मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १८ बिहीबार ०७:५७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिगमा आफिजको दोस्रो ह्याट्रिक

सहिद स्मारक ‘ए’ डिभिजन लिगको २३औँ चरणका खेल समाप्तिसँगै १८ गोल गरेका नाइजेरियन खेलाडी आफिज ओलावाले उच्च गोलकर्ताको शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १८ बिहीबार ०७:५७:००

मच्छिन्द्र फुटबल क्लबका विदेशी स्ट्राइकर आफिज ओलावाले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा दोस्रो ह्याट्रिक पूरा गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार मच्छिन्द्रले सातदोबाटो युथ क्लबविरुद्ध ३–१ को जितमा आफिजले तीन गोल गरेका हुन् ।

आफिजले पहिलो चरणमा खुमलटारविरुद्ध ह्याट्रिक गरेका थिए । सो खेलमा मच्छिन्द्रले खुमलटारविरुद्ध ७–३ को सानदार जित हात पार्दा आफिज एक्लैले पाँच गोल गरेका थिए । चालू लिगमा आफिज उच्च गोलकर्ता दौडमा शीर्ष स्थानमा छन् । नाइजेरियन खेलाडी आफिजले १८ खेलमा १८ गोल गरेका छन् ।

 आफिज पहिलोपटक दुईचोटिको साबिक विजेता मच्छिन्द्रमा अनुबन्ध भएका हुन् । अघिल्लो सिजन सर्वाधिक आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबबाट उनले लिग खेलेका थिए । आफिजलाई पछ्याउने क्रममा खुमलटारका मेसुके ओलोमोउ र जावलाखेलका एनकोटो मासोआबीले समान १६ गोल गरेका छन् । फ्रेन्ड्सका राफिक अमिनु १३ गोल तथा नेपालका दीपकराजसिंह ठकुरी १२ गोलका साथ शीर्ष पाँचभित्र छन् । 

मच्छिन्द्र दोस्रो स्थानमा 
मच्छिन्द्रको सानदार जितसँगै जावलाखेल युथ क्लबको दोस्रो स्थान २४ घन्टा पनि टिकेन । सातदोबाटोविरुद्धको जितसँगै मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । २३ खेलमा १० जित, नौ बराबरी र चार हारसहित मच्छिन्द्रले ३९ अंक जोडेको छ । शीर्ष स्थानको चर्च ब्वाइजको ४१ अंक छ । सातदोबाटो आठ जित, पाँच बराबरी र १० हारसहित २९ अंक जोडेर सातौँ स्थानमा छ । मच्छिन्द्र र सातदोबाटोबीच पहिलो लेग गोलरहित बराबरी भएको थियो । दोस्रो लेगमा आफिजले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे । उनी खेलको ७५औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । 

खेलको १६औँ मिनेटमा दिवाकर चौधरीको पासमा आफिजले हेडिङ गोलबाट मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा अफिजले व्यक्तिगत दोस्रो गोल गरे । उनको दोस्रो गोल उत्कृष्ट रह्यो । आन्द्रेस नियाले मिलाएको बललाई तीन खेलाडी बिट गर्दै आफिजले दोस्रो व्यक्तिगत गोल गरे । खेलको ५६औँ मिनेटमा आफिजले ह्याट्रिक पूरा गरे । जापानी खेलाडी सुजुकीले मिलाएको पासमा आफिजले मच्छिन्द्रलाई ३–० को अग्रता दिलाएका हुन् ।  

च्यासल मैदानमा थ्री स्टार क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टारले १२ खेलमा जित निकाल्न सकेको छैन ।