमा घटुवा गर्ने चेतावनी दिएपछि मैदान उत्रिएको थियो ।