मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश सुवेदी काठमाडाैं
२०८० जेठ २७ शनिबार ०९:३३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चेतनको धैर्यता र पुलिसको छलाङ

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० जेठ २७ शनिबार ०९:३३:००

१६औँ चरणसम्म रेलिगेसनमा रहेको पुलिसलाई प्रशिक्षक चेतन घिमिरेले लिगको तेस्रो स्थान रक्षा गराएका छन् 

मिहिनेत, लगनशील र धैर्यताले मान्छेलाई उचाइसँगै सफलता दिलाउँछ । नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेलाई यतिवेला यस्तै लागेको छ । चेतनले पहिलोपटक पुलिस क्लब हेर्ने अवसर पाएका थिए । उनले कठिन अवस्थाबाट पुलिसलाई सहिद स्माकर ‘ए’ डिभिजन लिगमा तेस्रो स्थान पक्का पारे । १२ महिना अभ्यास प्रदान गरेको पुलिसको व्यावसायिक फुटबलमा बिस्तारै चाम घट्दै गएको छ । कुनै समय लगातार तीनपटक लिग उपाधि जितेको पुलिसले युवा तथा चर्चित खेलाडीमाथि नजर राखेन । लिग सुरु हुनु केही समयअगाडि मात्र घिमिरेले महत्वपूर्ण प्रशिक्षणको जिम्मेवारी पाए । 

यसअघि अनन्तराज थापाले लगातार पाँच वर्ष पुलिसलाई हेरेका थिए । थापा अहिले राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक बनेका छन् । १९ फागुनअघि आइजिपी कपबाट चेतनले लिगमा सहभागिता जनाउन नयाँ अनुहारलाई खेलाउने निर्णय गरे । लिगमा अनुभवविहीन खेलाडीका साथमा अगाडि बढेको पुलिसले लगातार चार खेलमा हारको सामना गर्‍यो । अन्ततः पाँचाैँ खेलमा पुलिसले एक अंक बटुल्यो । रमाइलो पक्ष के थियो भने पुलिस १६औँ चरणसम्म रेलिगेसन क्षेत्र (१४औँ स्थान)मा थियो । 

यस अवस्थाबाट पूर्वच्याम्पियन क्लबलाई रेलिगेसन क्षेत्रबाट उकास्नु चानचुने चुनौती थिएन । धेरैले भनिसकेका थिए, यसपटक पुलिस ‘रेलिगेसन’मा पर्छ । तर, त्यसपछिका दशौं खेलमा पुलिसले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थानमा लिग सकाएको छ । पुलिसको सफलताको पछाडि धेरै हदसम्म प्रशिक्षक चेतनको योगदान छ । उनले आफ्नो मात्र नभएर खेलाडीलाई समेत धैर्यपूर्व खेल्न सिकाए । 

‘खेलाडीबीच तालमेल मिल्दा र धैर्यतापूर्वक खेल्दा पुलिसले आज यो स्थान प्राप्त गरेको हो,’ ३५ वर्षीय चेतनले भने, ‘पछिल्लो समय हामी लिगकै एक शक्तिशाली टोली बन्यौँ ।’ लिगको २६औँ खेलमा लिजेन्ड भोला सिलवाल र जुमानु राईको सुखद बिदाइसँगै शुक्रबार पुलिसले सातदोबाटो युथलाई १–० ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो । स्वयं यस नतिजालाई उनी विश्वास गर्दैनन् । प्रशिक्षकको जिम्मेवारी पाउँदा उनले पुलिसलाई आठौँ स्थानमा राख्ने बताएका थिए । ‘सुरुमा आठौँ स्थानको लक्ष्यमा थियौँ,’ चेतन भन्छन्, ‘खेलाडीको आत्मविश्वास, मिहिनेत र चुस्त व्यवस्थापनका कारण हामी तेस्रो स्थानमा रह्यौँ ।’ 

विदेशी खेलाडीको प्रभाव
नेपाली फुटबलमा पुलिसको फरक पहिचान छ । एक दशकअघिको मात्र कुरा गर्ने हो भने पुलिसका नियमित र बेन्चमा रहेका अधिकांश खेलाडी राष्ट्रिय टोलीका नै हुन्थे । तर, अहिले अवस्था फरक छ । कुनै समय राष्ट्रिय टोलीका खेलाडीको हालीमुहाली हुने पुलिसको ड्रेसिङ रुममा अहिले राष्ट्रिय टोलीका खेलाडी छैनन् । लिगको सुरुवाती चरणमा कठिन अवस्थामा रहेको पुलिसले विदेशी खेलाडी भित्र्याउने योजना बनायो । 

लगातार तेस्रो हारपछि पुलिसभित्र पनि विदेशी खेलाडी राख्ने दबाब बढ्यो । यसमा व्यवस्थापकदेखि पूर्वखेलाडीले विदेशी खेलाडी राख्न सुझाव दिए । लिगमा आफ्नो साख रक्षा गर्न पुलिसको व्यवस्थापनले पहिलोपटक केही विदेशी खेलाडी अनुबन्ध गर्‍यो । सातौँंं चरणमा घानाका मोसेज ग्याम्बा र जोय आइडुको आगमनसँगै पुलिसले जित दर्ता गर्‍यो । 

नवौँ चरणमा नाइजेरिका सर्ज डिका र भारतका मोहम्मद आसिकले दसौँ चरणमा पुलिसबाट डेब्यु गरे । त्यसपछि पुलिसले लेबनानका मोहम्मद हिजाजीलाई समेत अनुबन्ध गर्‍यो । स्तरीय विदेशी खेलाडीको साथ पाउँदा पुलिसले सहजै आफ्ना बलिया र मध्यम स्तरका प्रतिद्वन्द्वीलाई निराश बनाए । 

पहिलो चरणमा विदेशी खेलाडी नहुँदा पुलिसले आफ्ना भेट्रान खेलाडीहरू जुमानु राई, भोला सिलवाल र सुमन सुवेदीलाई प्रतिस्पर्धा गराएको थियो । ‘युवा खेलाडीबाटै नतिजा निकाल्ने योजना थियो, फेरि अरू टोलीमा विदेशी खेलाडीको प्रभाव बढ्दै जाँदा युवा खेलाडीबाट धान्न सकिएन,’ घिमिरेले स्मरण गरे, ‘जब विदेशी खेलाडीको मैदान प्रवेशसँगै दबाब कम मात्र भएन, नतिजा अनुकूल आयो ।’

प्रशिक्षकमै खुसी
चोटकै कारण चेतनले स्टार खेलाडी बन्ने धोको पूरा गर्न सकेनन् । नेपालको उमेर समूह हुँदै उनले राष्ट्रिय टोलीबाट ११ क्याप जिते । जब्बर स्ट्राइकरका उपमा पाएका चेतन घुँडाको चोट बोके । उनी मैदान फर्कन सकेनन् । लामो समय मैदानमा बिताउने चेतनको सपना पूरा हुन सकेन । नेपालको यू–१४, यू–१७ र यू–१९ टोलीका सदस्य बनेका चेतनले साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद साग, एएफसी च्यालेन्ज कप, एएफसी प्रेसिडेन्ट कप खेलेका थिए । फुटबल करिअरपछि प्रशिक्षक बन्ने रहर पूरा गर्न उनले डी, सी र बी हुँदै ०७६ सालमा एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरे । उनले एएफसी गोलरक्षक लबर १ को कोर्स गरेका छन् । यसबीचमा उनले पुलिसको महिला फुटबल टोली र राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकको समेत अनुभव लिए । ‘चोटका कारण लामो समय खेल्ने धोको थियो, तर चोटकै कारण गुमाए,’ चेतन भन्छन्, ‘तर, प्रशिक्षकका रूपमा आफूलाई उभ्याएको छु । लिग हेर्दा अनुभव कम थियो, अब यही पेसामा ध्यान दिन्छु ।’