
सुरक्षित नागरिक आवास कार्यक्रमका लागि मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गतका पालिकाबाट ८५६ लाभग्राही छनोटमा परेका छन् । आवास समन्वय समितिको बैठकले यस निर्वाचन क्षेत्रका थप तीन सय ८६ लाभग्राही छनोट गरेसँगै छनोट भएका कुल लाभग्राहीको संख्या ८६५ पुगेको छ । छनोटमा परेका लाभग्राहीले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत घरको छाना छाउन ७५ हजार रुपैयाँ अनुदान पाउनेछन् ।
मकवानपुरका थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर १, ३, ११ र १९ का लाभग्राही छनोटमा परेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जानकारी दिए ।
कार्यक्रमअनुसार चालू आर्थिक वर्ष ०७९/८० का लागि यसअघि समितिले कुल एक हजार दुई सय ४८ घरधुरी स्वीकृत भएकोमा कैलाश गाउँपालिकाबाट १२५, राक्सिराङ गाउँपालिकाबाट १६६, हेटौँडा उपमहानगरपालिकाबाट १४१, थाहा नगरपालिकाबाट ३८ गरी ४७० लाभग्राही छनोट गरेको थियो ।
लाभग्राही छनोट भई स्थानीय तहले अनुदान सम्झौता गरेका लाभग्राहीलाई जस्तापाता, काठलगायतका सामग्री खरिद गर्न पहिलो किस्तामा अनुदानको ६० प्रतिशत र बाँकी ४० प्रतिशत काम सम्पन्न भएपछि स्थानीय तहको प्राविधिक प्रतिवेदनसहित सिफारिसका आधारमा भुक्तानी दिने जिसस प्रमुख घलानले जानकारी दिए ।
लाभग्राहीले बसोवास गर्दै आएको घरको छाना पराल, खर, पराल, ड्रम वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुने सामग्रीबाट छाएको घरका लाभग्राहीले अनुदान पाउने पनि प्रमुख घलानले बताए ।