
वर्षासँगै आएको हावाहुरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका– ४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा– ८सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्ण रूपमा उडाएको हो ।
हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा– ४ र कक्षा– ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए । ‘दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क–बेन्चलगायतका सामान भिजेको छ, हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन,’ उनले भने ।
०२३ जेठ २ गते स्थापना भएको सो विद्यालयमा गत वर्षको वैशाख ६ गते आएको हावाहुरीले पनि क्षति पुर्याएको थियो । यस वर्ष (बिहीबार)को हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलन तथा विद्यालय सञ्चालनका लागि उपाय खोज्न गाउँपालिकाको कार्यालय र प्रहरी चौकी बतासेको टोली घटनास्थलमा बोलाइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।
हावाहुरीले बिम तथा गारोसहित छाना उडाएपछि एक सय ५० जना विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्याेल बनेको छ । हावाहुरीले क्षति पुर्याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताए ।
बर्सेनि हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयमा अधिकांश पुरानो संरचनाका भवन रहेकाले कुनै पनि वेला मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना रहेको अभिभावकहरूले बताएका छन् । बाह्रै महिना हावाहुरी चलिरहने डाँडामा सञ्चालित विद्यालयनजिकै ठूलो पीपलको रूखसमेत रहेकाले दुर्घटनाको जोखिम बढेको जनाइएको छ ।
१० स्थानीय तह रहेको जिल्लामा गएराति चलेको हावाहुरीले अन्य ठाउँमा समेत क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लामा भएको हावाहुरीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
हावाहुरीले फलफूल, पाक्न लागेको गहुँ, तरकारी बालीलगायतमा क्षति गरेको किसानले बताएका छन् । व्यावसायिक तरकारी खेती गर्ने किसानको टनेललगायतका संरचनामा समेत हावाहुरीले क्षति गरेको बताइएको छ ।