१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसप्रति ओलीको कठोर टिप्पणी- ‘कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन सकिन्न’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:२९:oo

संसद्का ठूला दलका शीर्ष नेताबीच पछिल्ला केही सातायता लगातार भेटवार्ता चलिरहेको छ । ती वार्ताले सदनभित्र कसिएका थुप्रै गाँठो फुकाएको पनि छ । बन्दकोठाभित्रका भेटवार्तामा नेताहरू निकै सहज देखिन्छन् । तर, तीनै नेताका सार्वजनिक अभिव्यक्ति भने निकै कठोर सुनिन्छ । बुधबार त्यस्तै सुनियो । 

संसद्मा दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले राजनीतिक दलको हैसियत गुमाएको टिप्पणी गरे । विपक्ष नेताले गरेको टिप्पणीलाई संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले असान्दर्भिक र टिप्पणी गर्न अयोग्य रहेको प्रतिक्रिया दियो ।

कांग्रेस हावा न चावाको पार्टी : केपी ओली, अध्यक्ष, एमाले
कांग्रेस भन्ने लामो इतिहास बोेकेको एउटा पार्टी छ, त्यो पार्टीलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो, त्यो हावा न चावाको पार्टी बनेको छ । किंकर्तव्यविमुढ छ । भोलि उठी कहाँ जाने केही थाहा छैन गीतजस्तो अवस्थामा छ । 

पार्टीका पूर्वमहासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको स्मृति दिवसका अवसरमा बुधबार बल्खुस्थित पुरानो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिने मनसमेत नभएको बताए । ‘देशको परिस्थिति अत्यन्त जटिल र गम्भीर छ । नेपाली कांग्रेस भन्ने लामो इतिहास बोेकेको एउटा पार्टी छ, त्यो पार्टीलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो, त्यो हावा न चावाको पार्टी बनेको छ,’ ओलीले भने, ‘किंकर्तव्यविमुढ छ । भोलि उठी कहाँ जाने केही थाहा छैन गीतजस्तो अवस्थामा छ । के गर्नुपर्ने हो अहिले ? आज देशलाई कसरी सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।’ 

कांग्रेसप्रति कठोर टिप्पणी गरेका ओलीले भविष्यमा उससँग सहकार्यको विकल्प भने खुला रहने बताए । ‘हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ । यो सजिलो छैन र एक्लैको अर्थ हामी कहिल्यै कसैसँग मिल्दै मिल्दैनौँ भन्ने पनि होइन । तर, सत्ता –स्वार्थका लागि, सरकारका लागि मिल्ने हुँदैन,’ ओलीको भनाइ थियो । 

देश गम्भीर संकटको अवस्थामा पुगेकाले उद्धारका लागि मुद्दामा आधारित एमालेले सहकार्य गर्न सक्ने ओलीको दाबी छ । ‘कसैसँग हाम्रो एकता हुन्छ भने देश, जनता, परिवर्तनका लागि, सुशासन र विकासका लागि हुन्छ,’ उनको भनाइ थियो । एमाले अध्यक्ष ओलीले सरकारको भविष्य अनिश्चित रहेको दाबी गरे । चौतर्फी संकटले घेरिएका कारण अहिलेको गठबन्धन सरकार कुनै पनि वेला ढल्ने अवस्थामा पुगेको ओलीको दाबी छ । ओलीले यसबारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटमा जिज्ञाशा राखेको बताए । 

‘देश राजनीतिक अस्थिरता र अराजकताबाट गुज्रिरहेको छ । राजनीतिको यति भयावह स्थिति छ, सरकार जान्छ कि टिक्छ भन्ने विषयमा मैले अस्ति प्रधानमन्त्रीजीलाई भनेँ,’ ओलीले विस्तारमा सुनाए, ‘भ्यागुतो सर्पको मुखमा परिसक्यो, आधा सर्पले निलिसक्यो, तर अगाडि झिँगो, पुतली केही आयो भने यसो पिलिक्क जिब्रो निकालेर तान्छ । त्यो खाएर के गर्ने ? मुखमा लिएको सिकार र आफू सँगसँगै सर्पको मुखमा पर्ने नै हो, तै पनि छोड्दैन, अहिलेको सरकार त्यस्तै छ । यो त संकटै–संकटमा घेरिएर धेरै मुख भएको सर्पको पेटमा पर्ने स्थिति छ ।’

ओलीको भनाइ खण्डनयोग्य छैन : लेखक

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले ओलीको भनाइ खण्डनयोग्य नरहेको प्रतिक्रिया दिए । ‘उहाँको हरेक कुराको खण्डन गरेर सम्भव छैन । ओलीजीले एमाले पार्टीलाई कस्तो बनाउनुभयो? उहाँकै पार्टीको हालत हेरेर थाहा हुन्छ,’ नयाँ पत्रिकासँगको कुराकानीमा लेखकले भने, ‘आफ्नो घर पनि बनाउन नसक्ने, अरूको घर पनि बन्न नदिने उहाँको प्रवृत्ति छ । कांग्रेसप्रति उहाँको टिप्पणी पनि यही आशयलक्षित छ । उहाँले कांग्रेसलाई लगाएको आरोपमा कुनैे अर्थ छैन । धेरै टिप्पणी गर्नु आवश्यक छैन ।’
 

ad
ad