मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ १७ बुधबार ०८:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाँकेमा विषालु सर्पको बिगबिगी

 नौ महिनामा  आठजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०८० जेठ १७ बुधबार ०८:५४:००

पछिल्लो नौ महिनामा विषालु सर्पले डसेर भेरी अस्पतालमा आठजनाको मृत्यु भएको छ । गत साउनदेखि चैत मसान्तसम्म सर्पले डसेका तीन सय ८० मध्ये आठजनाको मृत्यु भएको भेरी अस्पतालका वरिष्ठ एनेस्थेसिया तथा सर्पदंश विशेषज्ञ डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

सो अवधिमा सर्पले डसेका तीन सय ८० जना उपचारका लागि आएका थिए । तीमध्ये ७० जना विषालु र तीन सय १० जना गैरविषालु सर्पले डसेका बिरामी रहेका उनले बताए । ‘विषालु सर्पले डसेकामध्ये ६२ जनालाई बचाउन सफल भयौँ । आठजनालाई बचाउन सकेनौँ,’ डा. आचार्यले भने ।

उनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा तीन सय ५० जना उपचारका लागि आएका थिए । तीमध्ये तीन सयजना गैरविषालु सर्पले डसेका र ५० जना विषालु सर्पले डसेका बिरामी थिए । गत आवमा उपचारका लागि आएका चारजनाको मृत्यु भएको थियो । 

त्यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा सर्पले टोकेका चार सय बिरामी उपचारका लागि भेरी अस्पताल आएका थिए । तीमध्ये दुई सय ८० जना गैरविषालु र एक सय २० जना विषालु सर्पले डसेका बिरामी थिए । उक्त आवमा पाँचजनाले ज्यान गुमाएका थिए । ‘सर्पले डसेको पहिचान गर्न नसक्दा, घरेलु उपचार, अन्धविश्वास तथा उपचारका लागि अस्पतालमा ढिलो गरी पुर्‍याउँदा अस्पतालले प्रयास गर्दागर्दै पनि बचाउन सक्दैन,’ डा. आचार्यले भने । लक्षण थाहा पाउने र शंका लाग्नेबित्तिकै उपचारका लागि अस्पताल पुर्‍याए बिरामीको ज्यान जोगाउन सकिने उनको भनाइ छ ।