१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०८० जेठ ४ बिहीबार २१:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोलकातामा अलपत्र वृद्धको परिवार सम्पर्कमा, घर फर्काउन महावाणिज्यदूतावास र हरिवन नगरपालिकाले सहयोग गर्ने

Read Time : > 1 मिनेट
२०८० जेठ ४ बिहीबार २१:०४:००

एक वर्षदेखि कोलकातामा अलपत्र सर्लाहीका वृद्धका परिवारको पहिचान भएको छ। सर्लाहीको लालबन्दी घर बताउने एक वृद्ध कोलकातामा अलपत्र रहेको समाचार नयाँ पत्रिकामा प्रकाशित भएको भोलिपल्ट उनको परिवार सम्पर्कमा आएको हो। 

ती वृद्धले आफ्नो नाम घनबहादुर वाइबा र ठेगाना सर्लाही लालबन्दी बताएका थिए। समाचार र तस्बिर देखेपछि बिहीबार सर्लाही हरिवन–५ घुर्कौंलीकी पूर्णिका तामाङले उनले आफ्नो पति ज्ञानबहादुर वाइबा भएको बताएकी छिन्। उनले ज्ञानबहादुर एक वर्षअघि उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोबाटै हराएको जानकारी दिइन्। 

अलपत्र अवस्थामा वृद्ध फेला परेपछि कोलकातास्थित ह्याम रेडियो, वेस्ट बंगाल रेडियो क्लबका सचिव अम्बरिस नाग विश्वासले नयाँ पत्रिकालाई जानकारी गराएका थिए। ६२ वर्षीय वृद्ध ज्ञानबहादुर भारतको पश्चिम बंगालको राजधानी कोलकातादेखि १५० किलोमिटरको दूरीमा रहेको सुन्दरवन क्षेत्रमा सडकमा अलपत्र अवस्थामा भेटिएका थिए। शारीरिक र मानसिक रूपमा कमजोर देखिने ती वृद्धबारे सोधखोज गर्दा नेपाली भएको खुलेको थियो। विश्वासकै पहलमा कोलकातास्थित महावाणिज्यदूतको कार्यालयले वृद्धबारे सोधखोज गरेको थियो। 

ह्याम रेडियो, वेस्ट बंगाल रेडियो क्लबले पश्चिम बंगाल क्षेत्रमा अलपत्र परेका नेपालीलाई सहयोग गर्दै आएको छ। यसअघि ४१ वर्ष विना सुनुवाइ भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाबारे पनि यही क्लबले सार्वजनिक गरेपछि तीन वर्षअघि उनको उद्धार भएको थियो। 

मानसिक समस्या देखिएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा हराएका थिए। ‘अघिल्लो जाडो महिनामा एक्कासि मान्छे चिथोर्ने, गाली गर्ने, कुट्ने, लुगामै दिसापिसाब गर्ने गरेपछि छोराले उपचारका लागि काठमाडौं लगेको थियो,’ उनले भनिन्, ‘उपचार गरेर गाडीमा फर्किंदै गर्दा लुगामै दिसापिसाब गरेछन्। त्यसपछि सहचालकलाई हेरिदिन भन्दै छोरा लुगा किन्न गएका वेला उनी सहचालकलाई चिथोरेर भागेछन्।’ त्यसपछि प्रहरीलाई खबर गरेर धेरै ठाउँमा खोजी गर्दा पनि फेला नपरेको उनले बताइन्। ‘कति खोजेँ–खोजेँ। कसैले खोलामा बगेर मर्‍यो  रे भने। कसैले आत्महत्या गर्‍यो भने,’ भक्कानिँदै पूर्णिमाले भनिन्, ‘मैले भेट्ने आशा मारिसकेको थिएँ।’

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले नयाँ पत्रिकाको अनलाइन र पत्रिकामा आएको तस्बिर हेरेर आफूले पनि ज्ञानबहादुरलाई चिनेको बताए। ‘उनी हाम्रै नगरवासी हुन्। म मज्जाले चिन्छु,’ उनले नयाँ पत्रिकासँग भने, ‘अति विपन्न परिवारका ज्ञानबहादुर सुरुमा आफन्तकहाँ हरिवन– २ लालभित्तीमा बस्थे। अहिले उनको परिवार हरिवन– ५ घुर्कौलीमा छन्।’ 
नगरप्रमुख बुढाथोकीले बिहीबारै साँझ घुर्कौली पुगेर ज्ञानबहादुरको परिवारलाई भेटेका छन्। उनले ज्ञानबहादुरलाई नेपाल ल्याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 

ज्ञानबहादुरकी श्रीमती पूर्णिका तामाङ हरिवन– ५ घुर्कौलीस्थित घरमा । 

यस्तै, कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले पनि ती वृद्धलाई उद्धार गरेर घरसम्म पुर्‍याउन पूर्ण रूपमा सहयोग गर्ने बताए। उनले महावाणिज्यदूतको कार्यालयले सम्पूर्ण खर्च व्यहोरेर नेपाल पठाइदिने जानकारी दिए। यसअघि बिहीबार महावाणिज्यदूत पौडेलले ज्ञनबहादुरलाई भेट्न टोली पठाएका थिए। वृद्धबारे बुझ्न महावाणिज्यदूतको कार्यालयका तृतीय सचिव उद्धव लामिछाने, कार्यालय सचिव सतिश थापा र सर्लाही घर भई महावाणिज्यदूतको कार्यालयमा कार्यरत जगत उपाध्याय गएका थिए।
ज्ञनबहादुरलाई भेटेका महावाणिज्यदूत कार्यालय सचिव थापाका अनुसार उनको मानसिक स्वास्थ्य कमजोर देखिएको छ। ‘सडकमा बस्दा रहेछन्। त्यहाँका मान्छेले असाध्यै माया गर्ने रहेछन्,’ उनले भने,’ खाना पनि दिने रहेछन्।’