मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १७ बुधबार ०६:१५:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १७ बुधबार ०६:१५:००

एकपटक भगवान् बुद्ध जंगलको बाटो हुँदै कतै जाँदै थिए । अचानक तीनजना पुरुष उनीसामु आए र प्रश्न गरे– साधु महाराज, तपाईंले यताबाट कुनै महिला जाँदै गरेको देख्नुभयो ? ‘अहँ, मैले त कुनै महिलालाई देखिनँ,’ बुद्धले जवाफ दिए । उनले फेरि सोधे– तर, तपाईंहरू तीनैजना यति धेरै चिन्तित किन देखिनुहुन्छ ? तीनैजनाले एकसाथ जवाफ दिए– त्यो महिलाले हाम्रो भएभरको सम्पत्ति लिएर भागी । त्यसले हामीलाई नराम्ररी लुटी ।

बुद्धले प्रश्न गरे– विनाकुनै कारण उनी तपाईंहरूको भएभरको सम्पत्ति लिएर भागिन् त ? एक पुरुषले जवाफ दिए– विनाकारण त होइन । हामीले उसलाई आमोदप्रमोदका लागि ल्याएका थियौँ । उसले हामीलाई रक्सी पिलाएर बेहोस पारेर हाम्रो सबै सम्पत्ति कुम्ल्याएर भागी । 

बुद्धले भने– ठिकै छ, उनले तपाईंहरूको बोझ हल्का गरिदिइन् । ती तीनैजना बुद्धको भनाइ सुनेर आक्रोशित भए । एकजनाले रिसाउँदै भने– ए जोगी, तिमीलाई अनुमान पनि छ के ? त्यो धन कति थियो ? त्यति धन तिमीले देख्नु त परैको विषय, सपनामा देखेका पनि छैनौ होला । उसलाई के थाहा कि बुद्ध पहिले राजकुमार सिद्धार्थ थिए, जसले अकुत राज्यकोषको सुविधा उपभोग गरेका थिए । 

बुद्धले हल्का मुस्कुराउँदै भने– ती स्त्रीले तपाईंहरूको अझै पनि सबैभन्दा अमूल्य वस्तु लुटिरहेकी छिन्, तैपनि तपाईंहरू केही गर्न सकिरहनुभएको छैन । उनीहरूमध्ये एकले प्रश्न गरे– भएभरको सम्पत्ति लुटिसकेपछि अब त हामीसित के नै बाँकी छ र ? बुद्धले भने– हो, उनले हिजो तपाईंहरूको भएभरको सपत्ति लुटिन् । तर, उनले तनाव दिएर तपाईंहरूको अमूल्य वर्तमान पनि त लुटिरहेकी छिन् ।

उनलाई भविष्यमा पक्राउ गरेर सजाय पनि दिलाउनुहोला, तर भूत र भविष्यको चक्करमा तपाईंहरूले आफ्नो अमूल्य वर्तमान पनि त लुटाइरहनुभएको छ । बुद्धको भनाइले बल्ल उनीहरूका आँखा खुले । उनीहरूले लुटिइसकेको धनको पछि दौडेर चिन्तैचिन्तामा अमूल्य वर्तमान नबिगार्ने निश्चय गरे र बुद्धलाई धन्यवाद दिएर घरतिर फर्किए ।