मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडाैं
२०८० जेठ २० शनिबार ०६:१७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१८ प्रतिवादीकै इन्कारी बयान, आइतबारदेखि बहस 

नक्कली भुटानी शरणार्थी मुद्दा 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०८० जेठ २० शनिबार ०६:१७:००

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रलोभनमा भएको ठगी मुद्दामा सबै प्रतिवादीले अदालतमा इन्कारी बयान दिएका छन् । प्रहरी तथा सरकारी वकिलसँग भन्दा अदालतमा उनीहरूको बयान फरक छ । 

पक्राउ परेका १८ जना प्रतिवादीको जिल्ला अदालत काठमाडौंमा बयान सकिएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार अदालतमा उपस्थित भएका हरिभक्त महर्जनको शुक्रबार अदालतमा बयानसँगै सबैको बयान सकिएको हो । 

यो मुद्दामा ३० मध्ये १८ जना न्यायिक हिरासतमा छन् । उनीहरू सबैले अदालतमा यसमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । पक्राउ परेका केहीले प्रहरी र सरकारी वकिल कार्यालयमा दिएको बयानमा घटनामा संलग्न रहेको स्वीकार गरेका थिए । यो प्रकरणमा उच्चपदस्थको पोल खोल्ने व्यक्ति सानु भण्डारी र केशव दुलाल हुन् । उनीहरूले कसलाई कहिले र कहाँ कति पैसा दिएको सबै खुलाएका थिए । तर, अदालतमा भने फरक बयान दिएका छन् । मुद्दामा सरकारी वकिल र अदालतमा हरेकजसो मुद्दामा फरक–फरक बयान हुने गरेको प्रहरी अधिकारी बताउँछन् । 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईलगायतलाई प्रहरीले पक्राउ गरेर अभियोजन गरेको थियो । 

अब आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार आइतबारदेखि सरकारी वकिलले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीका वकिलले बहस गर्नेछन् । अन्तिममा सरकारी वकिलको जवाफी बहस भएपछि अदालतबाट थुनछेक आदेश हुनेछ । प्रक्रिया टुंगिन अझै करिब एक साता लाग्ने अदालतका कर्मचारी बताउँछन् ।

उक्साहटमा मविरुद्ध बयान भएको हुन सक्छ : टोपबहादुर रायमाझी

मेरो राजनीतिक छवि धुमिल्याउन कसैको उक्साहटमा आएर निज (केशव दुलाल)ले यस्तो बयान दिएको हुन सक्छ । म ऊर्जामन्त्री भएको समयभन्दा अगाडि संसद् सदस्य रहेको अवस्थामा भुटानी शरणार्थीको समस्या समाधानका लागि विभागीय मन्त्रालयले कार्यदल बनाएको भन्ने कुरा पत्रपत्रिकाबाट थाहा पाएको थिएँ, तर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने विषयमा भने मलाई केही जानकारी छैन ।

प्रहरीले दबाब दिएर बयान गरायो  : टेकनारायण पाण्डे

मैले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानको व्यहोरा दबाबमा गराइएको हो । मध्यरातमा निद्रामा भएको अवस्थामा मेट्रो प्रहरीमा पटक–पटक लगी मानसिक रूपमा दबाब दिइएको थियो । बयान पनि प्रहरी घेरामा राखी गराएर अन्तिममा सरकारी वकिलको सहीछाप गराइएको हो । अनुसन्धानमा भएको बयान व्यहोरा केही मैले लेखाएबमोजिमको सत्य हो भनेर गराइएको हो ।

सचिवलाई पैसा दिएको झुट कुरा हो  : इन्द्रजित राई

सचिवको गाडीमा ड्राइभरको सहमतिविना कसरी पैसा राखिदिन सक्छ ? पैसा राखिदिएको भए सोको जानकारी ड्राइभरलाई समेत हुनुपर्ने हो । गृहसचिवको कार्यकक्षमा प्रवेश हुनुभन्दा पहिला सिसिटिभी तथा सुरक्षा गार्डको समेत अनुमति हुनुपर्छ । सोसमेत रेकर्डमा चेक होस् । गृहसचिवको गाडीमा पैसा पठाएको भन्ने काल्पनिक हो ।