मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २३ मंगलबार ०७:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सरकारविरुद्ध एमाले जनवर्गीय संगठनको विरोध प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २३ मंगलबार ०७:५४:००

एमालेसम्बद्ध २३ जनवर्गीय संगठनले सोमबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक महत्व र समसामयिक विषयमा सरकारमाथि दबाब बढाउने पार्टी नीतिअनुसार एमालेसम्बद्ध जनवर्गीय संगठनहरूले संयुक्त प्रदर्शन गरेका हुन् ।

एमालेनिकट युवा, विद्यार्थी, महिला, मजदुरलगायतका संगठनले माइतीघरबाट नयाँबानेश्वर चोकसम्म विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले भारतसँग भूमि साटफेर गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति, नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीलाई आममाफीको निर्णय, सांसद विकास कोष ब्युँताइएकोलगायतका विषयमा प्लेकार्ड र नाराजुलुससहित प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगातार असंवैधानिक काम गरेको आरोप लगाउँदै दुवैको राजीनामा मागेका थिए । उनीहरूले भारत भ्रमणका क्रममा गम्भीर राष्ट्रघात भएको, संविधान र संसदीय कानुन मिचेर नागरिकता विधेयक ल्याइएको भन्दै नारा लगाएका थिए ।

जुलुसपछि आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले सरकारले आफ्ना कदम नसच्याए निर्णायक आन्दोलन चलाउने चेतावनी दिएका थिए । एक सातादेखि युवा र विद्यार्थीसम्बद्ध संगठनले विरोध प्रदर्शन गर्दै आएकोमा सोमबार भने एमालेले सबै भ्रातृसंस्था उतारेर संगठित रूपमा शक्ति प्रदर्शन गरेको थियो ।