१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Friday, 09 May, 2025
२o८o जेठ १३ शनिबार ११:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार ११:o९:oo

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ। उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ।     
     
भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ। ‘कामाख्या भगवती मूर्ति प्राणप्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्तिसंगीत गरिनेछ।

वनारसको विवेकाश्रम सांगदेवका आचार्यहरू, कामाख्या भगवतीको अनुष्ठान गरिरहेका साधक एवं नेपाली पुजारी तथा वेदाचार्य र नेपालका धर्मगुरु व्यासाचार्य किशोर गौतमसहितले कामाख्या देवीलाई विधिपूर्वक आमन्त्रण गरी मन्दिर भित्र्याएपछि मूर्तिको प्राणप्रतिष्ठा अनुष्ठान महायज्ञ सुरु भएको हो।  

यसका लागि म्याग्दीको गलेश्वरबाट चक्रसहितको देवशिला (शालग्राम) गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा लगी त्यहाँ दुर्गाकवच स्तुति गरी त्यहाँका पुजारी र वेदाचार्यबाट विधि विधानका साथ त्यहीँको कुण्डको जलबाट अभिषेकसहित पूजापाठ र स्तुति गरी सो शिला र कामाख्या भगवतीको कुण्डको जल भरिएको कलश नेपाल भित्र्याइएको हो।  

यसरी ल्याइएको शिलालाई शास्त्रीय विधिअनुसार पूजा, अर्चना गरी वसन्तपुरमा निर्माण भएको मन्दिरमा स्थापना गरिएको धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले जानकारी दिए ।

यहाँ निर्मित मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकै स्वरूपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा त्यहाँबाट ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माण भएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको व्यासाचार्य गौतमले जानकारी दिए।

यसरी कामाख्या भगवती शक्तिपीठमा राख्नुपर्ने श्रीगणेश, दुर्गा, महादेव, विष्णु र सूर्यनारायण भगवानका मूर्ति राखी विधिपूर्वक प्राणप्रतिष्ठा र पुजन गरिएको छ। पाञ्चायान देवताका साथै कामाख्या मन्दिरमा रहेजस्तै पञ्चमुखी कामेश्वर महादेव र कामेश्वर शिवलिंगको पनि स्थापना गरिएको छ।  

शास्त्रीय विधि एवं वास्तुशास्त्रका आधारमा कामाख्या भगवतीको मन्दिर कामाख्या शैलीमा नै निर्माण गरिएको छ। यसका लागि करिब दुई वर्षअघि वैदिक सनातन गुरु लक्ष्मण गौतमसहितका आचार्य र लुम्बिनी केबलकारका इन्जिनियरको समूह गुवाहाटीस्थित कामाख्या मन्दिर गई मन्दिरको संरचनाको शास्त्रीय महत्व र निर्माण शैलीको अध्ययन गरेर सोहीबमोजिमको मन्दिर यहाँ निर्माण गरिएको लुम्बिनी केबलकारका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए। 

बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रही सञ्चालनमा आएको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा पर्दछ। बुटवल बजारबाट केबलकार चढेर पनि कामाख्या भगवतीको दर्शनका लागि जान सकिन्छ।