मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २० शनिबार ०९:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकपछि अर्को सहकारीमा सञ्चालकको ठगी धन्दा : निक्षेपकर्ताको पैसा मिटरब्याज र घरजग्गामा, ८ करोड डुब्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २० शनिबार ०९:००:००

बुढानीलकण्ठस्थित एक सहकारीका सञ्चालकले निक्षेपकर्ताको पैसा मिटरब्याज तथा घरजग्गामा लगानी गरेर डुबाएका छन् । एकताबद्ध बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले सर्वसाधारणको आठ करोड रुपैयाँभन्दा धेरै रकम डुबाएका हुन् । 

सहकारीमा जम्मा गरिएको रकम हिनामिना गरी डुबाउने कार्यकारी अध्यक्षसहित ६ जनालाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ । अध्यक्ष भानुकुमार शर्मा, उपाध्यक्ष प्रमोदकुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष रामकुमार श्रेष्ठ, सञ्चालका सदस्य वीरबहादुर तामाङ र व्यवस्थापक शम्भु कार्की प्रहरी नियन्त्रणमा छन् । उनीहरूविरुद्ध एक सय ७७ जनाको उजुरी परेको ब्युरोका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उजुरीमा बचतकर्ताको आठ करोड १८ लाख ८९ हजार सात सय ९५ रुपैयाँ संस्थाले फिर्ता नगरेको उल्लेख छ ।

अनुसन्धानका क्रममा रकम हिनामिनामा अध्यक्ष शर्मा र व्यवस्थापक कार्कीको मुख्य भूमिका देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीका अनुसार संस्थाको पैसा निकालेर अध्यक्ष शर्माले मिटरब्याजमा लगानी गरेका थिए । केही जग्गामा लगाएका थिए । दुवै लगानी डुबेपछि संस्थाको पैसा फिर्ता हुन सकेन । जसकारण निक्षेपकर्ताले आफ्नो बचत फिर्ता पाउन सकेनन् । संस्थाको पैसा नियमविपरीत व्यक्तिगत नाफाका लागि लगानी गर्दा सहकारी डुबेको हो । सहकारी हाल बन्द छ । नियमविपरीत संस्थाको पैसा सञ्चालकद्वारा दुरुपयोग हुँदा पनि नियमन नभएकाले सर्वसाधारणको पैसा फिर्ता हुन नसकेको प्रहरी अधिकारीहरूको भनाइ छ । 

यसैबीच एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका १० जनाविरुद्ध शुक्रबार जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर भएको छ । तीनजना पक्राउ परेकोमा थप सातजनालाई फरार प्रतिवादीका रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुद्दा दायर गरेको हो । भक्तपुरका निक्षेपकर्ताको जाहेरी लिई अनुसन्धान गरेर सरकारी वकिलमार्फत मुद्दा दायर गरिएको सिआइबीले जनाएको छ ।

भक्तपुरका एक हजार चार सय ३९ जनाले सिआइबीमा जाहेरी दिएका थिए । ७५ करोड ३२ लाख रुपैयाँको जाहेरी प्रहरीमा परेको छ । यद्यपि, भक्तपुरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयमा सदस्य रहेकाहरूको एक अर्ब ७१ करोड निक्षेप देखिएकाले त्यसलाई समेत माग दाबीका रूपमा अदालतमा मुद्दा दायर भएको छ । धेरै सर्वसाधारण जाहेरी लिएर अझै आउने क्रम जारी रहेको सिआइबीका एसपी सञ्जयसिंह थापाले बताए ।