
साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि होडमा फर्किएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मच्छिन्द्रले खुमलटार युथलाई ३–० ले पराजित गर्दै उपाधिमाथि ह्याट्रिक गर्ने योजना जीवितै राखेको हो । मच्छिन्द्रले लगातार ०७६ र ०७८ को लिग उपाधि उचालेको थियो । प्र्रशिक्षक प्रवेश कटवालले पहिलोपटक मच्छिन्द्रलाई उपाधि जिताएका थिए । ह्याट्रिक जिताउने योजनामा रहेका कटवालले चालू लिगको पाँचौँ चरणपछि क्लब छाडेका थिए ।
अहिले उनी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक छन् । सातौँ चरणबाट किशोरकुमार केसीले टोलीको प्रशिक्षण सम्हालेका छन् । केसी मच्छिन्द्रको चुनौती सामना गर्न आउँदा टोली सात खेलमा ९ अंकसहित नवौँ स्थानमा थियो । त्यसवेला मच्छिन्द्रले दुई जित, तीन बराबरी तथा तीन हार बेहोरेको थियो । खुमलटारविरुद्ध जितसँगै १८ खेलमा ३० अंक जोडेको मच्छिन्द्र तेस्रो स्थानमा रह्यो ।
समान अंक भएपछि एक खेल कम खेलेको चर्च ब्वाइज युथ क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको जावलाखेलको समान १८ खेलबाट ३१ अंक छ । ‘हामी उपाधि होडमै छौँ । खेलाडी घाइते हुँदा समस्या छ,’ मच्छिन्द्रका प्रशिक्षक केसीले भने, ‘खेलाडी फिट भएको अवस्थामा हामी उपाधि जित्ने अभियानमा अग्रसर हुन्छौँ ।’
१८औँ चरणका खेल चल्दा तेस्रो स्थानमा रहेको मच्छिन्द्र आठ खेल बाँकी रहँदा उपाधि दाबेदारमा फर्किएको हो । मच्छिन्द्रसँग पराजित खुमलटार १७ अंकका साथ पुछारमा छ । खुमलटारले लिग जित्ने योजनासहित पहिलोपटक शीर्ष डिभिजन लिगमा प्रतिस्पर्धा गरेको हो । लगातार खराब प्रदर्शनपछि रेलिगेसन हुने अवस्थामा पुगेको छ ।
आफिजको दुई गोल
डबल लिगको एक सय २२औँ खेलमा मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नायक बने । आफिज ओलावाले ओलादिपोले दुई गोल गरे । एन्द्रेस नियाले एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको मच्छिन्द्रले दोस्रो हाफमा थप दुई गोल गरेको हो । पहिलो लेगमा मच्छिन्द्रले खुमलटारमाथि ७–३ को जित निकाल्दा आफिजले एक्लै पाँच गोल गरेका थिए । ४२औँ मिनेटमा नियाले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । ७७औँ मिनेटमा आफिजले टोलीको अग्रता २–० को बनाए । ८३औँ मिनेटमा आफिजले व्यक्तिगत दोस्रो गोल गर्दा मच्छिन्द्र ३–० ले विजयी भयो । आफिजले लिगमा १२ गोल पूरा गरेका छन् । उनले १४ खेल खेलेका छन् ।
हिमालयन र संकटाको बराबरी
ए डिभिजन लिगअन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब र संकटाले १–१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा हिमालयनले सुरुवाती अग्रता रक्षा गर्न नसक्दा संकटासँग अंक बाँडेको हो । खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । हिमालयन २२ अंकका साथ नवौँ स्थानमा छ । संकटा २१ अंकसाथ ११औँ स्थानमा छ । खेलको ५०औँ मिनेटमा हिमालयनले अग्रता लियो । अबायोमी फाकुन्लेलको हेडिङ पासमा म्यानुएल नानाले अग्रता गोल गरे ।
खेलको ७२औँ मिनेटमा संकटाले पेनाल्टीबाट १–१ को गोल फर्कायो । पेनाल्टी क्षेत्रमा सुशील राईले आयुष घलानलाई लडाएपछि संकटाले पेनाल्टी पाएको हो । आयुष घलानले गोल गर्दै संकटालाई बराबरीमा ल्याए । खेलको ७७औँ मिनेटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारमा लागेर बाहिरिँदा हिमालयनले अग्रता लिन सकेन ।