१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी साल्भाडोर
२o८१ बैशाख २४ सोमबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रंगशालामा भागदौड हुँदा १२ दर्शकको निधन

एल साल्भाडोरमा शनिबार एलिआन्जा र फासबीचको खेल चलिरहँदा अनधिकृत रूपमा रंगशालाभित्र प्रवेश गर्नेक्रममा आठ पुरुष र चार महिलाले ज्यान गुमाए

Read Time : > 1 मिनेट
एजेन्सी, साल्भाडोर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४९:oo

सेन्ट्रल अमेरिकाको एल साल्भाडोरमा शनिबार राति एक फुटबल प्रतियोगितामा भागदौड मच्चिँदा १२ व्यक्तिको निधन भएको छ । साल्भाडोरमा घरेलु लिगअन्तर्गत कस्कटलान रंगशालामा एलिआन्जा र फासबीच खेल भएको थियो । रंगशालाको दक्षिण गेटबाट हजारौँ दर्शक भित्र प्रवेश गर्न खोजेका थिए । सो गेटमा प्राविधिक समस्या आएको थियो । कम्प्युटरको समस्याका कारण बाहिर लाइनमा रहेका दर्शकलाई आयोजकले शान्तपूर्वक रहन आग्रह गरेको थियो । तर, बाहिर लाइनमा रहेका दर्शकले धैर्य कायम राख्न सकेनन् । 

आयोजकले भिड नियन्त्रण गर्ने प्रयास भइरहँदा भित्र रंगशालामा खेल १६ मिनेट बितिसकेको थियो । एल साल्भाडोरमा एलिआन्जा र फास निकै लोकप्रिय क्लब हुन् । अक्सर यी दुई क्लबबीच खेल कसैले मिस गर्न चाहँदैनन् । यसै कारण अन्य खेलको तुलनामा यी दुई पारस्परिक प्रतिद्वन्द्वी क्लबबीचको खेलमा अत्यधिक दर्शक आउने गर्छन् । यसपटक लिगको निर्णायकजस्तै मानिएको खेलमा दुवै टोलीका समर्थक ओइरिएका थिए । रंगशालाको सबैजसो गेटमा केही खराबी थिएन ।तर, दक्षिण गेटमा मात्र प्राविधिक खराबी उत्पन्न भएको थियो । आयोजकले समस्या समाधान गर्नुअघि नै विनाटिकट दर्शक भित्र प्रवेश गर्न खोजे । 

सुरक्षाकर्मीले उनीहरूलाई रोक्न निकै प्रयास गरे । तर, भिड यति धेरै थियो, त्यहाँ उपस्थित सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्ने अवस्था नै थिएन । यसैको फाइदा लिँदै रंगशालाभित्र प्रवेश गर्ने सामान्य गेटबाट असंख्य समर्थक भित्र प्रवेश गर्न खोजे । जसका कारण भागदौड मच्चिएको हो । भित्र प्रवेश गर्नेक्रममा दर्शकले अगाडि–पछाडि केही हेरेनन् । भुइँमा लडिरहेका व्यक्तिमाथि कुल्चिएरै भित्र प्रवेश गर्न प्रयास भएको न्युयोर्क टाइम्सले जनाएको छ । 

टाउकोमा टेकेर भित्र प्रवेश
‘भुइँमा लडिरहेका व्यक्तिमाथि टेकेर जाँदा उनीहरूको ज्यान गएको हो,’ न्युयोर्क टाइम्सले जनाएको छ, ‘धेरैजसोले समर्थकको टाउको र घाँटीमै टेकेर भित्र प्रवेश गरे ।’ यसैगरी, आयोजकले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण यस्तो समस्या आएको स्थानीय एजेन्सीहरूले जनाएका छन् । न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म घटनामा ९० व्यक्तिको अवस्था राम्रो छैन । सुरक्षाकर्मीले पाँच सयजनालाई गम्भीर दुर्घटना हुनबाट जोगाएका छन् । अझै मृत्युसंख्या बढ्न सक्ने स्थानीय प्रहरीले जनाएको छ । 

‘अहिलेसम्म १२ दर्शकको निधन भएको छ, जसमा आठ पुरुष र चार महिला छन्,’ प्रहरीले विज्ञप्ति निकाली भनेको छ, ‘हामीले पाँच सय व्यक्तिलाई बचाएका छौँ, तर अस्पतालमा रहेका ९० जनाको अवस्थामा सुधार आएको छैन ।’ 
यसैबीच, एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले घटनाबाट आफू स्तब्ध भएको जनाएका छन् । ‘रंगशालाबाहिर जे घटना भयो, त्यसबाट म निकै दुःखी छु, यससम्बन्धमा प्रहरीलाई जाँचबुझ गर्न निर्देशन दिइसकेको छु,’ राष्ट्रपति बुकेले भने, ‘गल्ती जसबाट भए पनि उनीहरूलाई कडा कारबाही हुनेछ ।’ सन् २०१७ मा सेनेगलमा एक फुटबल खेलका दौरान आठ व्यक्तिको निधन यस्तै प्रक्रियाबाट भएको थियो ।

प्राविधिक समस्याको फाइदा लिए
राष्ट्रिय सिभिल प्रहरीले राजधानीभन्दा २४ किमि टाढा रहेको रंगशालामा दुःखद घटना भएको जनाएको छ । यसैगरी, रेस्क्यु टोलीका कमान्डर कार्लोस फुएन्ट्सले अस्पतालमा रहेका घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताएका छन् । ‘सानो गेटबाट भित्र प्रवेश गर्नेक्रममा समर्थकहरूबीच झडप पनि भएको देखिन्छ,’ कार्लोसले भने, ‘आपसी दुस्मनीका कारण पनि यस्तो भएको हुन सक्छ, किनभने मैदानभित्र प्रतिस्पर्धा गरिरहेका एकआपसका कट्टर दुस्मन हुन् ।’ एल साल्भाडोर फुटबल संघका अध्यक्ष पेड्रो हर्नान्डेजले टिकट नकिनेका व्यक्तिहरू अनधिकृत रूपमा भित्र प्रवेश गर्ने क्रममा घटना भएको जनाएका छन् । ‘जसको हातमा टिकट थिएन, उनीहरू नै सुरक्षा घेरा नाघेर भित्र प्रवेश गर्न खोजे, त्यसपछि सबैले यस्तै नीति अपनाए,’ उनले भने, ‘सुरक्षाकर्मीले उनीहरूलाई रोक्न धेरै कोसिस गरेका थिए ।’ 

ad
ad