१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ १६ मंगलबार १२:०६:००
Read Time : > 2 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रत्न मन्दिर अवलोकनका लागि खुला [तस्बिरहरू]

Read Time : > 2 मिनेट
२०८० जेठ १६ मंगलबार १२:०६:००

पोखरास्थित रत्न मन्दिर दरबारपरिसर सर्वसाधारणसँगै स्वदेशी एवं विदेशी पर्यटकको अवलोकनका लागि सोमबारदेखि खुला भएको छ।

तत्कालीन राजपरिवारले ‘विन्टर प्यालेस’का रूपमा प्रयोग गरेको पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित रत्न मन्दिर गणतन्त्र दिवसको अवसर पारी अवलोकनका लागि खुला गरिएको हो।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्न मन्दिर ट्रस्टका अध्यक्षसमेत रहेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘गणतन्त्रकाे उपहारस्वरूप स्वदेशी एवं विदेशी नागरिकहरूका लागि आजैका दिनदेखि रत्न मन्दिरपरिसर अवलोकनका लागि खुला गरिएको छ’ भन्ने शिलाखेल अनावरण गर्दै सर्वसाधारण एवं पर्यटकको अवलोकनका लागि खुला गरेका हुन्। 

रत्न मन्दिर खुला भए पनि त्यहाँ रहेका राजपरिवारले प्रयोग गरेका कोठादेखि अन्य सरसामान भने सर्वसाधारणले प्रत्यक्ष हेर्न भने नपाउने भएका छन्। 

दरबारका कोठादेखि हिँड्ने भित्री संरचनाहरू साँधुरो रहेकाले भित्र रहेका ऐतिहासिक सामग्रीको सुरक्षासँगै दर्शकहरूको व्यवस्थापनमा समस्या आउने देखेर हाललाई परिसर मात्र खुला गरिएको हो। भित्र रहेका चिज र वस्तुहरूलाई भिडियोमार्फत हेर्ने व्यवस्था मिलाइने तयारी ट्रस्टले गरेको छ।

११ कोठा रहेको रत्न मन्दिरको मुख्य भवनमा दरबारसहित तत्कालीन राजारानी र राजपरिवारका सदस्यहरूको शयन कक्ष, शाही नातेदारहरूले प्रयोग गर्ने शयन कक्षहरू, डायनिङ कक्षलगायत छन्।

मुख्य भवनसँगैसँगै प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन, बाल बगैँचा र अन्य विभिन्न प्रयोजनका साना–ठूला गरी १० वटा भवन छन्। 

बंगला शैलीको रत्न मन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन्। पुरानै अवस्थामा रहेको रत्न मन्दिरमा राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचर छन्। 

हाल सर्वसाधारणले सय रुपैयाँको टिकट काटी मन्दिरको अवलोकन गर्न पाउने छन्। विद्यार्थी, ज्येष्ठ नागरिक अपांगता भएकाका लागि ५० रुपैयाँ शुल्क लिइने भएको छ। विदेशी पर्यटकका लागि एक हजार शुल्क तिनुपर्नेछ।

पूर्वराजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गरेको  रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रूपमा संग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने विगत १५ वर्षदेखिको माग रहँदै आएको थियो। 

रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोवास गर्ने ठाउँ हो। राजा स्व. वीरेन्द्र शाहको नाममा रहेको रत्न मन्दिर ०६३ सालको राजनीतिक परिवर्तनसँगै नेपाल सरकारको स्वामित्वमा आएको थियो। 

०१५ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा–जाँदा बस्न मिल्ने गरी यो दरबारको निर्माण गर्न लगाएका थिए। 

रत्न मन्दिरलाई हिउँदे दरबारको रूपमा समेत नामकरण गरिएको थियो। महेन्द्रका पालामा बनेको दरबार पछि पुस्तान्तरण हुँदै राजा वीरेन्द्रको नाममा आएको थियो। राजा वीरेन्द्रको मृत्युपछि ०६७ सालदेखि नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो।

उतिवेला पोखरामा राम्रा होटेलहरू थिएनन्। दरबारले विदेशी पाहुनासमेत यहीँ राख्थ्यो। तालघरमा तत्कालीन राजाहरूले विदेशी पाहुनासँग भेट गर्थे। नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने कार्यक्रम पनि यहीँ हुन्थ्यो। 

बेलायती महारानी, चीनका प्रधानमन्त्रीलगायत अन्य विशिष्ट विदेशी पाहुनाको आगमनसमेत हुन्थ्याे । रत्न मन्दिरमा बस्ने नेपालका एक मात्र प्रधानमन्त्री बिपी कोइराला थिए। उनी राजा महेन्द्रको पालामा विशिष्ट पाहुना बनेर यहाँ आएका थिए। यसबारे बिपीले आफ्नो आत्मवृत्तान्तमा पनि लेखेका छन्।

राजा महेन्द्र भ्रमणका क्रममा पोखरा आएका वेला ताल किनारमा बसेपछि ठाउँ मन परेर यहाँ रत्न मन्दिर बनाएका थिए। स्थानीयसँग जग्गा किनेर ०१३ मा निर्माण सुरु भएर ०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको हो। एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको यहाँ हेलिप्याडसमेत छ।

०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गयो। दरबार हत्याकाण्डको रात तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र यहीँ बसेका थिए। राजा भएपछि केही समय यहाँ बसेका उनी दोस्रो जनआन्दोलन ०६२/६३ का वेला पनि तीन महिना पहिलेदेखि यहीँ बसेका थिए। 

१९ माघ ०६१ को कदमपछि उनले राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश दरबार, सम्पत्ति आफ्नो नाममा हक सारेका थिए। तर, रत्न मन्दिर भने वीरेन्द्रकै नाममा रहेकाले नेपाल सरकारको स्वामित्वमा आउन सकेको हो।

यसै गरी रत्न मन्दिरभन्दा केही पूर्वमा रहेको र ट्रस्टको स्वामित्वमा रहेको हिमागृह भने केही समयपछि मात्र खुला गरिने भएको छ। राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमागृह बनेको थियो। ९ पुस ०३८ मा अधिराजकुमार हिमालयबाट पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिइएको थियो। 

१० कात्तिक ०४६ मा प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको थियो। फेवाताल किनारमै अवस्थित हिमागृहको क्षेत्रफल १० रोपनी चार आना छ।