प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टोखा–छहरे सुरुङमार्ग कुनै राजनीतिक विषय नभई बहुआयामिक हितको विषय भएको बताएका छन् । शनिबार पञ्चकन्या गाउँपालिकाको लाकुरीभञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाका प्रशासकीय भवनको उद्घाटन गर्दै उनले सुुरुङमार्गलाई राजनीतिक नारामा सीमित गर्न नहुने बताए ।
‘यो सुरुङमार्गको निर्माण बहुआयामिक हितका लागि हो । कुनै राजनीतिक आग्रहबाट नभई राष्ट्रको आवश्यकता हो,’ उनले भने, ‘राष्ट्रको आवश्यकताको हिस्सेदार आफू पनि हुन पाउँदा खुसी लागेको छ । बृहत् हितका लागि भएकाले यसमा राजनीतिक प्रतिबद्धता र एकता हुनुपर्छ । राजनीतिक नारा मात्र बनाउनु हुँदैन ।’ प्रचण्डले सरकारले राष्ट्रको आवश्यकता ठानेर नै सुरुङमार्गका लागि बजेट विनियोजन गरेको र सुरुङमार्गको निर्माणमा विदेशी लगानीसमेत भित्रिने अपेक्षा राखेको बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा–छहरे सुरुङमार्गको लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास हुने गरी भारतसँग सम्झौता गरेर आएको बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले किसान र कृषिको विषयलाई प्राथमिकतामा राखेर बजेट बनाइएको बताए । ‘जसले उत्पादन गर्छ, उसैलाई नगद दिने, बिचौलियालाई नभई किसानकै हातमा नगद दिने कार्यक्रम आएको छ,’ महतले भने, ‘यो कार्यक्रममा कृषिको उत्पादकत्व र रोजगारी वृद्धि हुनेछ । नयाँ तरिकाबाट खेती गर्ने, उत्पादन बढाउनेलाई अनुदान दिइनेछ । यसले अनुदानको दुरुपयोग रोकिने विश्वास लिएको छु ।’ उनले विगतको बजेटमा नुवाकोटमा थोरै मात्र बजेट आउने गरेकोमा यसपटक भने नुवाकोटको आवश्यकतालाई हेरेर बजेट परेको बताए । लाकुरीभञ्ज्याङमा निर्माण भएको गाउँपालिका भवनमा ६ करोड रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । २० रोपनी क्षेत्रफलमा बनेको भवनमा २७ कोठा छन् ।