
प्लानिङ ब्वाइज क्लब काठमाडौंले १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको बुधबार भएको फाइनलमा वीरगन्ज युनाइटेड क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले ट्रफी उचालेको हो ।
उपाधिसँगै प्लानिङ ब्वाइजले पाँच लाख रुपैयाँ हात पारेको छ । उपविजेता वीरगन्ज युनाइटेडले २ लाख ५० हजार जित्यो । प्लानिङ ब्वाइजलाई च्याम्पियन बनाउने क्रममा विदेशी खेलाडी निपोलियनले दुई गोल गरेका थिए । यसैगरी, च्याम्पियन टोलीका समीर थापा र विशाल दर्जीले समान एक गोल गर्न सफल भए ।
फाइनल खेलमा प्लानिङका अभिनाश थापामगर म्यान अफ दी म्याच हुँदै चार हजार रुपैयाँ हात पारे । प्लानिङ ब्वाइजका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलरक्षकमा लोकेश चौधरी, उत्कृष्ट स्टाइकर यो निपोलियन घोषित भएका छन् । वीरगन्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उत्कृष्ट खेलाडीले जनही सात हजार रुपैयाँ पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित हुँदै १५ हजार रुपैयाँ जिते । सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता २७ वैशाखदेखि सुरु भएको थियो । मंगलबार फाइनल खेल हुने भए पनि हावाहुरीसँगै परेको वर्षाका कारण बुधबार सारिएको थियो । ०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । ०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ ।